२५ माघ,काठमाडौं । नाइजेरियामा आगामी साता हुन लागेको राष्ट्रपतिको निर्वाचन असुरक्षाको कारण ६ हप्तापछि सारिएको छ । सरकारी सेनाले सुरक्षा दिन नसक्ने भनेपछि फेब्रुअरी १४ मा हुने भनिएको चुनाव मार्च २८ सम्मलाई सारिएको हो ।
सेनाले बोको हराम विद्रोहीका कारण चुनावको सुरक्षा गर्न नसक्ने बताएपछि चुनाव सार्न बाध्य भएको नाइजेरियाका निर्वाचन आयोगका प्रमुख अट्टाहेरु जेगाले बताएका छन् ।
सो समयमा पूर्वउत्तर क्षेत्रमा बोको हराम विरुद्धको कारवाहीमा व्यस्त हुनुपर्ने भएकाले चुनावमा सुरक्षा दिन नसक्ने जवाफ सेनाले दिएको बीबीसीले जनाएको छ ।
चुनाव सार्ने निर्णय विवादित
नाइजेरियाको राष्ट्रपति चुनावमा हालका राष्ट्रपति गुडलक जोनाथन र पूर्व सैनिक शासक मोहम्मदु बुहारी प्रतिस्पर्धामा छन् । चुनाव सार्ने निर्णयको विपक्षी दलले विरोध गरेको छ । राष्ट्रपति जोनाथनको पार्टीले हार्ने डरले चुनाव सारेको विपक्षी दलको आरोप छ ।
चुनाव सारिएको विरोधमा विपक्षी दलका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4