- फाइल फोटो
२४ माघ, काठमाडौं । सत्तारुढ नेकपा एमालेले माघ ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको वार्ताबाटै दलहरुबीच पुनः सम्वाद सुरु गर्ने प्रस्ताव अघि सारेको छ ।
शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले वार्तामा आउन एमाओवादी र मधेसवादी दलहरुको मोर्चालाई आहृवान समेत गरेको छ ।
पार्टी कार्यालय बल्खुमा बसेको स्थायी कमिटीको बैठकले माघ ५ गते एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलबाटै फेरि सम्वाद सुरु गर्न सकिने निष्कर्ष समेत निकालेको छ । ‘अहिले पनि सहमतिको सम्भावना छ’ एमाले सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भने-‘माघ ५ गते जुन विन्दुमा पुगेको थियो, त्यहीँबाट छलफल सुरु गरौं ।’
ज्ञवालीका अनुसार ओली र प्रचण्डबीच भएको छलफलमा न्याय प्रणाली र मिश्रति निर्वाचन प्रणाली सहमति भएको थियो । यद्यपि त्यसमा मिल्न बाँकी प्रत्यक्ष र समानुपातिकको प्रतिशत दलहरुबीच छलफल गरेर टुङ्ग्याउन सकिन्छ ।
शासकीय स्वरुपमा एमाओवादीले आफ्नो फरक मत राखेर जाने सकिने बताएको थियो । तर, उसले पहिले संघीयतामा सहमति हुनुपर्ने बताएको छ ।
एमाले सचिव ज्ञवालीले भने-‘तीन विषयलाई अन्तिम रुप दिएर मस्यौदा समितिमा पठाऔं, त्यसले मस्यौदा बनाउने समयसम्म संघीयतामा पनि सहमति खोज्न सकिन्छ ।’ उनका अनुसार नामाकरण प्रदेशसभालाई दिने गरी संघीयतामा ‘मोटो सहमति’ गर्ने र प्राविधिक विषय आयोगमार्फत टुङ्ग्याउन सकिनेछ ।
एमालेले प्रदेशको संख्या ६ देखि ९ बनाउने सहमति गरेर केही समय छलफल गरेर सहमति गर्ने फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको प्रस्ताव पनि सहमतिको प्रस्थान विन्दु हुन सक्ने बताएको छ ।
एमालेले एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्तामा आउन आग्रहसमेत गरेको छ । ‘कांग्रेस र एमालेको शुक्रबारको बैठकले पनि वार्तामा आउन आग्रह गरेको छ’ सचिव ज्ञवालीले भने-‘लिखित र भाषाका विषय हो भने पनि कांग्रेससँग छलफल गरेर गर्न सकिन्छ ।’
प्रतिक्रिया 4