माइक्रोब्लगिङ साइट टि्वटरका मासिक सक्रिय प्रयोगकर्ताको संख्या झण्डै २९ करोड पुगेको छन् । अघिल्लो वर्षको तुलनामा प्रयोगकर्ताको संख्यामा २० प्रतिशतले वृद्धि गर्दै टि्वटरले आफ्ना प्रयोगकर्ताको संख्या २८ करोड ८० लाख पुर्याएको हो ।
सन् २०१४ को अन्तिम तीन महिनाको तथ्यांक सार्वजनिक गर्दै टि्वटरले यो अवधिमा कुल राजश्व संकलन अपेक्षा भन्दा उच्च रहेको जनाएको छ । तीन महिनाको अवधिमा टि्वटरले ४७ करोड ९० लाख रेभेन्यू कलेक्सन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशतले बढि हो । वर्षको अन्तिम त्रैमासिकमा आम्दानी बढेसँगै टि्वटरको खुद घाटा साढे १२ करोड कायम भएको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार पछिल्लो तीन महिनामा टि्वटरले ४० लाख प्रयोगकर्ता थप्न सफल भयो । प्रयोगकर्ताका संख्यामा अन्तिम तिन महिना उल्लेखनीय वृद्धि गर्न नसक्नुको कारणबारे प्रष्टाउँदै टि्वटरले विभिन्न तेश्रो पक्ष एप्लिकेसनहरुसँग इन्टिग्रेसन गर्नुपर्दा टि्वटरले झण्डै ४० लाख विद्यमान प्रयोगकर्ता गुमाउनुपरेको जनाएको छ ।
टि्वटरका प्रमुख कार्यकारी डिक कोस्टोलोले टि्वटरमा नयाँ थपिने प्रयोगकर्ताको संख्या वर्षका सुरुवाती तीन त्रैमासिकमा जस्तै अन्तिम त्रैमासिकमा पनि कायम रहेको बताएका छन् ।
यसअघि टि्वटरमा कार्यरत कर्मचारीका लागि जारी गरेको एक गोप्य वक्तव्यमा उनले टि्वटरमा हुने आपत्तिजनक व्यवहारका लागि धेरै प्रयोगकर्ताले टि्वटर प्रयोग गर्न छाडेको बताएका थिए ।
टि्वटरका मुख्य कार्यकारी कोस्टोलोले टि्वटर र गुगलका बीचमा महत्वपूर्ण सम्झौता सम्पन्न भएको समेत खुलासा गरेका छन् । तथापि उक्त सम्झौता के हो ? भन्ने विषयमा भने उनले खुलाएनन् । यद्यपि ब्लुम्बर्ग र न्युयोर्क टाइम्सका अनुसार टि्वटर र गुगलबीच गुगल सर्चमा टि्वटर म्यासेजहरुलाई बढि दर्शनीय बनाउने विषयमा सहमति भएको हो ।
प्रतिक्रिया 4