+
+

मेरी श्रीमतीः मैले उनीभित्रको ‘कलाकार’लाई हत्या गरेँ

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १४ गते २०:०५

saroj khanal (1)

सरोज खनाल, अभिनेता

एकसुरले बैठककोठामा टेलिभिजन हेरिरहेको थिएँ, झ्याम्म अनुहारमा लाग्यो । यसो हेरेको जिन्सको हाफ पाइन्ट । अगाडि बाथरुमा उनी धरधरी रोइरहेकी थिइन् ।

‘के भो’ भन्दै उनीछेउ गएँ, जिउमा छुन पनि दिन्नन्, बोल्दा पनि बोल्दिनन् । एकछिनपछि हाफ पाइन्ट औँल्याउँदै भनिन्, ‘आफ्नै खल्तीमा हेर्नु न ।’

खल्ती छामेँ, कन्डोम पो छ ।

एकैपटक चारवटा फिल्मको सुटिङ परेको थियो । रगत चलचित्रको सुटिङ सकेर आँबुखैरनीबाट काठमाडौं आएको थिएँ । तीन महिनापछि उनलाई, छोराछोरीलाई भेटेको, सौहार्दपूर्ण कुराकानी भयो ।

भोलिपल्ट उनले मेरा कपडा धुँदै थिइन् । हाफ पाइन्टमा कन्डोम रैछ । म पनि ‘सक’ भएँ । कन्डोम कहाँबाट आयो भन्ने मलाई नै थाहा छैन । शंका लाग्यो, यो पक्कै पनि राजाराम पौडेलको काम हो, यस्ता बदमासी उहाँले खुब गर्ने । तत्कालै फोन गरेर भनेँ, ‘ए राजारामदाइ, के गर्या तपाईंले ? मेरो त डिभोर्स नै होलाजस्तो भयो, उनी रोइरहेकी छिन्, मेरो कुरै सुन्दिनन् ।’

मैले उनलाई दिएँ, ‘यो बदमासी गर्ने उहाँ नै हो, कुरा गर’ भनेर । फेरि राजारामदाइले आगोमा घिउ थप्नुभएछ, सरोजभाइ त खत्तम भइसक्यो, केटी नभई हुँदै हुँदैन भन्नुभएछ ।

त्यसपछि झन् के चाहियो ! मैले साथीहरूलाई गुहारेँ । हरिवंशदाइ, मदनकृष्णदाइले पनि सम्झाउनुभयो ।

अनि मात्रै राजारामदाइले गम्भीर रुपमा लिनुभयो । अहो, बहिनीले यति सिरियस्ली लिनुभो त भनेर उहाँ मकहाँ आउनुभो । सुन-तामा छोएर कसम खाएर भन्नुभयो, ‘यो सब मैले ठट्टा गरेको हुँ बैनी, पसलबाट किनेर उसको खल्तीमा हालिदिएको हुँ । तपाईंका श्रीमान पवित्र छन् । शंका नगर्नुस् ।’

यति हुनलाई पनि हप्ता, दश दिन लागेको थियो, योबीचमा हाम्रो बोलचाल नै भएन । उनको शंका स्वाभाविक पनि थियो, तीन महिनापछि डेरा आएको थिएँ, काम पनि उस्तै माया-प्रीतिको अभिनय गर्ने, नाच्ने ।

पहिलो पत्र पढ्दै नपढी फालिछन्

उनी खेलेका धेरै नाटक हेरेको थिएँ । त्यतिबेला रंगमञ्चमा सूर्यमाला शर्मा भनेपछि नामै चल्थ्यो, स्टेजकी क्विन नै थिइन् । अरु कलाकार पनि हुनुहुन्थ्यो, तर उनी अलि बढी नै व्यस्त थिइन् । नाटकमा उनी मलाई फिल्मको हिरोइन्भन्दा राम्री लाग्थ्यो । प्रतिभा, रुप, गुण सबै राम्रो लाग्थ्यो ।

आरोहण समूहमा आबद्ध थिइन् । आरोहणमा बद्रीदाइ, सुनील पोखरेल, चन्द्रमाला, सूर्यमाला, समन्त कंशाकार, प्रदीप श्रेष्ठ, खेम शर्मालगायत हुनुहुन्थ्यो ।

म कलाकारितामा लागेकै थिइनँ, ०४४ सालतिरको कुरा हो, मह जोडीको ‘विज्ञापन’ नाटक हेर्न गएको थिएँ । नाटक हेरिसकेपछि कागजमा अंग्रेजी गीतको एक लाइन लेखेर उनलाई दिएँ- आई लभ यु मोर देन आई क्यान से… ।

