दिल निसानि मगर
खौरिन अल्छी लागेजस्तै देखिने अनुहारमा अलिकति सेता दारी । कुनै दार्शनिक चिन्तकको झल्को दिने गरी एउटा पुरानो सोफामा बसिरहेका थिए । मानौँ उनको मुखभन्दा मुहार बोल्छ । उनी अर्थात् ‘फोक्ल्यान्डको टापुबाट’ ।
उनी अर्थात् ‘सिमली छायाँमा बसी’ । उनी अर्थात् ‘झरनाको चिसो पानी’ । उनी अर्थात् ‘आकाशमा बादलु डम्मै छ’ । उनी अर्थात् ‘कालीगण्डकी आँसुको समुन्द्र भयो जिन्दगी’ । अर्थात् जनगायक जीवन शर्मा ।
लामो बाउला भएको छिर्केमिर्के सेतो रंगको कमिज, भुवा निस्कने किसिमको पुरानो पत्लुङ र हरेक जाडोमा निरन्तर दोहोरिने उही पुरानो ज्याकेट । यस्तो लाग्थ्यो कि जीवन शर्मा आज पनि ‘पाई’ राङखानीको गाउँगाउँमा गीत गाउँदै हिँड्ने रक्तिमको ‘रातो लालटिन’ हुन् । कालो मेहन्दी बहिष्कार गरेर सेतै फुलेका कपालहरू समेत क्रान्तिकारी हिस्सेदार हुन् । र, जीवनलाई जाडो हुँदा नयाँ ज्याकेट पसलमा पाइँदैन ।
काठको टेबुलमाथि रहेको काँचको गिलासमा ‘कागती पानी’ जस्तो देखिने पेय पदार्थ उचाल्दै जीवन शर्मा मुस्कुराए । उनको मुस्कानमा एउटा अजीव विम्ब लुकेको छ ।
यो पंक्तिकारले झोलाबाट ‘डायरी’ निकालेर शब्दहरू थुपार्दै जब डिका मिलाउन थाल्यो, तब जीवन शर्मा एक्कासि हौसिन थाले । अभिवादन भुइँमा खस्न नपाउँदै पंक्तिकार प्रश्नहरूको कारखाना बोकेर उभिएको थियो । जीवन शर्माबारे ‘फिचर’ तयार पार्दा ‘गज्जब’ होला भनेर ।
‘१६ वर्षको उमेरदेखि जनताको गीत गाउन थालेको हुँ, अझै थाकेको छैन,’ जीवन शर्माले विगतका यादको पोयाँ फुकाउलानजस्तो गरेर केहीबेर घोत्लिए । ‘जीवनको यात्रामा जीवनको उमेर ५६ पुगिसक्यो । तर म आफूलाई दशकौँअघिको अनुपातमा झैँ गतिशील ठान्छु, आज भीमपोखरामा गीत गाउन आएँ,’ उनले दुवै आँखा चिम्लेर केही गहिरो सोचाइको भावमा मजाकिलो मुद्रा प्रस्तुत गर्दै भने, ‘जीवन भन्नु नै उकाली-ओराली रहेछ मेरा लागि, परिवर्तनको गीत गाउँदै हिँडेको मान्छे म यतिका दशक बित्दा पनि भोका, नांगाकै गीत गाउँछु ।’
पुष्पाञ्जली युवा क्लब भीमपखराले आयोजना गरेको ‘शिवरात्रि’ मेलामा उनले आफ्ना गीतहरू गाउँदा केटाकेटी हुन् वा बुढापाका र युवायुवती सबै ‘नोस्टाल्जिया’ मा केन्द्रित हुन थाले । कोही जुरुक्कै उठेर छमछम नाचे, कोही उनी संगै भाकामा भाका छोपेर गाउन थाले । कतिपय मानिसले उनको गीतको जीवन्तताको सन्दर्भमा कुराकानी गर्न थाले । जसले जीवन र जगत्को अर्थ बुझेका थिए, पीडा र पीडकको सम्बन्ध बुझेका थिए, ती धुरुधुरु रोए ।
