+
+

नेपालीको रोजाइमा ५० लाखसम्मका स्पोर्टी कार

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २७ गते १२:४४

२७ साउन, काठमाडौं । गाडीका पारखीहरुको पहिलो रहर हुन्छ स्पोर्टी कारमा हुँइकिने । पछिल्लो समय विश्वभर स्पोर्टी कारमा हुँइकिने समुदाय बढ्दै गइरहेको छ ।

उपभोक्ताको आकर्षण स्पोर्टी कारमा देखिन थालेपछि गाडी निर्माता कम्पनीको ध्यान पनि यसतर्फ मोडिएको पाइन्छ । कम्पनीले मध्यम तथा उच्च वर्गका मानिसहरुलाई मध्यनजर गर्दै स्पोर्टी लुक्सका कारहरु उत्पादनमा जोड दिइरहेका छन् ।

toyota-etios-cross-final

नेपालमा पनि स्पोर्टी कार चढ्नेहरुको संख्या उच्च रहेको छ । अधिकांश कम्पनीहरुले स्पोर्टी कार नेपाली बजारमा भित्राइसकेका छन् । नेपालमा ३२ लाख रुपैयाँदेखि ३ करोड बढीसम्मका स्पोर्टी कारहरु उपलब्ध छन् । जसमध्ये ५० लाख मुनीका स्पोर्टी कारमा नेपालीको आकर्षण देखिएको छ ।

आकर्षक डिजाइन, पावरफुल, उच्च ग्राउन्ड क्लियरेन्स, रुफ रेल लगायतका विशेषताका कारण स्पोर्टी कारमा मानिसकको आकर्षण देखिएको हो । यसको उदाहरणका रुपमा फोर्डको इकोस्पोर्टलाई लिन सकिन्छ ।

मिनी एसयुभी सेगमेन्टको इकोस्पोर्ट कार अहिले पनि खरिद गर्ने वित्तिकै तुरुन्त हात पार्न सकिदैन । नेपाल भित्रिएको २ वर्ष पुगिसक्दा समेत यो कार किन्न महिना दिनसम्म कुर्नुपर्ने बाध्यत्मक अवस्था छ । कम मूल्यको यो मोडलले फोर्डका अन्य सेगमेन्टको बजार समेत तल झारिदिएको छ ।

नेपाली बजारमा उपलब्ध ५० लाखमुनिका स्पोर्टी कारको संख्या आधा दर्जनको हाराहारीमा रहेको छ । यही सेगमेन्टका कारको बारेमा जान्नुहोस् ।

फियट एभेञ्चुरा

स्पोर्टी लुक्सको फियट एभेञ्चुरा गत साता नेपाली बजारमा भित्रिएको हो । फियटको नेपाली बिक्रेता लाइफ अटो मोबाइलले भव्य कार्यक्रम गरी यो कार सार्वजनिक गर्‍यो ।

एभेञ्चुरा एक्टिभ, डाइनामिक र इमोसनसहित तीन मोडलमा रहेको छ । जसमध्ये एक्टिभ पेट्रोल इञ्जिनमा, डाइनामिक पेट्रोल र डिजेल दुबै इञ्जिनमा र इमोसन डिजेल इञ्जिनमा उपलब्ध छ ।

Fiat-Avventura

नेपाली बजारमा फियट एभेञ्चुराको मूल्य २९ लाख ९५ हजार, डाइनामिक पेट्रोलको ३२ लाख ९५ हजार, डाइनामिक डिजेलको मूल्य ३८ लाख ९५ हजार र इमोसनको मूल्य ४० लाख ९५ हजार रुपैयाँ रहेको छ ।

कारको बाहिरी तथा भित्री बनावट निकै आकर्षक छ । फराकिलो टायर, पछाडिको ढोकामा टायर, रुफ रेल, दिशा नाप्ने यन्त्र लगायतका सुविधाहरु यसमा छन् ।

यसको ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ । जसले गर्दा कच्चि सडकमा समेत सजिलै गाडी चलाउन सकिन्छ । २५० मिलिमिटरको टायर यसमा प्रयोग गरिएको छ ।

