+
+

३५ हजार मानिसबाट नेपाली झण्डा बनाईने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ६ गते ८:२९

flag-nepal

६ भदौ, काठमाडौं । नेपाली जो जहाँ जसरी भए पनि चन्द्र सूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले ३५ हजार नेपालीलाई सहभागी गराएर नेपाली झण्डा बनाई विश्व रेकर्ड कायम गराइने भएको छ ।

शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले ३५ हजार नौं सय सात मानिस उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाउन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड रहेको छ । यो विश्व रेकर्डलाई भदौ ७ गते शनिबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिने कार्यक्रमबाट तोडिने उद्देश्य राखिएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।

नेपालको झण्डा जस्तो र जुन जुन रङ्गको छ त्यही रङ्गमा १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गर्न लागिएको कार्यक्रममा प्राविधिक पक्षको काम हेरिरहेका काठमाडौँ इन्जिनियरिङ क्याम्पस बिई तेस्रो वर्षका विद्यार्थी दुर्गेश प्रधानले बताए ।

यसका लागि एकजना मानिसले बोक्ने कागजको आकार १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको हुने पनि सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रमका लागि ३० हजार सहभागीले नाम दर्ता गराइसकेको सञ्चार संयोजक प्रकाश कोइरालाले बताए ।

प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडाँै इन्जिनियरिङ क्याम्पसका बिई तेस्रो वर्षमा अध्ययनरत १२ जना विद्यार्थीलाई दिइएको छ ।

सहभागीका लागि सामाजिक सञ्जाल र फेसबुकबाट आवेदन माग गरिएको छ । विश्व रेकर्डका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ ।

दृश्य सामग्रीको अध्ययन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डले आठ हप्ताभित्र निर्णय दिने सञ्चार संयोजक कोइरालाले जानकारी दिए ।
कार्यक्रमका लागि प्रत्येक सहभागीबाट १०० उठाइएको र आवश्यक रकम खर्च गरेर बाँकी रहेको रकम बाढीपीडितका लागि सहयोग स्वरूप प्रदान गरिने सो अवसरमा बताइएको थियो ।

यो कार्यक्रम सम्पन्न भएपछि विश्वमै सबैभन्दा धेरै मानिसले बनाएको झण्डा चन्द्र र सूर्य अङ्कित नेपाली झण्डा हुने विश्वास पनि आयोजक संस्थाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?