भीमपोखरा जीवन शर्माको गृहजिल्ला बाग्लुङको एक गाविस हो । उनी राङखानीमा जन्मेका हुन्, त्यसैले बाग्लुङ जिल्लासँग उनको अटुट ममता छ । यो जिल्लाको कुनाकुना र रनबनमा गरिबहरूको गीत गाउँदै हिँड्दा गाविस अध्यक्षको सुराकीबाट उनी कैयौँपटक समातिएका छन् । पुलिसबाट लखेटिएका छन् । राता-राता दिनमा, काला-काला रातहरूमा उनले अनेक दुःखकष्ट भोगेका छन् ।
हिजोआज जीवन शर्मा घरदेश, परदेश घुमिरहन्छन् । गाउँका आमाबुवा, दाजुभाइहरू र बिदेसिएका नेपाली कामदारको अनुरोधमा उनी आफ्नो आवाज बोकेर पुग्छन् । गीतहरू उही छन्, लयहरू उही छन्, शब्दहरू उही छन्, तर समय बदलिएको छ । यो परिवर्तनशील समयसँगै जीवनका सैयौ सहपाठी, सहकर्मी र सहयोद्धाहरू पनि बदलिए । तर उनको सोच र विचारहरू भने बदलिएनन् । छालाको चप्पल लगाएर र धागोको झोला बोकेर उनले गरिबहरूको जीवनलाई ‘जीवन्तता’ प्रदान गरेका छन् ।
मानिस भन्छन्, ‘गीत र जीवनमा कुनै तालमेल छैन । केवल मनोरञ्जन मात्र छ ।’ तर जीवन शर्माका गीतहरू त जीवनजस्तै छन् । सिमली छायाँमा बसेर भरियाहरूले लामो सास तान्न छाडेका छैनन् ।
नबदलिएको भेषमा आजभन्दा १० वर्षअगाडि उनी जस्तो थिए, आज पनि उस्तै छन् । उनका जनवादी गीतको गाम्भीर्यता हिजोभन्दा आज झन् व्यापक बनेका छन् । सिमली छायाँमा बस्ने त्यो निमुखा भरिया दाइको टाउकोमा अझै पनि साहुको बडेमानको भारी छ । कतिपय मानिस भन्छन्, ‘गीत र जीवनमा कुनै तालमेल छैन । केवल मनोरञ्जन मात्र छ ।’ तर जीवन शर्माका गीतहरू त जीवनजस्तै छन् । सिमली छायाँमा बसेर भरियाहरूले लामो सास तान्न छाडेका छैनन् ।
सम्पत्तिको नाममा जीवन शर्मासँग केवल उनको जिउँदो जीवन मात्र सीमित छ । बाँकी छन्, यिनै गरिबका गीत, जुन गीतको सहारामा उनले आफ्नो परिवारको जीजिविषा चलाएका छन् । काठमाडौंको अनामनगरस्थित भाडाको कोठालाई मसिक ५ हजार रुपैयाँ जुटाइदिने उनको गीत छ । चार बालबच्चालाई पढाइदिने उनको गीत छ । साँझ-बिहान एकछाक जुटाइदिने उनको गीत छ । गोजी खर्चका लागि पनि त उनको गीत छ ।
‘कोरियामा काम गर्ने सोलुखुम्बुका मित्र उत्तम गुरुङले मैले बिर्सिसकेका मेरा आफ्नै गीतहरू पनि गाएर सुनाइदिए,’ केही महिनाअघि कोरियामा रहेका कामदारको निमन्त्रणामा त्यहाँ पुगेर फर्केका उनले निकै उत्साहित हुँदै भने, ‘यस्तै देश-विदेशमा रहेका संगीतप्रेमीले प्रोग्राममा बोलाएर मेरो गुजारा चलाइदिन्छन् । अरु मेरो केही पनि छैन । यी यस्तै गरिब दुःखीका गीत गाउँदागाउँदै जीवन ढल्किन आँट्यो ।’