यसमा सुरक्षालाई विशेष ध्यानमा राखेर डुअल स्टेज एयरब्याग, अटो ब्रेकिङ सिष्टम, ब्लुटुथ केक्टिभिटी, डोर ओपन इन्डिकेटर लगायतका सुविधाहरु पनि रहेका छन् ।

टोयोटा इटिओस क्रस

जापानीज प्रख्यात कार उत्पादक कम्पनी टोयोटाको इटिओस क्रस नेपाली बजारमा चर्चामा रहेको छ । डिजेल र पेट्रोल इञ्जिनमा उपलब्ध यो कार गत भर्दौमा सार्वजनिक गरिएको हो । छोटो अवधिमै यस कारले नेपालीको विश्वास जित्न सफल भएको छ ।

इटिओस क्रस पेट्रोल इञ्जिनको मूल्य ४१ लख ४५ हजार रुपैयाँ रहेको छ भने डिजेल इञ्जिनको ४४ लाख ४५ हजार रुपैयाँ रहेको छ । स्पोर्टी लुक्सको यो कारले रोमाञ्चक डिजाइन प्रतिबिम्बित गर्दै टोयोटाको गुणस्तरीयता, भरपर्दोपना र विश्वसनीयता समेत झल्काउँछ ।

१४९६ सीसीको पेट्रोल इञ्जिन इटिओस क्रसले प्रतिलिटर १६.७८ किलोमिटर माइलेज दिने बताइएको छ । १३६४ सीसीको डिजेल इञ्जिन कारले राजमार्गमा २३.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा रेल डिजेल इन्जेक्सन सिष्टम रहेको छ ।

Toyota-Etos-Cross

कारको अगाडिको भागमा McPherson Strut Suspension र पछाडिको भागमा Torsion Beam Suspension रहेको छ । जसले आरामदायी र सुविधायूक्त यात्राको अनुभुती गराउने कम्पनीले जनाएको छ ।

कारमा १८५/६० आर१५ ट्यूवलेस टायर प्रयोग गरिएको छ । यसमा ठूलो क्याबिन रहेको हुँदा ५ जना यात्रुहरुले लामो रुटमा पनि आरामदायी यात्रा गर्न सक्छन् । कारमा ४५ लिटरको इन्धन अटाउने ट्यांकी रहेको छ भने २५१ लिटरको सामान राख्ने स्थान रहेको छ ।

कारमा आन्तरिक सजावटमा निकै ध्यान दिइएको छ । कारमा मल्टिफंसन इलेक्ट्रोनिक पावर स्टेरिङ, थि्र स्पोक स्टेरिङ हृवील, पावर विन्डोज, रिमोट फ्यूल लीड, टेलगेट ओपनर, किलेस इन्ट्री लगायतका सुविधाहरु जडान गरिएको छ ।

सुरक्षाका लागि इन्जिन इमोबिलाइजर, एयरब्याग्स, इम्प्याक्ट एब्जोर्बिङ बडि, रियर डिफोगर, सेन्ट्रल लकिङ सिष्टम, एडभान्स एन्टि लक ब्रेकिङ सिष्टम एकोम्प्यानिड विथ इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्टि्रब्यूशन रहेका छन्।

कारको अगाडिको भागमा क्याकर्फसन स्ट्रट सस्पेन्सन एण्ड टर्सन बीम सस्पेन्सन एट रियर प्रोमिसिङ सिष्टम रहेको हुँदा आरामदायी यात्राको अनुभव दिने छ ।

हुन्डाई क्रेटा

कोरियन गाडी निर्माता कम्पनी हुन्डाईले नयाँ मोडलको कम्प्याक्ट एसयुभी कार आइएक्स-२५ ‘क्रेटा’ भारतीय बजारमा सार्वजनिक गरिसकेको छ । केही समयभित्र यो कार नेपाली बजारमा भित्रिने लक्ष्मी हुन्डाईले जनाएको छ ।

फ्लुडिक डिजाइनमा हुन्डाई क्रेटा नयाँ पुस्ताको कार हो । यसको डिजाइन फोर्डको इकोस्पोर्टको जस्तै छ । हुन्डाईको यो पहिलो कम्प्याक्टर एसयुभी कार हुने छ । कम्पनीले यसमा पावरफुल इञ्जिन प्रयोग गरेको छ ।

