२१ मंसिर काठमाडौं । सरकारले लगानीका लागि प्राथमिकतामा राखेको उर्जा क्षेत्रमा विदेशी लगानी शून्य देखिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा उर्जामा ६ अर्ब ७७ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएकोमा यस वर्षको सोही अवधिमा शून्य देखिएको हो ।
सरकारले मुलुकमा लगानीमैत्री वातावरण तयार भएको दाबी गरिरहेका बेलामा प्राथमिकतामा राखिएको क्षेत्रमै लगानीकर्ताको विकर्षण देखिएको छ । उर्जामात्र होइन कृषिमा पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा विदेशी लगानी प्रतिवद्धता घटेको छ ।
अघिल्लो वर्षको कर्तिक मसान्तसम्म उद्योग विभागमा ५८ करोड ४० लाख रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएकोमा यस वर्ष घटेर ४७ करोड ४० लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।
विगतका वर्षहरुमा विदेशी लगानीकर्ताहरुको आकर्षण बन्दै आएको सेवा क्षेत्रमा पनि यस वर्ष लगानीकर्ताको आकर्षण घटेको उद्योग विभागको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष सेवा क्षेत्रमा २ अर्ब २७ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएकोमा यस वर्ष जम्मा १ अर्ब ९६ करोड रुपैयाँको प्रतिवद्धता आएको छ ।
सरकारले उर्जा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर लगानीकर्ता आकषिर्त गर्ने प्रयास गरिरहेको छ । तर, सरकारको प्रयास विपरित पर्यटन बाहेकका दुई क्षेत्रमा लगानीकर्ताको विकर्षण देखिएको छ । यसले अझै पनि मुलुकमा लगानीको वातावरण तयार नभएको सन्देश दिने बताउँछन सरोकारवालाहरु ।
कुल लगानी ६० प्रतिशत घट्यो
यस अवधिमा उद्योग विभागमा आएको कुल विदेशी लगानी प्रतिवद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले ओरालो लागेको छ ।
विभागमा ४ महिनाको अवधिमा ४ अर्ब २ करोड रुपैयाँको कुल विदेशी लगानी प्रस्ताव आएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ अर्ब ९६ करोड रुपैयाँको प्रस्ताव आएको थियो । यो अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले कम हो ।
विभागका अनुसार यस अवधिमा १ सय २६ परियोजनामार्फत ४ अर्ब २ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । यद्यपि २० अर्बभन्दा ठूला परियोजना र ५ सय मेगावाटभन्दा बढी क्षमताका परियोजना भने सिधै लगानी बोर्डमार्फत भित्रिन्छन् ।
विभागको तथ्यांकअनुसार साउनदेखि कार्तिकसम्म ३९ वटा सेवामूलक उद्योग थपिएका छन् भने १८ वटा उत्पादनमूलक, २३ वटा कृषि तथा वनमा आधारित, ४० वटा पर्यटन, ५ वटा खानीजन्य र एउटा निर्माण जन्य उद्योगमा विदेशी लगानी प्रस्ताव आएको छ ।
नेपालमा राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण, शान्ति-सुरक्षाको अभाव, श्रम समस्या, विद्युत आपूर्तिमा समस्या लगायतले विदेशी लगानीकर्ता लगानीका लागि हिचकिचाइरहेको बताइन्छ ।
नेपालमा लगानी गर्नेमा भारत, चीन, कोरिया, फ्रान्स, बंगलादेश, जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, अस्ट्रेलिया, प|mान्स, इटाली, जापान, बंगलादेश, सिंगापुर, थाइल्यान्डजस्ता मुलुक लगानी गर्नेमा अग्रस्थानमा छन् । यी मुलुकले विशेषगरी उत्पादन, सेवा, ऊर्जा, कृषि तथा खनिज क्षेत्रमा बढी लगानी गरेको भण्डारीले बताए ।
लगानीका क्षेत्र | परियोजना (गत वर्ष) | परियोजना (चालु वर्ष) | लगानी (गत वर्ष) | लगानी (चालु बर्ष) |
कृषि | २५ | २३ | ५८ करोड ४० लाख | ४७ करोड ४० लाख |
उर्जा | ५ | ६ अर्ब ७७ करोड | ||
निर्माण | ० | १ | १० करोड | |
उत्पादन | ११ | १८ | ५९ करोड ४० लाख | ६५ करोड ५२ लाख |
खनिज | ५ | ५ | ८ करोड १ लाख | १४ करोड |
सेवा | ३२ | ३९ | २ अर्ब २७ करोड | १ अर्ब ९६ करोड |
पर्यटन | २२ | ४० | ३५ करोड ४० लाख | ६८ करोड ८० लाख |
जम्मा | १०० | १२६ | ९ अर्ब ९६ करोड ३९ लाख | ४ अर्ब २ |
प्रतिक्रिया 4