धेरै मानिस उपकुलपति बने । कोही प्रज्ञा प्रतिष्ठानको सदस्य बने । सरकारको विभिन्न सेवा-सुविधा लिने पाउने थलोमा ती पुगे । तर, जीवन शर्मालाई भने यो राज्यले संस्कृतिकर्मीको जस्तो व्यवहार कहिल्यै गरेन, गुमनाम बनाउन खोज्यो । किनभने जीवन गरिब जनताको बलियो आवाज थिए । चेतनाको हिसाबले जनता बलियो हुनु भनेको पक्कै पनि अन्यायविरुद्ध बोल्न तम्सिनु हो । जीवन शर्माको गीत होइन, यो चेतना हो ।
राज्यका बागडोर सम्हालेका शासकले के ठान्दा हुन् भने, गायक बन्नका लागि नितम्ब र स्तनको गीत गाउनुपर्छ, गरिब जनताको गीत गाउनु भनेको सामाजिक अपराधजस्तै हो । हो, राज्य गरिबको गीतसँग डराउँछ, किनकि त्यो गीतमा केवल गीत मात्र हुँदैनन्, गाँस, बास र कपासको माग हुन्छन् ।
जीवन शर्माले आफ्नो सिंगो जीवनको कालखण्डभरि नै गरिब जनताले लगाउन, खान पाउनुपर्छ भन्ने गीत गाए । जनताको मन-मुटुमा बसेको सांस्कृतिककर्मीलाई यो राज्यले कहिल्यै सम्झने कोसिस गरेन, जब कि तरुनीका कथा लेख्नेहरू यो मुलुकको ठूलो प्राज्ञ बनेका छन्, विभिन्न संस्थानमा हाकिम बनेका छन् ।
जीवन शर्मालाई राज्यले चिनेको छ तर नचिनेजस्तो गरेको छ । देखेको छ तर नदेखेजस्तो गरेको छ । हुन त चाकडीबाज अनि भनसुनमा भन्दा कर्मको इमानदारितामा विश्वास गर्ने जीवन शर्मासँग तिनको तुलना हुनै सक्दैन । ‘राज्यको गुणात्मक स्वरुप फेरिएको छैन । राजनैतिक घटनाक्रम फेरिए पनि राज्य व्यवस्था मूलतः निमुखा जनताको पक्षमा छैन । यस्तो राज्यबाट मैले केही पनि अपेक्षा गरेको छैन,’ सचेत ढंगको गुनासो गर्दै उनी थप्छन्, ‘यी अचेत मानिसले सचेत चेतनाको भाका बुझ्दैनन् । मैले जनतालाई गीत सुनाउँदा यिनले बुझेनन् र त्यसबापत जेलनेल भोगेको छु । यदि बुझ्दा हुन् त गरिब जनताको जित भइसक्थ्यो र मेरो गीतको सान्दर्भिकता स्वतः हराउँथ्यो ।’
‘जनतालाई गीत सुनाउँदा सात वर्ष मुद्दा खेप्नुपर्यो,’ भावुक हुँदै जीवन भन्छन्, ‘हेर्नुस्, यो मुलुकमा जनताको पीडा समेटेर छुने गीत गाउन पाइँदैन, महाराजाहरूको भक्तिगान गर्नेहरू नै कलाकार हुन्, संस्कृतिकर्मी हुन्
