२७ कात्तिक, काठमाडौं । तेलको हाहाकारले काठमाडौंमा सार्वजनिक गाडीहरु थला परेका बेला सफा टेम्पो उनीहरुलाई गिज्याउदै ढुक्कसित गुडिरहेको छ ।
दुई दशकअघि काठमाडौंमा सफा टेम्पो भित्रिनुअघि डिजेलबाट चल्ने बिक्रम टेम्पोले राजधानीका सडकमा हैकम जमाएको थियो । ध्वनी प्रदुषण र वायु प्रदुषणका लागि बदनामी कमाएको बिक्रम टेम्पो अहिले लोप भइसकेको छ ।
सफा टेम्पो कसरी आयो त काठमाडौंमा ? सफा टेम्पोको कुरा गर्दा छुटाउन नसकिने नाम हो डा. गोविन्द पोखरेल । उनी त्यतिबेला थापाथली क्यापसमा अध्यापन गर्थे । राजधानीमा सफा टेम्पो भित्रिनमा उनैको योगदान छ ।
सन् १९९३ मा क्याम्पसमा एउटा अमेरिकी आइएनजिओ यूएसएआइडीका प्रतिनिधीहरु आइपुगे । उनीहरुले प्रस्ताव गरे, हामी विक्रम टेम्पोलाई इलेक्टि्रक टेम्पोमा परिवर्तन गर्ने प्रविधि लिएर आएका छौं, मिलेर काम गरौं ।
क्याम्पस प्रमुखले उक्त टोलीसित काम गर्न खटाए डा. पोखरेल र प्रेमकुमार नकर्मीलाई । दुई भाइले डिजेलबाट चल्ने बिक्रम टम्पोका एक मेकानिक्स र दुई अमेरिकन इन्जिनीयरसित मिलेर काम गर्न थाले । अमेरिकीहरुले आवश्यक सामानहरु उतैबाट ल्याएका थिए ।
बिक्रम टेम्पोकै बडीमा त्यसलाई रिप्लेस गरेर ठाकठुक पारेर बन्यो विद्युतीय टेम्पो । सिटमुनि ब्याट्री राखिएको टेम्पोको प्रोटोटाइप केही दिनमै तयार भयो । टेम्पोको टाउकोमा मिस्त्रीले लेखिदिए-स्वच्छ यातायात ।
स्वच्छ यातायात भन्ने नाम डा. पोखरेललाई चित्त बुझिरहेको थिएन । उनी चाहन्थे, त्यस्तो नाम होस्, मान्छेले एकैपटकमा सम्झिउन् र जनजिब्रोमा झुण्डियोस् ।
थापाथली पुलमा थियो, कुवेर मिष्ठान्न भण्डार । त्यहाँ लञ्च खाने भनेर बसे, पोखरेलसहित नयाँ टेम्पोका थिंक ट्याङ्कहरु । नयाँ टेम्पोलाई कसरी यात्रुहरुबीच लोकपि्रय बनाउने भन्ने रणनीति बनाउनेबारे छलफल सुरु भयो । डा. पोखरेलले सुरुमा नाम नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
‘स्वच्छ यातायात भन्ने नामले सर्वसाधारणलाई आकषिर्त गर्दैन,’ उनले तर्क गरे, ‘जुन लेभलका मानिसहरु यो टेम्पोमा चढ्छन् उनीहरुले सहजै सम्झिने र उच्चारण गर्न सक्ने नाम चाहिन्छ ।’
त्यसो भए के राख्ने त ? सबैले डा. पोखरेलतिर हेरे ।
केहीबेर घोत्लिएपछि उनको दिमागको बत्ति बल्यो ।
‘सफा टेम्पो । सफा टेम्पो राखौं,’ उनले प्रस्ताव गरे । सबैले ताली बजाए ।
धुँवाको मुस्लो फाल्ने बिक्रम टेम्पोले राजधानीका सडकमा ध्वनी तथा वायू प्रदुषण फैलाइरहेका अवस्थामा सफा टेम्पो छिट्टै स्थापित भयो ।
त्यसपछि डा. पोखरेल पढाइको सिलसिलामा जर्मनी गए । तीन वर्षपछि फर्किँदा बिक्रम टेम्पोलाई सफा टेम्पोले काठमाडौंमा विस्थापित गरिसकेको थियो । सडकमा यात्रुहरुले सफा टेम्पो आयो, सफा टेम्पो आयो भनेको सुन्दा उनी मख्ख परे ।
भारतले गरेको नाकाबन्दीले नेपालमा विद्युतीय सवारी साधनको महत्व झन् बढाइदिएको डा. पोखरेल बताउँछन् । ‘विद्युतीय सवारी साधन किन अत्यावश्यक छ भन्ने आज प्रमाणित भएको छ,’ उनले भने ।
सफा टेम्पोको प्रविधि काठमाडौंमा भित्र्याउने काम यूएसएआडीले गरेको थियो । उक्त आइएनजीओले दुई इन्जिनियरसहित सामान ल्याएर एसेम्बल गरेको हो । त्यसपछि डेनिडाको सहयोगमा यसलाई स्थापित गराइएको हो ।
असफल बनेको दोस्रो योजना
सफा टेम्पोको नामाकरण गर्ने यी पुरेत डा. पोखरेल नाकाबन्दीमा तेलको जोहो गर्नका लागि पेट्रोलमा इथानोल मिसाउने अभियानमा पनि खुबै भिडे । तर, आयल निगमको असहयोगले गर्दा सकेनन् । उनले आफैं योजना आयोगको उपाध्यक्ष भएर पनि यो काम गर्न सकेनन् ।
पोखरेल अझै पनि भन्छन्, ‘पेट्रोलमा इथानोल मिसाउने योजनालाई मूर्तरुप दिन सके इन्धन संकट समाधानमा ठूलो मद्दत पुग्नेछ । तर, यसमा आयल निगमले अग्रसरता देखाउनुपर्छ ।’ सन् २००७ मा गरिएको एक अध्ययनले देशबाट दैनिक ७० हजार लिटर इथानोल उत्पादन हुने गरेको देखिएको थियो ।
प्रतिक्रिया 4