अफेयर चलिसकेपछि एक दिन मैले त्यो प्रसंग उठाएँ । उनले भनिन्, ‘त्यस्तो त कतिको आउँथ्यो, मैले हेर्दै हेरिन् ।’

पहिले दुत्कारिन्, पछि सिफारिस गरिन्

पछि म पनि आरोहणमा जोडिएँ । बद्री अधिकारीको निर्देशन रहेको ‘रहरै भो’ नाटकमा उनलाई मसँग खेल्न भनिएको थियो । तर, कुनै बहाना बनाएर अस्वीकार गरिन्, हिजो मात्रै आएको फुच्चेसँग खेल्दिनँ भन्ने उनको आसय थियो ।

आरोहणबाटै ‘चतुरेको दाउपेच’ नाटक गर्ने भयौँ । सुनील पोखरेल डाइरेक्टर हुनुहुन्थ्यो, म असिस्टेन्ट डाइरेक्टर । नाटक देखाउन दुई दिन बाँकी थियो, मुख्य भूमिकाका नरेन्द्र थापा ‘माया-प्रीति’ चलचित्रको सुटिङका लागि जानुपर्नेभो । भाग्यले भनौँ, त्यो भूमिका मैले पाएँ, पहिलोपटक उनको अपोजिटमा ।

उमेशनाथ अर्यालको ‘बन्धकमा परेको जीवन’ सिरियलमा सँगै अभिनय गर्यौँ । रमाइलो त, यो सिरियलका लागि अर्कै आर्टिस्ट सेलेक्ट भइसक्नुभएको थियो । तर, उनले उमेशनाथ अर्याललाई भनिछन्, ‘सरोजले पो राम्रो गर्छ ।’

त्यसअघि म सिरियल खेलेको थिइनँ, उनैले सिरियलमा ल्याइन् । एक एपिसोडको सिरियल सिर्जनाका आँखाहरू’मा पनि सँगै काम गर्यौँ । यसरी नै निकट भयौँ, एक-अर्कालाई बुझ्ने मौका पायौँ ।

saroj khanal_1
पारिवारिक पृष्ठभूमि

उनी काठमाडौं बालाजुकी हुन्, माइतीको धर्मस्थलीमा थुप्रै जग्गा छ, पेसा विशेषतः कृषि नै थियो ।

उनीहरू एक भाइ र पाँच बहिनी हुन्, उनी माहिली । एसएलसी पास गरेकी छिन् ।

मेरो पुख्र्यौली घर तनहुँ सिमपानी हो । मेरो हजुरबुवा रुढीवादी सोचको हुनुहुन्थ्यो रे, मेरो बुवालाई एसएलसीभन्दा माथि पढाउन मान्नुभएन छ । बुवाले पाँच सय रुपैयाँ चोरेर काठमाडौं आएर पढ्नुभयो, आर्मीमा हेल्थ असिस्टेन्टको जागिर खानुभयो ।

क्षेत्रपाटी डेरामा बस्दा बुवाको घरबेटीकी छोरी (मेरी आमा)सँग प्रेम भएछ । तर, मेरो मावली हजुरबुवाले पहाड नटेकाउने र कुनै पनि दुःख नदिने सर्तमा मात्रै बुवालाई छोरी दिनुभएछ । बुवा बिहे गरेर चितवन खैरनीमा जानुभयो, प्रशस्त जमिन किन्नुभयो । बुवाको तीन विवाह हो, मेरी आमा माहिली । हामी ६ बहिनी र पाँच भाइ हौँ ।

म काठमाडौंमा जन्मेँ । काठमाडौं र चितवनमा पढेँ । एसएलसी काठमाडौं पद्मोदय हाइस्कुलबाट गरेँ, ०३७ सालमा । अस्कलबाट आइएस्सी गरेँ ।

आइएस्सी पढ्दापढ्दै मैले डिल्लीबजारमा औषधि पसल सुरु गरेको थिएँ, मेरो सानो बुवाको औषधिको होलसेल थियो । प्रेस्क्रिप्सन पढेर औषधि बेच्ने कर्मचारी चाहियो भनेर मैले गोरखापत्रमा सूचना निकालेको थिएँ । त्यतिखेरैका चर्चित हास्यकलाकार खेम शर्माको निवेदन आयो, उहाँलाई नै छानेँ । मैले उहाँलाई त्यत्तिकै ठट्टा गरेर भनेको थिएँ, ‘मलाई पनि अभिनय गर्न रहर छ ।’ त्यसअघि कतै मैले अभिनय प्रतिभा देखाएको थिइनँ ।