हो, जीवन शर्माले जनतालाई गीत सुनाउँदा घरबारविहीन बनेका छन् । तरबार र दरबारको आडम्बरमा प्रस्तुत हुने शासकले जीवन शर्मासँगै उनको गीतलाई हत्या गर्न समेत खोजे । तर, तिनको केही सीप लागेन । उनी भूमिगत रहँदा समेत झन् चर्को आवाजमा गीत सुनाउन थाले । बीचमा बहुदल आयो । उनी आममानिस सरह बाहिर हिँडडुल गर्न सके । १६ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी अहिलेसम्म पनि थाकेका छैनन् ।
‘जनतालाई गीत सुनाउँदा सात वर्ष मुद्दा खेप्नुपर्यो,’ भावुक हुँदै जीवन भन्छन्, ‘हेर्नुस्, यो मुलुकमा जनताको पीडा समेटेर छुने गीत गाउन पाइँदैन, महाराजाहरूको भक्तिगान गर्नेहरू नै कलाकार हुन्, संस्कृतिकर्मी हुन् । म त केही पनि होइन यिनका लागि ।’ माओवादी युद्ध सुरुवात भएपछि राज्य पक्षबाट आफूले झन् तनाव र पीडाको दैनिकी भोग्नुपरेको उनको महसुस छ । ‘यो मुलुकमा गीत गाएबापत सबैभन्दा ठूलो सजाय कसैले भोगेको छ भने त्यो मबाहेक अरु कसैले भोगेको छैन, यो नै मलाई राज्यले गरेको उच्च सम्मान हो,’ उनको गहमा आँसुु छचल्कियो ।
सम्पूर्ण राज्यको वर्गीय र सांस्कृतिक चरित्र नफेरिएसम्म चाडकीबाजहरूको घेरा तोड्न नसकिने जीवन शर्माको बुझाइ छ । आफ्नो अंश बेचेर ०५८ सालमा निर्माण गरेको नेपाल सांस्कृतिक प्रतिष्ठानलाई प्रतिगामीले तहसनहस पारिदिएपछि जीवन शर्माको सिंगो सम्पत्ति डुब्यो । निराश हुँदै उनी भन्छन्, ‘त्यतिखेर मेरा सबै गीतलाई प्रतिबन्ध लगाइयो, क्यासेटहरू समेत जलाइयो । जुन दिन गरिब जनताले दुई छाक पेटभरि खान पाउलान्, त्यो दिन म पनि खाउँला । यहाँ एकजना भोको छैन, लाखौँ भोका छन् ।’
जीवन शर्माले आजका मितिसम्म पैसा र सुविधा पाइने पद माग्न सरकार नियन्त्रित प्रतिष्ठानहरूमा पुगेका छैनन् । जहाँ उनी दाबी गर्न सक्छन्, त्यहाँ पनि पुगेका छैनन् । कैयौँपटक कम्युनिस्ट पार्टीका नेता सरकारको बागडोर सम्हाल्न पुगे । तर, कहाँ छौ जीवन ? भनेर कसैले सोधेनन् । तर सर्वहारा वर्गको सम्मानमा जीवन शर्माको गीतको बोल उच्चरण गर्न पाउँदा ती भावुक हुन पनि कहिल्यै बिर्सेनन् । किनभने ती चटके थिए ।
नेपालको हरेक क्षेत्रमा अवसरवादी चरित्र हाबी छ । त्यो भनेको आफ्नो ‘स्टेप’मा नरहने, उपयोगवादी र ढुलमुलकारी जस्तो देखिन्छ । विभिन्न कालखण्डमा जीवन शर्माका आवाजलाई कम्युनिस्ट पार्टीले सदुपयोग गरे र फेरि अन्ततः उनको आवाजको आदर्शलाई फेरि दुरुपयोग गरे । जीवन शर्माका गीतले जनतालाई ब्युँझायो, झस्कायो । तर नेताहरू ब्युँझेनन्, झस्केनन् । गणतन्त्रसम्म आइपुग्दा पनि यसले गुणात्मक फड्को मार्न सकेन ।
