+
+

आँखाको रोग जलबिन्दुबारे थाहा पाउनुपर्ने कुरा

जलबिन्दु भनेको एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टि सम्वन्धि स्नायु (अप्टिक नर्भ) मा क्षति पुर्याउँछ । जलबिन्दुको प्रारम्भिक चरणमा केहि लक्षणहरुमात्र देखिने वा कहिलेकाँही कुनैपनि लक्षण नदेखिने पनि हुनसक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २२ गते १३:०४

डा. प्रेरणा कंशाकार

जलबिन्दु एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टि सम्वन्धि स्नायु (अप्टिक नर्भ) मा क्षति पुर्याउँछ । जलबिन्दुको प्रारम्भिक चरणमा केहि लक्षणहरुमात्र देखिने वा कहिलेकाँही कुनैपनि लक्षण नदेखिने पनि हुनसक्छ ।

Dr.-Prerana-Kansakarकुनै लक्षण र चिन्हहरु नदेखिई नै दृष्टिबिहीन बनाउने भएकाले यसलाई अत्यन्त चुनौतीपूर्ण रोगको रुपमा लिने गरिएको छ । समय समयमा आँखाको जाँच नगराउने र सानातिना समस्या भन्दै आँखाको उपचारमा हेलचेक्र्याई गरेमा जलबिन्दुले मानिसलाई दृष्टिबिहीन समेत बनाउन सक्छ ।

आँखाको भित्री चाँप ‘इन्ट्रा अक्युलर प्रेसर’ बढ्नु जलबिन्दुको जोखिमको मुख्य कारण हो । एउटा स्वस्थ आँखाको गेडीमा एक प्रकारको सफा पानी जस्तो तरल पदार्थ हुन्छ जसलाई मेडिकल भाषामा ‘एक्युस हृयुमर’ भनिन्छ । यो ‘एक्युस हृयुमर’ जुन गतिमा बगेर सकिन्छ त्यहि गतिमा उत्पादन हुन्छ ।

‘एक्युस हृयुमर’को उत्पादन मात्रा बढी भई अवरोध भएर निकास हुन नसकेको अवस्थामा आँखाको चापमा वृद्धि हुन्छ । बढेको आँखाको भित्री चाँपले दृष्टि सम्वन्धि स्नायुलाई धक्का लगाउँछ र बिस्तारै क्षति पुर्‍याउँदै जान्छ । जलबिन्दुका कारण हुने दृष्टिबिहीनताको अवस्था क्रमशः बढ्दै जान्छ । यो प्रकृया प्राय छेउछाउका दृष्टि हराउँदै गएर शुरु हुन्छ ।

आँखाको बढ्दो चाप ‘इन्ट्रा अक्युलर प्रेसर’लाई दृष्टि सम्वन्धि स्नायु निर्माण गर्ने स्नायु रेशाहरुलाई बिस्तारै बिगार्ने कारणका रुपमा समेत लिने गरिन्छ ।

बिश्व स्वास्थ्य संगठनका अनुसार जलविन्दु, विश्वभर दृष्टिविहीन गराउने प्रमुख कारणहरु मध्ये दोश्रो समस्या हो । नेपालमा पनि यो दृष्टिविहीनको मुख्य कारणहरु मध्ये पर्दछ ।

परिवारमा कसैलाई जलविन्दु लागेको भए बंशाणुगतरुपमा पछिल्लो पुस्तामा सर्दै जाने हुनाले परिवारका नयाँ सदस्यहरुमा पनि यसको जोखिम रहन्छ । त्यसैगरी ४० वर्ष भन्दा माथिका बयश्कहरुलाई पनि जलबिन्दु हुनसक्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलबिन्दु हुने सम्भावना प्रवल रहन्छ । लामो समयसम्म आँखाको उपचारमा प्रयोग गरिने ‘स्टेरोयड्स’ औषधिहरु प्रयोग गर्ने र दुर्घटनाका कारण आँखामा चोट लागेकाहरुमा पनि जलबिन्दु हुनसक्ने सम्भावना उत्तिकै हुन्छ ।

बिशेषज्ञहरुद्वारा आँखाको भित्रि चाँप ‘इन्ट्रा अक्युलर प्रेसर’, आँखाको तरल बग्ने प्रणालिको कोण र अप्टिक नर्भ, पेरिफेरल भिजन भिजुअल फिल्ड टेस्ट लगायतको सम्पूर्ण जाँच गराएर जलबिन्दु निदान गर्न सकिन्छ ।

जलबिन्दुमा हाल आँखाको भित्रि चाँप ‘इन्ट्रा अक्युलर प्रेसर’ को मात्र उपचार गर्न सकिन्छ । यसकालागि आँखामा राख्ने थोपा औषधिहरु अत्यन्त प्रभावकारी रहेका छन् । यी औषधिहरुले प्रेसरलाई केही घटाउन र दीर्घकालिनरुपमा नियन्त्रणमा राख्न मद्दत गर्दछन् । थोपा औषधिहरुले आँखाको भित्री चाँप घटाउन नसकेको अवस्थामा शल्याकृया गर्नुपर्ने समेत हुनसक्छ ।

बिश्व स्वास्थ्य संगठनका अनुसार जलविन्दु, विश्वभर दृष्टिविहीन गराउने प्रमुख कारणहरु मध्ये दोश्रो समस्या हो । नेपालमा पनि यो दृष्टिविहीनको मुख्य कारणहरु मध्ये पर्दछ । यहाँ जलबिन्दु भएकाहरुको एकिन तथ्यांक उपलब्ध नभएपनि आँखाको उपचार सेवा प्रदायक बिभिन्न अस्पतालमा हरेकबर्ष करिब दुईसय जनाको शल्यक्रिया हुने गरेको प्रतिवेदनहरुले देखाएको छ ।
स्मरण रहोस्, जलबिन्दुको समस्या समयमै पहिचान गरी उपचार शुरु गर्नसकेको खण्डमा र चिकित्सकको सुझाव अनुसार नियमित औषधि प्रयोग गरेर यसवाट हुनसक्ने अन्धोपनबाट बच्न सकिन्छ ।

हरेक ६ महिनामा आफ्नो आँखाको जाँच गराएर जलबिन्दुको समयमै पहिचान गरी उपचार गराउनु उपयुक्त हुन्छ ।

लेखक धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अप्थाल्मोलोजी एण्ड भिजन साईन्सेस बिभागकी एसोसियट कन्सल्ट्यान्ट हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?