१४ कात्तिक, नुवाकोट । एकीकृत नेकपा माओवादी नुवाकोटले समानान्तर समिति गठन गरेको भन्दै जिल्लाका पाँच नेतालाई साधारण सदस्य समेत नरहने गरी निलम्वन गरेको छ ।
समानान्तर समिति गठन गरेको आरोपमा जिल्ला कमिटी सदस्यहरु गणेशप्रसाद अधिकारी, राजकुमार रेग्मी, नवराज ढुङ्गाना, गोकर्णनाथ न्यौपाने र रजमान तामाङलाई अनिश्चित समयसम्मको लागि निलम्वन गरिएको हो ।
पोलिटव्युरो सदस्य नारायणप्रसाद दाहाल र हितबहादुर तामाङको उपस्थितिमा बसेको जिल्ला कमिटीको पदाधिकारी बैठकले ‘बैचारिक बहस सञ्चालन समिति’ गठन गर्न अगुवाई गरेको भन्दै उनीहरुलाई निलम्बन गरेको एमाओवादी नुवाकोट अध्यक्ष हिरनाथ खतिवडाले जानकारी दिए ।
समानान्तर समिति गठन गरेकोबारे पटक-पटक स्पष्टिकरण सोधेपनि त्यसको जवाफ नदिएकोले निलम्बन गरिएको खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निलम्वनमा परेका नेताहरु सच्चिएर आए कारवाही फुकुवा हुनसक्ने एमाओवादी नुवाकोटले स्पष्ट पारेको छ ।
निलम्बनमा परेकाहरुले भने पार्टी पुनःनिर्माणको लागि बैचारिक बहस सञ्चालन गर्न बनाइएको समितिलाई जबरजस्ती समानान्तर समितिको संज्ञा दिइएको बताएका छन् ।
फरक मतलाई बेवास्ता गर्दै पार्टी पुनःनिर्माण गर्न बहस गर्न नचाहने नेताहरुबाट निलम्बनको निर्णय हुनु हास्यास्पद भएको निलम्बनमा परेका गोकर्णनाथ न्यौपानेले प्रतिक्रिया दिए ।
प्रतिक्रिया 4