१ पुस, काठमाडौं । भारतमाभन्दा नेपालमा निकै धेरैले महंगी बढेको छ । भारतीय नाकाबन्दीका कारण नेपाली जनताले महंगीको मार खेप्नु परेको छ ।
सामान्य अवस्थामा २ प्रतिशतको हाराहारीमा रहेको दुई देशबीचको उपभोक्ता मुल्यवृद्धि अन्तर अहिले ५ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको कात्तिक महिनासम्मको देशको आर्थिक स्थितिअनुसार भारतमा उपभोक्ता मुल्य वृद्धिदर ५.४ प्रशित छ भने नेपालको मुल्यवृद्धिदर १०.४ प्रतिशत छ ।
गत वर्षको कात्तिक मसान्तमा भारतको मुल्यवृद्धिदर ४.४ प्रतिशत र नेपालको मुल्यवृद्धिदर ७.२ प्रतिशत थियो ।
‘भूकम्प, तराई आन्दोलन र दक्षिण व्यापारा नाकाहरुमा भएको अघोषित नाकाबन्दीका कारण नेपाल भारतबीचको महंगीको दर बढेको हो,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।
सरकारले चालू आर्थिक वर्षमा मुल्यवृद्धि ८ प्रतिशत कायम राख्ने लक्ष्य राखेको थियो । तर, भारतीय नाकाबन्दीका कारण मुल्य नियन्त्रण गर्न किनै कठिन भएको राष्ट्र बैंकले जनाएको छ ।
कालो ब्यापार अझै बढ्ने खतरा
नेपालको तुलनामा भारतको महंगी कम भएपछि सीमा क्षेत्रमा कालो अर्थात अनौपचारिक व्यापार अझै बढ्ने खतरा चुलिएको छ । खुल्ला सीमा भएकाले भारतबाटै कम मुल्यमा विभिन्न वस्तुहरु पाइने भएकाले सीमा क्षेत्रका नेपालीहरु भारततर्फ हुने देखिएको छ ।
कुन सामानको मुल्य कति बढ्यो ?
गत वर्षको कात्तिक मसान्तको तुलनामा भन्दा यो वर्षको कात्तिक मसान्तमा खाद्य तथा पेय पदार्थको मुल्य १२.१ प्रतिशतले बढेको छ भने सेवा क्षेत्रको मुल्य ९.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
दाल तथा गेडागुडी, घ्यू तथा तेल, लत्ताकपडा तथा जुत्ता समुहको मुल्य उच्च दरले बढेको छ । दलहन तथा गेडागुडीको ४४.१, घ्यू तथा तेलको ४१.१ लत्ता कपडा तथा जुत्ता १४.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यद्यपि बजारमा हेर्न जाने हो भने राष्ट्र बैंकले भनेकोभन्दा बढी महंगी छ ।
प्रतिक्रिया 4