१२ असोज, काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले नेपालको आन्तरिक समस्या आफैंले हल गर्नुपर्ने सुझाव दिएका छन् ।
तराई आन्दोलनका कारण भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न मुलुकको विषम परिस्थितिबारे छलफल गर्न चुन्ताइ माओवादीको कार्यालय बुद्धनगर पुगेका थिए ।
दोभाषेलाई साथमा लिएर बुद्धनगर पुगेका चुन्ताईले सरकारले चाहेमा जस्तो सुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको बताएको माओवादी सचिव देव गुरुङले बताए ।
प्रमुख तीन दलका कारणले नै समस्या उत्पन्न भएकाले त्यसका लागि मधेसवादी दलहरुसँग छलफल गरेर समस्या हल गर्नुपर्ने माओवादी सचिव गुरुङले बताए ।
भूकम्पका कारण अवरुद्ध उत्तरी नाका खोल्नुपर्नेबारेमा भने आफूहरुको कुनै छलफल नभएको गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।
नियमित भेटघाट अन्तर्गत नै चिनियाँ राजदूतसँग भेटघाट भएको गुरुङले बताए । चिनियाँ राजदूत चुन्ताइसँगको भेटमा माओवादी अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा ‘बादल’ र सचिव देव गुरुङ लगायतका पदाधिकारीहरु सहभागी थिए ।
माओवादी विदेश विभागका इन्चार्जसमेत रहेका उपाध्यक्ष सीपी गजुरेल चुन्ताइसँगको भेटमा सहभागी थिएनन् ।
प्रतिक्रिया 4