२२ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा एमाले समर्थित मजदुरबाट ‘भौतिक आक्रमणसम्मको धम्की’ आउन थालेपछि राजधानीको लाजिम्पाटस्थित क्यासिनो ‘मिल्लेनायर्स क्लब’ को लगानीकर्ता हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले लगानी फिर्ता लाने चेतावनी दिएको छ।
सिल्भर हेरिटेजले नेपालमा १५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ जसअनुसार पहिलो चरणमा क्यासिनो मिल्लेनायर्स क्लब सञ्चालन गरिएको हो। हालसम्म ४ अर्ब रुपैयाँ लगानी गरिसकेको यसले भैरहवामा ४ सय कोठायुक्त पाँचतारे स्तरको रिसोर्ट निर्माण गरिरहेको नागरिकमा खबर छ।
क्यासिनो मिल्लेनायर्स क्लबमा पुराना मजदुर (मिल्लेनायर्स क्लब हुनुअघि क्यासिनो सांग्रिलामा कार्यरत) ले दुई महिनादेखि अवरोध सिर्जना गरिरहेको र यसको मूल कारण प्रमुख राजनीतिक दल एमाओवादी र एमालेको ‘स्वार्थ’ जोडिएको प्रस्ट हुँदै गएपछि सिल्भर हेरिटेजका एक निर्देशक तथा प्रमुख लगानीकर्ता अमेरिकाका ह्युग होल्म्सले नेपालबाट लगानी फिर्ता लैजाने चेतावनी दिएका हुन्।
मिल्लेनायर्स क्लबको नेपाल व्यवस्थापन हेरिरहेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईंका अनुसार होल्म्सले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरी पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै लगानी फिर्तासम्मको बेहोरा उल्लेख गरेका छन्।
‘माओवादी र एमाले समर्थित मजदुरले दिनहुँ नाराबाजी गर्दै क्यासिनो मिल्लेनार्यस क्लब सञ्चालनमा अवरोध सिर्जना गरिरहेका छन्। हाम्रा मजदुर र व्यवस्थापनका अधिकारीलाई भौतिक आक्रमणसम्मको धम्की आउन थालेको छ। काम गर्न सक्ने वातावरण हट्दै गएको छ,’ होल्म्सको पत्र उद्धृत गर्दै सिल्भर हेरिटेज ग्रुपको नेपाली सहायक कम्पनी ह्याप्पी वर्ल्डका कार्यकारी अध्यक्ष बजगाईंले भने, ‘अब हामी के गर्न सक्छौं? यस्तै रवैया जारी रहे नेपालबाट लगानी फिर्ता लान्छौं।’
उनका अनुसार पछिल्लो गतिविधिका कारण मिल्लेनार्यस क्लबका महाप्रबन्धक माइक वाकरसहित आधा दर्जन विदेशी अधिकारी काठमाडौंमा रहेको आफ्ना परिवार स्वदेश फर्काउने तयारीमा छन्। ‘दिनहुँको धम्की त छँदैछ, त्यसमाथि क्यासिनोमै ढुंगा प्रहार भएपछि ज्यानको समेत डर भयो,’ बजगाईंले भने, ‘उनीहरू असाध्यै आत्तिएका छन्। ज्यान जोखिममा राखेर काम गर्न कसलाई पनि सजिलो हुँदैन।’
प्रतिक्रिया 4