+
+

संविधानमा धर्म : सापेक्षता, निरपेक्षता कि स्वतन्त्रता ?

संविधान निर्माणको प्रक्रिया अन्तिम घडीतर्फ पुगिरहँदा अहिले नेपालको मूल कानूनमा धर्मको स्थान के कसरी निरूपण गर्ने भन्ने बारेमा बहस चुलिँदै गएको छ । चुम्बकका दुई विपरित ध्रुवझैँ अहिले एकखालेहरू नेपाललाई ‘सनातन हिन्दू धर्म सापेक्ष’ मुलुक भनेर उल्लेख गरिनुपर्ने र अर्काखालेहरू ‘धर्म निरपेक्ष मुलुक’ उल्लेख हुनुपर्ने गरी स्प्रस्टतः दुई कित्तामा विभाजित छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते १०:०५

रघुनाथ अधिकारी ‘निलमशेखर’

संविधान निर्माणको प्रक्रिया अन्तिम घडीतर्फ पुगिरहँदा अहिले नेपालको मूल कानूनमा धर्मको स्थान के कसरी निरूपण गर्ने भन्ने बारेमा बहस चुलिँदै गएको छ । चुम्बकका दुई विपरित ध्रुवझैँ अहिले एकखालेहरू नेपाललाई ‘सनातन हिन्दू धर्म सापेक्ष’ मुलुक भनेर उल्लेख गरिनुपर्ने र अर्काखालेहरू ‘धर्म निरपेक्ष मुलुक’ उल्लेख हुनुपर्ने गरी स्प्रस्टतः दुई कित्तामा विभाजित छन् ।

Raghunath-Adhikariयी दुई प्रतिलोम वा विलोमका बीचमा नेपाल पूर्ण ‘धार्मिक स्वतन्त्रता’ भएको मुलुक हुनुपर्दछ भन्नेहरूको पनि एक पङ्ती रहेको छ उनिहरू यसलाई एक मध्यवर्ती समाधानको रूपमा दावा गर्दछन् । अर्काे एकखाले झिनो मत पनि छ, यदाकदा केही बुद्धिजीविहरू भन्ने गर्दछन् ‘नेपाललाई हिन्दू, बौद्ध र किराँत धर्म भनेर उल्लेख गरे भै हाल्यो नि’ ।
अर्काे एकखाले मानिसहरूको तर्क छ ‘संविधानमा धर्म सम्बन्धी व्यवस्थाबारे उल्लेखै नगरे भई गयो नि’ ! अझ माथि उल्लेखित समर्थनका मतहरूको मात्रा पनि फरक फरक भएको पाइन्छ, जसमा केही उदार छन् भने कतिपय निक्कै अनुदार र अतिवादी पनि छन् ।

संविधान बनाउनु भनेको आफैँमा मूल वा ठूलो विधिको संहिता वनाउनु हो जुन संपूर्ण राष्ट्रबासीका निम्ति स्वीकार्य हुनुपर्दछ । राष्ट्रको मूल कानून अर्थात संविधान बनिरहँदा देशबासी संपूर्ण जनताहरूले यस प्रति आफ्नो अपनत्व भावका साथै स्वामित्व ग्रहण गर्नु पर्दछ । अर्का पटि्ट संविधानले धर्मको पनि प्रस्थिति र भूमिका प्रति राज्यको दृष्टिको अभिव्यक्त गर्नु पर्दछ ।

माथि उल्लेखित धर्मका तीन प्रबृत्तिहरूमा नेपाललाई हिन्दू धार्मिक मुलुक बनाउने र धार्मिक स्वतन्त्रता भएको मुलुक बनाउने मत मात्र हैन धर्म निरपेक्षता चाहनेहरूको पनि चुरो आसय भनेको आफुले अनुपालना गरेको अमुक धर्ममाथि अहिले संवैधानिक र भोलि कानूनीरूपमा समेत कुनै खतरा नपुगोस् ।