Hyundai-Car

हुन्डाईले क्रेटा डिजेल र पेट्रोल इञ्जिनमा एकसाथ बजारमा ल्याउने जनाएको छ । क्रेटामा १४०० सीसीको पेट्रोल इञ्जिन र १६०० सीसीको डिजेल इञ्जिन जडान गरिने छ ।

हुन्डाई क्रेटामा वेरना सिडानमा जस्तै इञ्जिन प्रयोग गरिएको छ । यसको अलवा क्रेटामा अटोमेटिक ट्रान्समिसन पनि रहनेछ । यो गाडीको मूल्य नेपाली बजारमा ३८/४० लाख रुपैयाँदेखि सुरु हुने अनुमान गरिएको छ ।

कारको लम्बाइ ४२७० मिलीमिटर, चौडाइ १७८० मिलीमिटर, उचाई १६३० मिलीमिटर, हृवीलबेस २५९० मिलीमिटर रहेको छ ।

हुन्डाई एक्टिभ आइ २०

हुन्डाइले साउन पहिलो साता स्पोर्टी लुक्सको एक्टिभा आइ २० नेपाली बजारमा भित्राएको छ । कारका पारखी तथा स्टाइलमा विश्वास गर्ने उपभोक्तालाई यो गाडीले अभुतपूर्व सन्तुष्टी प्रदान गर्ने कम्पनीको दाबी छ ।

आइ २० एक्टिभ स्पोर्टी लुक्सको पि्रमियम हृयाचब्याक कार हो । आकर्षक डिजाइनमा रहेको यो कार पेट्रोल (१.२ लि.) र डिजेल (१.४ लि.) इञ्जिनमा उपलब्ध छ । पेट्रोलमा ५ स्पीड म्यानुअल गियर छ भने डिजेलमा ६ स्पीड म्यानुअल गियर छ ।

यसमा अगाडि पछाडि एसी जडान गरिएको छ । बाहृय तथा आन्तरिक डिजाइनमा विशेष ध्यान दिइएको यो गाडी कार पारखीका लागि वरदान सावित हुने कम्पनीको दाबी छ ।

Hyundai lunch new model (3)

स्पोर्टी लुक्समा रहेको आइ २० एक्टिभमा हाइटेक हेडल्याम्प जडान गरिएको छ । हेडल्याम्पमा अटो लाइट फङ्सन छ, जुन अँध्यारोमा अटोमेटिक बल्छ । यसले अँध्यारोमा गाडी पार्किङ गरेर हिँड्न सहज बनाउने छ ।

यसमा अटो फेल्डेवल इलेक्टि्रक मिरर रहेको छ । युनिक डिजाइ टेल ल्याम्प, दुईवटा एयरब्याग, स्टेरिङ एडप्टिभ पार्किङ गाइडलाइन्स, रिभर्स पार्किङ सेन्सर्स, हेडल्याम्प स्कोर्ट फङ्सन, स्मार्टपेडल, एन्टी लक ब्रेकिङ सिष्टम (एबीएस), मल्टी फङ्सन स्टेरिङ, एडभान्स म्यूजीक सिष्टम (८ स्पीकर) लगायतका सुविधाहरु रहेका छन् ।

यसको मूल्य नेपाली बजारमा ३२ लाख ५६ हजारबाट सुरु भएर ४३ लाख ५६ हजार रुपैयाँसम्म पर्छ । पाँच भेरियन्टमा उपलब्ध आइ २० एक्टिभ एक्स डिजेलको ४३ लाख ५६ हजार, एस डिजेलको ४० लाख ५६ हजार, बेस डिजेलको ३७ लाख ५६ हजार, एस (पी)को ३५ लाख ५६ हजार र बेस (पी)को ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

महिन्द्रा न्यू एज एक्सयुभी ५००

भारतीय मोटर्स निर्माता कम्पनी महिन्द्राको एक्सयुभी ५०० नेपालमा अत्याधिक रुचाइएको स्पोर्टी गाडी हो । कम्पनीले हालैमात्र नयाँ जेनेरेशनको एक्सयुभी ५०० नेपालमा भित्राएको छ ।

