९ भदौ, काठमाडौं । आन्तरिक उत्पादन घटेपछि तीजको मुखमा आलु र टमाटरको भाउ बढेको छ । साथै ‘अफ सिजन’ र चाडको बेला परेकाले अन्य तरकारीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।
गत भदौमा होलसेल मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको आलु यो भदौमा बढेर ४६ रुपैयाँसम्म पुगेको छ । त्यस्तै टमाटरको भाउ ४३ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले टमाटर र आलु उत्पादनका लागि अफ सिजन मानिन्छ ।
‘अहिले आन्तरिक माग पूर्ति गर्नका लागि आलु भारतबाट आयात गर्नुपर्छ’ कालीमाटी बजारमा योजना शाखा प्रमुख विनय श्रेष्ठले भने- ‘भारतमा पनि आलुको भाउ उच्च रहेका कारण नेपालको बजारमा महंगो पर्न गएको हो ।’
विशेषतः साउन र भदौ महिनालाई तरकारीका लागि अफ सिजन मानिन्छ । वर्षाका कारण यो समयमा तरकारीको उत्पादन पनि घट्ने र उत्पादित तरकारी पनि चाँडै बिग्रने हुँदा बजारमा भाउ उच्च हुने गर्छ । असोज कार्तिकपछि आलु, टमाटर लगायतका तरकारीको उत्पादन विस्तारै बढ्ने हुँदा भाउ स्वतः घट्ने श्रेष्ठको अनुभव छ ।
तीजको प्रभाव सामान्य
त्यसो त महिलाहरुको महान चाड तिहारका कारण पनि राजधानीमा तरकारीको भाउ सामान्य बढेको छ । तीजमा महिना दिन अगाडिदेखि नै दर खाने प्रचलनका कारण तरकारी, माछामासु र फलफूलको माग उच्च हुने गर्छ ।
साउनको दोस्रो हप्ता प्रतिकिलो १४ रुपैयाँ रहेको मूलाको भाउ २० रुपैयाँ पुगेको छ । उपभोत्ताको घरमा पुग्दा टमाटरको भाउ ६५ रुपैयाँ र मूलाको ३० रुपैयाँसम्म पुग्छ ।
साउन महिनाको तुलनामा भदौमा काँक्रो, भान्टा, काउली, भिन्डीको होलसेल भाउ बढेको छ भने हरियो खुर्सानी, क्याप्सीकम, करेला, लौका, बन्दा, अदुवा प्याजलगायतका तरकारीको होलसेल भाउ घटेको छ ।
एक वर्षमा कति बढ्यो तरकारीको भाउ ?
गत भदौको तुलनामा कतिपय तरकारीको भाउ बढेको छ भने अधिकांश तरकारीको भाउ घटेको छ । यस अवधिमा काँक्रो, टमाटर, बडी, आलुको भाउ बढेको छ ।
मूला, हरियो खुर्सानी, क्याप्सीकम, भान्टा, लौका, काउली, बन्दा अदुवा, लसुन, भिन्डी, घिरौंलाको भाउ घटेको छ ।
एक महिनामा फलफूलको भाउ घट्यो
तीजले माछामासु र तरकारीमा सामान्य प्रभाव पारे पनि फलफूलमा भने कुनै प्रभाव पार्न सकेको छैन । कालीमाटी तरकारी बजारका अनुसार गत साउन र अहिलेको फलफूलको होलसेल भाउ घटेको छ ।
साउनमा प्रतिकिलो ८५ रुपैयाँ दर्जन रहेको केरा अहिले ६५ रुपैयाँ, २६० किलो रहेको स्याउ ११० रुपैयाँ, ७३ रुपैयाँ रहेको मेवा ५८ रुपैयाँ, २५५ रुपैयाँ रहेको अनार १७५ रुपैयाँ, १२५ रुपैयाँ रहेको मौसम ९० रुपैयाँमा झरेको छ । आँप र भुईंकटहरको भाउ भने बढेको देखिन्छ । साउनमा ७७ रुपैयाँ प्रतिकिलो रहेको आँप अहिले ९० रुपैयाँ र ८५ रुपैयाँ रहेको भुईंकटहर ९० रुपैयाँमा पुगेको छ ।