नेपालमा धर्म निरपेक्षता मागगर्नेहरू भित्र पनि तीन प्रकारको अपेक्षा पाइन्छ । पहिलो भनेको धर्म निरपेक्षताको स्वतन्त्रता उपभोग गर्दै आफुले अनुपालना गरेको धर्मको प्रचार, प्रसार र विकास गर्ने, दोश्रोमा आफूले अनुपालन गरेको धर्मका साथसाथै अरू धर्महरूले पनि समान स्थान पाउन भनी धार्मिक शहिष्णुताको भाव राख्ने र तेश्रोमा रूडिवाद र अन्ध विश्वासको प्रणालीकारूपमा रहेको धर्म प्रतिको अनास्था भाव राख्दै धर्मको मामला व्यक्तिमाथि छोडी दिने ।

नेपालमा सामाजिक चेतना विकासको अहिलेको विशिष्ट अवस्थामा विज्ञानपरक वा वस्तुपरक चिन्तन् राख्ने मानिसहरू जो यथार्थतामा धर्मनिरपेक्षताका मूल दावेदारहुन्, उनीहरूको संख्या अत्यन्त न्यून छ ।

अर्कोतिर अहिले धर्मनिरपेक्षताको झण्डा बोक्नेहरूको ठूलो पंक्तिमा कुनै न कुनै धर्मका अनुयायीहरू छन् जो हिजोका दिनमा राज्य संरक्षित धर्म बन्न पुगेको हिन्दू धर्मलाई गद्दीच्यूत गरी आफ्नै धर्मको हाराहारी हालतमा ओराल्न चाहने मात्र हैन, आफ्नो धर्मलाई मूल प्रवाह धर्मको रूपमा स्थापित गर्न पनि चाहन्छन् ।

यो कुरा बुझेका हिन्दू धार्मिक अभियन्ताहरू भने अन्य धर्मको सक्रियता प्रति संषय प्रकट गर्दछन् र यस्तो संसयमा विदेशीहरूको सुनियोजित र संगठित प्रयासका कारण पहिले महादेश वाहिरको भूमीमा मनाउने गरिएको क्रिश्चियन धर्म अहिले नेपालमा हृवात्तै बढेको तर्फ संकेत गर्दछन् ।

यो धर्मको प्रभाव र फैलावट रोक्नका निम्ति केही नियन्त्रणकारी संयन्त्र हुन र सोको व्यवस्था संविधान भित्रै हुनु उपयुक्त हुने उनीहरूको ठम्याइ छ । अर्को कुरा, धर्म सापेक्षतावादीहरूले उठान गर्ने धर्मराज्यको मागभित्र मानिसहरू “अधर्मी र पापी” बन्लान् भन्ने चिन्ता पनि छ । उनीहरूको विचारमा धर्म आचारको प्रणाली हो र यसले मानिसलाई मर्यादा र अनुसासनभित्र बाँधेर राख्दछ ।

हालसालै नवलपरासीको कुडिया गाउँमा दिइएको एकजना बालकको नरवली, गडिमाई मन्दिर र काठमाण्डौका विाभिन्न शक्ति पिठहरूमा राँगाको बली अनि दक्षिणकालीमा दिइने नियमीत बली पनि सवै धर्मकै नाममा भएको दाबा गरिएको हुन्छ

हाम्रो समाजमा मानिसको चेतना स्तर अनुसार धर्म सम्बन्धी बुझाइ र व्यवहार विभिन्न स्तर र स्वरूपमा पाइन्छ । कसैले विद्यालयका र बाटोको लागि जग्गा दान दिएर, गरीबलाई सहयोग गरेर शारीरिक र मानसिकरूपमा कम्जोर जस्तोकी बृद्ध, विकलांग, बालबालिका र विमारी आदिलाई सहयोग गरेर, सार्वजनिक हितका निम्ति बृक्षारोपण गरेर, धारो, कुलो वा पैनी निर्माणमा सक्रियता देखाएर, पाटीपौवा वनाएर, अन्याय भएका लाई न्याय दिएर, जीवन उपयोगी ज्ञानको प्रचार गरेर आफूलाई घर्म गरी रहेको सम्झन्छन् ।

अर्काखाले मानिसहरू पनि छन् उनीहरूले मूर्तिमा गएर अविर फूल र अक्षता चढाउनु अनि घण्टी बजाउनु र अझ कतिपयले बली दिएर आफूले धर्म गरेको सम्झने गर्दछन् ।

