१० असोज, काठमाडौं । विवाह मण्डपमा जग्य थिएन । दुलहीको कन्यादान पनि भएन । विहे हिन्दू परम्परामै गरियो, तर कम्युनिष्ट शैली मिसिएपछि बन्यो-जनवादी विहे ।
नेकपा एमालेलकी कान्छी केन्द्रीय सदस्य रचना खड्का र एमालेकै कार्यकर्ता लेखनाथ पौडेलको विहे समारोहको झलक यस्तै थियो । एमालेको नवौं महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित ३० वर्षीया रचना खड्का पार्टीको १ सय ६१ सदस्यीय केन्द्रीय कमिटीकी कान्छी सदस्य हुन् ।
दोलखाकी रचनाले एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष रामनाथ ढकालका भान्जा लेखनाथ पौडेलसँगको प्रेमलाई शुक्रवार विवाहमा परिणत गरिन् ।
विहे जनवादी कि धनवादी ? अनलाइनखबरको प्रश्नमा रचना मुस्कुराइन् मात्र । दुलाहा लेखनाले भने-‘अलि बढि जनवादी ।’ यो विहेमा उपहार अघोषित रुपमा बर्जित थियो ।
आगन्तुकहरुले खादा ओढाएर शुभकामना दिइरहेका थिए भने कतिपयले रातो टिका लगाईदिएर बेहुलीलाई दक्षिणा पनि दिए ।
हिन्दू परम्परा अनुसार छोरीको कन्यादान गर्न नपाए पनि रचनाका बुबा आमा खुसी थिए । ‘सिन्दूर पोते भइगो, कन्यादान किन गर्नुपर्यो ?’ उनीहरु भन्दै थिए ।
एमालेमा धनवादी संस्कृतिले जरा गाडिरहेको बेला कान्छी केन्द्रीय सदस्यले सामान्य जनवादी शैलीमा विहे गरेर पार्टीका नेताहरुलाई सन्देश दिएको केन्द्रीय सदस्य माधव ढुंगेलले टिप्पणी गरे ।
ढुंगेलले भने-‘हाम्रा नेताहरुले छोरा छोरीको विहे लाखौं खर्चेर ठूला होटल र पार्टी प्यालेसमा गर्न थालेका छन्, उनीहरुलाई सबक हो ।’ दुलाहा दुलहीलाई शुभकामना दिन एमाले अध्यक्ष केपी ओली बाहेक अन्य सबै नेताहरु बानेश्वरको अर्याल होटलमा पुगेका थिए ।
अध्यक्ष ओलीले आफू आउन नसक्ने जानकारी सहित सहयोगीलाई पठाएको दुलाहाका मामा एमाले नेता रामनाथ ढकालले बताए । विहेलाई मितव्ययी र जनवादी शैलीको बनाउन कुनै कसर बाँकी राखिएको थिएन । बिहे भोज खान गएकाहरुलाई लड्डु, पकौडा, आलु चिप्स र स्याण्डवीच बाँडिएको थियो ।
महाधिवेशनको बेला अर्याल होटल माधव नेपालको सम्पर्क कार्यालय थियो । संयोगनै मान्नुपर्छ दुलही रचना नेपाल प्यानलबाटै केन्द्रीय सदस्य जितिन् भने दुलाहा पौडेल नेपालको सचिवालयमा थिए ।
मितव्ययी स्वभावका नेता नेपालले कान्छी केन्द्रीय सदस्यको विहेमा करीव दुई घण्टा समय दिए । उनले भने-‘खर्चिलो र भड्किलो सामाजिक संस्कार परिवर्तन गर्न यो विहे एउटा उदाहरण हो ।’
को-को छन् अविवाहित ?
एमालेकी कान्छी केन्द्रीय सदस्यले विहे गरे पनि उनीभन्दा जेठा अन्य केही केन्द्रीय सदस्यहरु अझै अविवाहित छन् ।
रचनालाई शुभकामना दिन पुगेका उनीहरुलाई निम्तालु एमाले नेता कार्यकर्ताहरुले विहे गर्न सुझाव दिइरहेका थिए । एमाले केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे, ममता गिरी, गरिमा शाह, शेरधन राई अझै अविवाहितनै छन् ।
प्रतिक्रिया 4