नयाँ एक्सयुभी ५०० नेपालमा विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ४९ लाख ५० हजार रुपैयाँबाट सुरु हुन्छ । सिटी, हाइवे र कच्ची बाटोमा समेत चलाउन उपयुक्त रहेको यो मोडलले नेपालीको विश्वास जित्न सफल भएको छ ।

टर्बोचार्ज २.२ लिटर डिजेल इञ्जिनयुक्त यो गाडीले प्रतिलिटर १६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । शक्तिशाली इञ्जिन भएको हुँदा ५.४ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको गति समात्ने बताइएको छ ।

यसमा इलेक्टि्रक सनरुफ, पावर एडजष्टेवल ड्राइभर्स सिट, गाडी स्टार्ट र बन्द गर्ने बटन, जीपीएस ट्रयाकिङ गर्ने ७ इञ्चको टचस्कि्रन इन्फोटेनमेन्ट सिष्टम राखिएको छ ।

Mahindra-XUV500

यसमा हाइटेक रिभर्स पार्किङ क्यामेरा, भ्वाइस म्यासेजिङ सिष्टम, फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल सिष्टम, टायर प्रेसर, टेम्प्रेचर मोनिटरिङ सिष्टम, ड्राइभर इन्फरमेशन सिष्टम, स्मार्ट रेन एन्ड लाइट सेन्सर, क्रुज कन्ट्रोल, कि लेस इन्ट्री लगायतका सुविधा छन् ।

सुरक्षालाई विशेष ध्यान दिइएको न्यू एज एक्सयुभी ५०० मा ६ वटा एयरब्याग राखिएको छ । दुईवटा फ्रन्ट एयरब्याग, दुईवटा साइड एयरब्याग र २ वटा कर्टेन एयरब्याग रहेका छन् ।

अफरोडमा चलाउँदा सजिलो होस भनेर हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल प्रविधि पनि यसमा राखिएको छ । इलेक्टि्रक ब्रेक फोर्स डिष्ट्रिब्युसन (इबीडी) सहितको एबीएस सुविधा छ ।

चारवटै चक्कामा डिस्क ब्रेक राखिएको छ । क्रयास प्रोटेक्सन क्रम्पल जोन्स, साइड इम्प्याक्ट बीम्सका कारण गाडी थप सुरक्षित बनेको छ ।

न्यू एज एक्सयुभी ५०० विभिन्न ७ कलरमा उपलब्ध छ । उपभोक्ताले पेरल हृवाइट, भोल्कानो ब्ल्याक, मुनडष्ट सिल्भर, डोल्फीन ग्रे, ओपुलेन्ट पर्पल, टुस्कान रेड र सनसेट आरेञ्ज कलरमा यो गाडी खरिद गर्न पाउनेछन् ।

फोर्ड इकोस्पोर्ट

५० लाख मुनिका स्पोर्टी कारमा सबैभन्दा बढी रुचाईको फोर्ड इकोस्पोर्ट हो । भारत तथा नेपालमा यसको माग अत्यधिक रहेको छ । अहिले पनि यो गाडी बुकिङ गर्ने वित्तिकै हात पर्दैन ।

Ford-Bumper-Upahar-programme-2

मिनी एसयुभी सेगमेन्टको यो गाडी पेट्रोल र डिजेल दुबै इञ्जिनमा रहेको छ । आकर्षक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स, कम मूल्य, आकर्षक फिचर्सहरुका कारण यो गाडी लोकपि्रय बनेको हो ।

यो गाडी नेपाली बजारमा ३१ लाख ९० हजार रुपैयाँदेखि ४७ लाख ९० हजार रुपैयाँसम्म पर्छ । पेट्रोल इञ्जिन कार फिचर हेरिकन ३१ लाख ९० हजार रुपैयाँदेखि ४३ लाख ९० हजार रुपैयाँसम्म र डिजेल इञ्जिन कार ३६ लाख ९९ हजार रुपैयाँदेखि ४७ हजार ९० हजार रुपैयाँसम्म पर्छ ।

इकोस्पोर्ट १.५ लिटर क्षमतामा पेट्रोल र डिजेल गरी ५/५ भर्सनमा उपलब्ध रहेको छ । यो गाडी मध्यमवर्गीय एसयुभी गाडीका पारखीलाई मज्जाले आकर्षण गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?