नेताहरूको जीवनशैलीमा बदलाब आयो । आचरण र विचरणमा फेरबदल भयो । तर जीवन शर्मा भने बदलिएनन् । त्यसैले त उनी अझै पनि गाउँघर, देश-विदेशमा अझैसम्म पनि जनताको गीत गाइरहेका छन् । यति मात्र होइन उनी स्वयं सामान्य गरिब जनताको हैसियतमा बाँचेका छन् । अन्यथा अहिलेसम्म सायदै उनी गरिबको गीत गाउँथे होला । उनी कुनै जुवाघरमा लाखौँको ‘पब्लु’ खेलिरहेका हुन्थे ।
‘विदेशमा यति ठूलो क्रेज छ कि, जुनसुकै राजनैतिक दलमा आस्था राख्ने व्यक्ति किन नहोस् मलाई देखेपछि मेरो गीत गुनगुनाउन थालिहाल्छ । जब कि त्यो गीत दशकौँ पुरानो हुन्छ । झरनाको चोसो पानी भन्ने गीत अहिलेको नयाँ एल्बमको गीत होइन, दशकौँ पुरानो हो, तर मानिसहरू भुल्दैनन्,’ उनी भन्छन्, ‘अहिले बजारमा सुनिने गीतहरू बिक्न त बिकेका छन् तर लामो समय टिकेका छैनन् । तर मेरा गीतहरू जति पुराना हुन्छन्, त्यति नै झन् डिमान्ड भइराख्छ, किनभने त्यो गरिबको गीत हो ।’
पछिल्लो समय देशमा भइरहेको अप्रत्याशित राजनैतिक टकराबले जीवन शर्माको चित्त फाटेको छ । लामो समय अघोषित नाकाबन्दीका कारण जनताले भोग्नुपरेको सास्तीलाई उनले भारतको हस्तक्षेपकारी नीतिको रुपमा नै बुझेका छन् । ‘नेपाललाई ज्यादती र हेपाह प्रवृत्तिको रुपमा भारतले नाकाबन्दी गरेको हो,’ उनी थप्छन्, ‘नेपाललाई तत्काल सिक्किम बनाउन नसके पनि फिजीकरणको दिशामा लैजाने दिल्लीको दाउ छ ।’ उनले आफ्नो सांगीतिक जीवनमा थुप्रैपटक स्वाभिमानसँग जोडिएका गीत गाएर जनता जगाएको संस्मरण समेत गरे ।
उत्पीडित समुदायले जुन कोणबाट नयाँ संविधानमाथि हमला गरेका छन्, त्यसउपर पनि उनको दुखेसो छ । ‘हाम्रो तमाम समस्याको समाधान वर्गीय मुक्तिबाट मात्र सम्भव छ,’ नेपालका कम्युनिस्टहरूले आफ्नो स्वार्थ पूरा गर्नका निम्ति ‘जात’लाई उचालेका कारण श्रीलंकामा जस्तै पार्टी केवल जातहरूको झुन्डमा मात्र विभाजित बनेर आन्दोलन अन्ततः साम्प्रदायिक बनेको उदाहरण उनले पेस गरे ।
‘नेपालको कम्युनिस्ट आन्दोलनमा गलत तत्त्वको घुसपैठ हुँदा यहाँ दलाल, पुँजीपति वर्ग, सुकिलामुकिलाको पकड सजिलैसँग जमेको छ । इमानदारलाई जिउ जोगाउन मुस्किल परेको छ । कम्युनिस्ट पार्टीभित्र धेरै खाएर पेट दुखेका पनि छन् । खान नपाएका कारण पेट दुखेकाहरु पनि छन् । किनभने यहाँ अवसरवाद छ, नवसामन्तवाद छ । नातावाद र कृपावाद छ,’ उनले यी भनाइ एकै सासमा भने ।
डायरीमा ‘डिका’ लगाउँदै जाँदा अन्तिम प्रश्न पनि पहिलोजस्तै भयो ।
प्रतिक्रिया 4