हालसालै नवलपरासीको कुडिया गाउँमा दिइएको एकजना बालकको नरवली, गडिमाई मन्दिर र काठमाण्डौका विाभिन्न शक्ति पिठहरूमा राँगाको बली अनि दक्षिणकालीमा दिइने नियमीत बली पनि सवै धर्मकै नाममा भएको दाबा गरिएको हुन्छ र यी सबै प्रथाहरू हाम्रो सनातन धर्मका समष्ति संस्कारभित्र परेको पाइन्छ ।

धर्मको सन्दर्भमा बिचार गर्दा हामी यस्तो अवस्थामा आइपुग्यौं कि परेवा, भाले, बोको वा राँगो लिएर मन्दिर तर्फ गईरहेको कुनै एउटा व्यक्तिलाई सोध्यौ भने म त “धर्म गर्न गएको” भन्ने उसको जवाफको सार हुनेछ र हाम्रो लागि त्यसो भए पाप के हो त ? भनेर घोत्लनुपर्ने भएको छ ।

हुन त हामीले हाम्रो सनातन धर्मको वकालत गरिरहँदा सती प्रथा, नरबली, लैंगिक विभेद अर्थात नारीको तल्लो स्थान बिभेद (झुमा प्रथा, देउकी प्रथा, विधवाप्रथा, छाउपडी प्रथा) वर्ण व्यवस्थामा आधारित जात प्रथा, छुवाछुत जस्ता पक्षहरू पनि सघै आउने गर्दछन् र यि सवैलाई धर्म भनेर भन्नु पर्ने हुन्छ ।

त्यति मात्र होइन, जिब्रो छेड्ने, कान र नाक छेड्ने, पुरूष र महिला दुवैको खतना गर्ने, काट्टो खाने, अर्को जातीको युवकसँग प्रेमसम्बन्धमा बाँधिएकी छोरीलाई संखिया बिष खुवाएर मार्ने, बोक्सि यातनाका विधीहरू जस्ता घोर रुढीवादमा रुमलिएका कुराहरू पनि यसै भित्र आउने गर्दछन् । यदी यी सवै पक्षहरू निहित समग्र प्रचलनलाई नै धर्म मान्ने हो भने सनातन धर्म र अहिलेको गंगा नदिमा उदेक लाग्दो समानता देखिन्छ ।

हाम्रो सनातन धर्म भित्र भित्रिएका अनेकौँ विकृतिहरू छन्, जुन धर्मका नाममा हिजो आएता पनि अहिले आएर पापमा परिणत भएका छन्, कानूनद्वारा दण्डित हुँदैछन् । तर तिनीहरूको समष्टिलाई नै धर्म भनेर हामी हिँडिरहेका छौं ।

अहिले हामी विज्ञानको सामथ्र्यको यस्तो युगमा आइसकेका छौँ कि गंगामा जसरी भौतिक, रासायनिक र जैविक प्रदुषणले पानी सफा भएन भनेर पानी र फोहोरलाई हामी छुट्याउने कोसिस गरिरहेका छौँ, त्यसैगरी अब हामीले धर्मबाट अधर्म, विधर्म, कुधर्म, पाप, अनाचार, अत्याचार, दुराचार, भ्रस्टाचार, व्यविचार एवं धर्मका नाममा हुने शोषणलगायतका मानवताविरोधी पक्षहरूलाई राजहंशले पानीबाट दूध छुट्याएझै छुट्याउनु पर्दछ ।

हाम्रो समाजमा अझै पनि धर्मका बारेमा पर्याप्त बसह भएको छैन । धर्म के हो ? यसलाई कसरी परिभाषित गर्ने ? यसको उद्भव कसरी भयो ? यसले मानिसको कुन पक्षको आवश्यकता परिपूर्ति गर्न मद्दत गर्दछ ? के धर्मका मूल स्वरूपहरू बदलिने गर्दैनन् ?