एक वर्षको भाउ अन्तर
गत वर्षको तुलनामा भने फलफुलको भाउ घटबढ भएको छ । गत भदौमा ५७ रुपैयाँ दर्जन पर्ने केरा अहिले ६५ सम्म पर्न थालेको छ । त्यस्तै ९१ रुपैयाँ केजी पर्ने स्याउ ११० रुपैयाँ र ८५ रुपैयाँमा आउने मौसम ९० रुपैयाँ र ७२ रुपैयाँ पर्ने भुईंकटहर ९० रुपैयाँ पुगेको छ । तर, आँप १४५ रुपैयाँबाट ९० रुपैयाँमा झरेको छ भने मेवा ६२ रुपैयाँबाट ५८ रुपैयाँ र अनार २०३ रुपैयाँबाट १७५ रुपैयाँमा झरेको छ ।
होलसेल र बजार भाउको अन्तर ठूलो
कालिमाटी तरकारी बजारले तोकेको होलसेल भाउ र बजार भाउमा ठूलो अन्तर देखिएको छ । प्रतिकिलो ५० रुपैयाँ होलसेल मूल्य रहेको काँक्रो उपभोक्ताले बजारमा खरिद ६५ रुपैयाँ पर्छ । त्यस्तै ५५ रुपैयाँको टमाटरलाई ७० रुपैयाँ, २० रुपैयाँको मुलालाई ३० रुपैयाँ, ४५ रुपैयाँको हरियो खुर्सानीलाई ८० रुपैयाँ, ५० रुपैयाँको क्याप्सीकमलाई ८५ रुपैयाँ तिर्नुपर्छ ।
त्यसैगरी, होलसेल बजारमा ३० रुपैयाँ तोकिएको करेला खुद्रा बजारमा ५० रुपैयाँ, ४५ पर्ने सिमी ६० रुपैयाँ, २४ रुपैयाँ पर्ने लौका ४० रुपैयाँ, १२६ पर्ने अदुवा १६० रुपैयाँ, ४० रुपैयाँ पर्ने भिन्डी ६० रुपैयाँमा खरिद गर्नुपर्ने हुन्छ ।
२०७० भदौ र २०७१ भदौको मूल्य सूची
तरकारी | होलसेल मूल्य ०७१ | होलसेल मूल्य ०७० |
---|---|---|
काँक्रो | ५० | ३४ |
टमाटर | ५५ | ४३ |
मुला | २० | ३१ |
हरियो खुर्सानी | ४५ | ७६ |
क्याप्सिकन | ५० | ७२ |
भान्टा | २० | २८ |
करेला | ३० | ३० |
बोडी | ५० | ५९ |
लौका | २५ | ३३ |
काउली | ५० | ५० |
बन्दा | १८ | ३५/६० |
अदुवा | १२६ | १४६ |
लसुन | ६० | ६४ |
भिन्डी | ४० | ४७ |
घिरौला | २५ | ३२ |
आलु | ४५ | ३० |
प्याज | ४२ | ८२ |
फलफूल | होलसेल मूल्य | होलसेल मूल्य |
आँप | ९० | १४५ |
केरा | ६५ | ५७ |
स्याउ | ११० | ९१ |
मेवा | ५८ | ६२ |
अनार | १७५ | २०३ |
मौसम | ९० | ८५ |
भूइँकटहर | ९० | ७२ |
तरकारी तथा फलफूलको आइतबार होलसेल र खुद्रा भाउ
तरकारी | होलसेल मूल्य | खुद्रा मूल्य |
---|---|---|
काँक्रो | ५० | ६५ |
टमाटर | ५५ | ६५ |
मुला | २० | ३० |
हरियो खुर्सानी | ४५ | १०० |
क्याप्सिकन | ५० | ८५ |
भान्टा | २० | २५ |
करेला | ३० | ५० |
सिमी | ४५ | ६० |
पर्वल | ६५ | ६५ |
बोडी | ५० | ५५ |
लौका | २५ | ४० |
काउली | ५० | ६० |
बन्दा | १८ | २५ |
अदुवा | १२६ | १६० |
लसुन | ६० | १२५ |
भिन्डी | ४० | ६० |
घिरौला | २५ | ३० |
फलफूल | होलसेल मूल्य | खुद्रा मूल्य |
नास्पाती | ४५ | ४५ |
आँप | ९० | १४० |
केरा | ६५ | ८० |
स्याउ | ११० | १२०/१९० |
मेवा | ५८ | ७० |
अनार | १७५ | २०० |
मौसम | ९० | १०० |
भूइँकटहर | ९० | ११० |
प्रतिक्रिया 4