भारतको अघोषित नाकाबन्दीका कारण अहिले सिंगो नेपाल नै प्रभावित छ । यस्तो समयमा नेपाली चलचित्रका थुप्रै काम प्रभावित भएका छन् । कलाकारहरुको दैनिकी पनि परिवर्तन भएको छ । उनीहरु पनि नाकाबन्दीले प्रभावित भएका छन् । कोही इन्डक्सन चुल्हो र बिजुली आउने समयमा भर परेका छन् भने कोही लाइनमा बसेरै तेल हालेका छन् । कतिपयले त कालोबजारीकै तेल पनि हालिरहेका छन् ।
सेड्युल हेरेर लाइनमा बसिहाल्छु
प्रियंका कार्की, नायिका
नाकाबन्दीको कारण दसैं तिहारको विचमा केही काम रोकियो । त्यतिवेला पेट्रोलको निकै हाहाकार थियो । लिटरमा सात सय तिर्न खोज्दा पनि पाइएन ।
त्यो वेला रोकिएको काम अहिले गरिरहेकी छु । मेरो गाडी डिजेलले चल्छ । पेट्रोलको तुलनामा डिजेल केही सहज छ । मेरो घर नजिकै पेट्रोल पम्प भएकाले तेल दिने सेड्युल हेरेर लाइनमा राखिहाल्छु ।
खाना पकाउने ग्यास सकिएको त धेरै भयो । नाकाबन्दी सुरु भएपछि इन्डक्सन चुल्हो किनेका छौं । त्यसैमा खाना पकाउँछौं । तर, लोडसेडिङले गर्दा इन्डक्सनमा खाना पकाउन सार्है गार्हो छ ।
पछिल्लो समय धेरै सुटिङमै ब्यस्त भएकाले ल्याउने पुर्याउने काम सुटिङकै गाडीले गर्छ । त्यसकारण आफ्नो तेल खर्च भएको छैन ।
म सँधै जगेडा ग्यास राख्छु
इन्दिरा जोशी, गायिका
म जहिल्यै एउटा ग्यास जगेडा राख्छु । त्यसकारण यसपाली पनि समस्या भएन । अर्को कुरा घरमा ग्यास हुँदा हुँदै पनि नाकाबन्दी भएपछि मैले इन्डक्सन चुल्हो किने । तर, बत्ती आउने र जाने टुंगो नहुँदा इन्डक्सन चुल्हो राम्ररी प्रयोग गर्नै पाएको छैन ।
म्युजिकको काम त चौपटै भैसक्यो । धेरै गीत रेकडिङ रोकिएको छ । बल्ल बल्ल रेकडिङका लागि समय मिलायो, स्टुडियोमा बत्तीको भोल्टेज नै पुग्दैन । नाकाबन्दीसँगै थपिएको लोडसेडिङले हामीलाई थप तनाब दिएको छ ।
म अहिले प्राय हिडेरै कार्यक्रममा जाने गरेकी छु । अहिलेसम्म ब्ल्याकमा पेट्रोल किनेकी छैन । साथीहरुसँग सापटी पनि लिएकी छैन र पेट्रोल पाउने दिन ड्राईभर दाई आफैं लाईन बस्न जानु हुन्छ ।
साथीभाईसँग लिफ्ट मागेर चलाएको छु
भूवन केसी
ग्यास सकिएको धेरै भयो । इलेक्ट्रोनिक चुल्होमा खाना पकाउँछु । न त पकाउने ठेगान हुन्छ, न खाने । सेड्युल हेरेर पकाएर राख्ने चलन छ । बत्ती आएको बेला भने तताएर खान्छौं । बत्ती छैन भने चिसै पनि खाने गरेका छौं ।
अहिले गाडी एकदमै कम चढेको छु । प्राय साथीहरुसँग लिफ्ट मागेर काम चलाउछु । नाकाबन्दी हुनु अघि मेरो गाडीमा अलिककति तेल थियो । त्यो झिकेर बाईकमा हालेर पनि चलाएँ ।
चलचित्र रिलिजको तयारीमा रहेका निर्माता नराम्ररी नाकाबन्दीको मारमा परेका छन् । लोडसेडिङको कारण धेरै चलचित्रको प्राविधिक काम रोकिएको छ । काम रोकिने बित्तिकै लागत बढ्छ । हामीले अहिले जुन समस्या भोगीरहेका छौं, मलाई लाग्छ कुनै पनि नेताहरुको घरमा यो समस्या छैन ।
टोलटोलमै पेट्रोल पम्म
जीतु नेपाल
पानी इलेक्ट्रोनिक कित्टीमा उमाल्थें, भात राईस कुकर र दाल-तरकारी इन्डक्सन चुल्होमा बनाउने गरेको थिएँ । अहिलेको लोडसेडिङ तालिकाले मेरा इलेक्ट्रोनिक भाँडा पुराना बनाउने हो कि चिन्ता लागेको छ । किनभने चलाउनै पाइदैन ।
कार्यक्रमका लागि अमेरिका गएको बेलामा घरमा ग्यास सकिएछ । दुई चार दिन केटाकेटीले नराम्ररी दुःख पाएछन् । त्यतिवेला तत्काल ग्यास सभ्भव पनि थिएन । अहिले लाईन बसेर नियमसंगत ढंगले आधा सिलिण्डर ग्यास ल्याएको छु । त्यसैमा भात पाकेको छ ।
पछिल्लो समय गाडी एकदमै कम चढ्छु । स्कुटर चढ्दै आएको छु । स्कुटरलाई खासै समस्या छैन । अहिले त टोलटोलमा ग्यालीनवाला पेट्रोल पम्प खुलेको छ । त्यसैवाट काम चलाएको छु । लिटरको ३५० रुपैंयासम्म तिरेर ३० लिटर जती किनें होला ।
प्रतिक्रिया 4