धर्मको परिभाषा

सर्वप्रथमत धर्मको परिभाषा हेरौं । नेपाली बृहत् शब्द कोषका अनुसार “१.व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति ! प्रकृति ! स्वभाव । २. स्वाभाविक गुण ! सहज वृत्ति । ३.स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य ! पुण्य कर्म । ४. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार ! लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य जस्तो : मानवधर्म, नारीधर्म, युगधर्म । ५.असल आचारण ! सदाचार ! नियम । ६. पुण्य ! सत्कर्म । ७. ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म । ८.कुनै महापुरुषले चलाएको मत ! सम्प्रदाय ।” आदि ।

त्यसैगरी संस्कृत ग्रन्थहरूमा धर्मका परिभाषा अनेकौं छन् जस्तोकिः “अहिंसा सत्यमस्तेय शौचमिन्दि्रयनिग्रहः” अर्थात्ः हिंशा नगर्नु, सत्यतामा रहर्नु, चोरी नगर्नु, सुद्धस्वच्छ रहनु र इन्द्रियलाई नियन्त्रणमा राख्नुलाई मानिसको प्रमुख धर्म भनिएको छ । हाम्रो समाजमा ज्यादै प्रचलित धर्मको परिभाषाको रूपमा रहेको छ “परोपकार पुण्याय पापाय परपीडनम्” अर्थात अर्काको उपकार गर्नु धर्म हो भने अर्कालाई पीडा दिनु पाप हो ।

नेपाली बृहत् शब्द कोशले धर्मनिरपेक्ष शब्दको व्याख्या “कुनैएउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज” भनी गरेको छ ।

अर्का पटि्ट धर्मको विपरीत हुने अधर्म लाई “धर्मको विपरीत कार्य ! पाप ! कुकर्म । २. शास्त्रले निषेध गरिएको कर्म । ३.अन्याय ! कुकृत्य ! दुष्कर्म ।” आदि भनि परिभाषित गरिएको छ । त्यसैगरी धर्म नमान्नेलाई अधर्मी खराब आचार भएको, पापी, कुकर्मी, अत्याचारी, अनाचारी आचार नभएको, धर्म र नीतिविरुद्ध निन्दनीय आचारण भएको, खराब चालचलन भएको, नराम्रो कामको लत भएको आदि भनिएको पाइन्छ ।

यी सबै परिभाषाहरू हेर्दा धर्म समाजको नीति व्यवस्थाका निम्ति आवश्यक प्रणाली हो भन्ने कुरामा दुई मत नै हुँदैन । तर, फेरि पनि धर्मको समुन्द्र मन्थन गर्न आवश्यक । यसको जीवन उपयोगी अमृत र जीवनका लागि अहितकारी हुने बिष छुट्याउन आवश्यक छ ।

धर्मको समुन्द्रभित्र अमृत र बिष दुवै निहित छन् । तर, बिष चाही धर्म होइन यो त पाप हो । अमृत भने जीवन उपयोगी हुने हुँदा यो चाही धर्म हो भनेर अझ स्पष्ट छुट्याउनुपर्ने देखिन्छ ।

समाजमा आएको परिवर्तन

हिजो मानिएको धर्म अहिले पापका रूपमा परिवर्तन् भएको छ, एक जातिको धर्म अर्को जातिका लागि बर्जित छ र कसैको धर्म अर्काका लागि पाप ठहर्छ । सलिम र जोसेफका लागि गोमांस भक्षण पापको कुरा भएन तर रामलखन या रामप्रसादका लागि यो पापको कुरा भयो । हुन त आदिवैदिक युगमा खासगरी शिकार र संग्रहको युगमा विचरण गर्ने रामलखन र रामप्रसादका पूर्खाहरू पनि अश्वमेध यज्ञ, गोमेध यज्ञ गर्ने गर्दथे र त्यस अवस्थामा अश्व मांस र गोमंास भक्षण मानिसहरूको आम चलन थियो ।

तर, अहिले, खासगरी पौराणिक युग यता आएर सिन्ध नदीका किनारमा बसोबास गर्ने अर्थमा पश्चिमाहरूद्वारा हिन्दू भनिएका जम्भो द्विप, भारतवर्ष वा दक्षिण एशियाली मुलुकका कतिपय जातिहरू निम्तिी गौ हत्या र गौमांस भक्षण पाप ठहर्न पुग्यो । अझ शाकाहारी सम्प्रदायका अगाडि त कुनै पनि प्रकारको मांस भक्षण पाप ठहरिने नै भयो ।

कुण्डकुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने झै धर्मको विकासक्रमको पहिलो चरणको मानिएको सर्वात्मवादी चरणदेखि बहुदेवत्ववादी एकेस्वरवादी अधिभौतिक र सबै भन्दा पछिल्लो प्रत्यक्षवादचरणसम्म पुग्दा धर्म मानिसको भौतिक प्रगतिको स्तर र चेतनाको तहमा आधारित भएको देखिन्छ । भनिन्छ पहिले सर्वात्मवादी चरणमा मानिस प्रकृति र पितृको पूजा गर्दछ ।

धर्म आफैँमा मानिसको चेतनाको स्तरसँग सम्बन्धित हुन्छ उदाहरणका लागि यो परेवाको भोग दिएर देउता भाक्ने सुधो मानिसदेखि लिएर आफूलाई सन्यास घोषणा गरी आत्मज्ञान र मोक्षको कामना गर्ने सुफी-सन्यासीहरूका क्रियाकलापहरू पनि यस भित्र पर्दछन् ।

वहुविध स्वरूप र आयाम भई आफैँमा विकासमान र परिवर्तित धर्मलाई आम रूपमा व्यक्ति र समाज वा संप्रदायको जिम्मामानै छोडिँदै आएको देखिन्छ । राज्यले त्यसको अवलम्बन गरेता पनि त्यसमा आउने शिघ्र परिवर्तनले फेरि त्यसमा परिवर्तन गर्नुपर्ने हुन्छ । अर्कोतर्फ राज्य सवै धर्म मान्ने जनताका निम्ति बराबर हो ।

कुनै धर्म वा सम्प्रदायको मानिसले आफूलाई सम्बन्धित देशको भूभागमा रहँदा बस्दा यदी आफ्नो धर्म मान्न पाउँदैनन्, आफ्नो धर्मलाई दोश्रो दर्जाको धर्मकोरूपमा लिनु पर्ने भयो भने उनीहरूको आत्मबाटै त्यो भूमिप्रतिको वितृष्णा र अर्को बाहिर कतैको भूमिप्रतिको मनोवैज्ञानिक लगाव कायम रहन जान्छ ।

यदि नेपालका त्यस्ता अल्पसंख्यक धर्मका अनुयायी जनताहरूले पनि त्यो अधिकार पाएमा राष्ट्रले आफ्ना नागरिकहरूको यति धेरै माया पाउँछ कि त्यो नै राष्ट्र विकासको आधारशिला बन्छ । विभेदको महसुस नबोकेको नागरिकले विद्रोह सोच्नै पर्दैन, केवल विकास मात्र सोच्छ ।

धर्मका मर्मज्ञहरू भन्दछन् ईश्वर एउटै हुन् तर मानिसले उनको भिन्न नाम दिए र भिन्न उपासनाका पद्धति बनाए । यहा ईश्वरमा विवाद हैन, ईश्वरको स्वरूप र उपासना पद्धतिमा विवाद हो र सारतः फेरि पनि यो मानिस आफैँको विवाद हो ।

वास्तवमा अहिलेका विश्वका अधिकांश राष्ट्रहरू क्रमशः धर्मनिरपेक्षता तर्फ गइरहेका छन् । धर्मनिरपेक्षता यस्तो अवस्था हो जहाँ राज्य धर्मका मामलामा तटस्त रहन्छ, सवै धर्मका लागि बराबरीको भूमिका निर्वाह गर्दछ र व्यक्ति आफ्नो धार्मिक आस्थाको अवलम्बन गर्नका निम्ति स्वतन्त्र रहन्छ ।

धर्म निरपेक्षतादको नेतृत्व कुनै धर्मका अनुयायीले हैन, यो विज्ञानका अनुयायीहरूले लिनुपर्दछ । वास्तवमा धर्म निरपेक्षतावादीहरूलाई अर्को दृष्टिबाट हेर्ने हो भने उनीहरूको मान्यताले चाहिँ सही अर्थको धर्मलाई प्रवर्द्धन गर्दछ । अझ एक तह अघि बढेर भन्ने हो भने हरेक उपल्लोकोटीका महन्तहरू संशयी हुन्छन् र ईश्वर वस्तुवादी वा नास्तिक हुन्छन् । किनभने ईश्वरले मान्नुपर्ने अर्को कुनै ईश्वरै रहन्न ।

यस अर्थमा विज्ञानपरक दृष्टिकोणबाट नेतृत्व भएको धर्मनिरपेक्षताको अवलम्बनले नै राष्ट्रमा वास्तविक स्वतन्त्रता र समुन्नतिको सुनिश्चितता गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?