खेम शर्मा आरोहण समूहमै हुनुहुन्थ्यो । उहाँकै माध्यमबाट मेरो भेट बद्री अधिकारीसँग भयो । अनि, आरोहणसँग जोडिएँ ।

पहिलो प्रस्ताव, फूल र चिठीहरू

फिल्म सुटिङका लागि उनी नारायणघाट जानुपर्ने भयो । महिला सदस्य बाहिर जाँदा आरोहणले साथी पठाउँथ्यो । भाग्यले भनौँ, उनको साथी जाने अवसर मैले नै पाएँ ।

रात्रि बसमा थियौँ, निदाएको बहानामा एक-दुईपटक उनको काँधमा टाउको पुर्याएँ र सोधेँ, ‘तपाईंको काँधमा टाउको अड्याउन सक्छु ?’ उनले टाउको हल्लाएर स्वीकृतिजस्तो दिइन् । मलाई भन्ने आँट आयो । त्यही रात कुरा हुँदा मैले मन पराउने र माया गर्ने कुरा भनेँ । तत्कालै कुनै जवाफ आएन ।

तीन-चार महिनापछि उनले सोधिन्, ‘तिम्रो प्रेम-प्रस्ताव साँचो हो ? तिमी यसमा सिरियस नै छौ ?’

मैले साँच्चीकै मन पराउने बताएपछि उनको सकारात्मक संकेत आयो ।

नाटक रिहर्सल, सिरियलको सुटिङमै भेट हुन्थ्यो, खुलेर कुरा गर्न पाइँदैनथ्यो । मनका कुरा चिठीमा भन्थ्यौं । एकपटक त उनले आफ्नो रगतले लेखेर चिठी पठाइन् । केही चिठी अहिले पनि हामीसँग सुरक्षित छन् । एकपटक मैले उनलाई फूल दिएको रहेछु, कहाँ दिएँ भन्ने याद छैन, तर त्यसलाई उनले अझै पनि सुरक्षित राखेकी छिन् ।

२० रुपैयाँमा बिहे

हामीले एक-अर्कालाई मन पराएको साथीहरूलाई पनि थाहा थियो । पहिलोपटक मेरो घरमा कुरा पुर्याएको सुनिल पोखरेलले हो । मसँग चितवन घुम्न गएका बेला उहाँले ठट्टाको रुपमा मेरो बुवाआमासँग सोध्नुभयो, ‘सरोजले फलानीलाई बिहे गर्यो भने के गर्नुहुन्छ ? घरमा पनि ठट्टाकै रुपमा लिइयो । बुवाआमालाई सूर्यमाला नाटकमा खेल्ने थाहा थियो, चितवनमा पनि नाटक जान्थ्यो ।

पछि मैले घरमा भनें, ‘फलानीलाई मन पराउँछु, उनीसँग बिहे गर्न सोचेको छु ।’ घरबाट अनुमति दिइएन, रंगमञ्चमा लागेकी केटी भनियो । उनको घरबाट पनि सकारात्मक कुरा आएन । दुवै रंगमञ्चमा भएपछि कसरी जीवन निर्वाह गर्लान् भन्ने ठानियो ।

हामी सुटुक्क बिहे गर्ने निर्णय पुग्यौँ ।

मैतीदेवी मन्दिरमा बिहे गर्यौँ, ०४५ सालको दशैँमा । बिहेमा सिन्दुर-पोते किन्दा २० रुपैयाँजति खर्च भएको थियो । पण्डितलाई कति दक्षिणा दिएँ भन्ने बिर्सें । उनलाई पनि ‘घरको गहना छाडेर सारी र चोलोमा आउनू’ भनेको थिएँ । बिहेमा कसैलाई बोलाएनौँ ।

मैतीदेवीमा एउटा फ्ल्याटमा बस्थ्यौँ, सुनिल पोखरेल पनि हुनुहुन्थ्यो, कोठा छुट्टाछुट्टै थियो । बिहेपछि त्यहीँको कोठामा बस्यौँ ।

आमाको रिस

बिहेको भोलिपल्ट चितवन गयौँ । सीधै घरमा लैजान सकिनँ, उनलाई नजिकै छिमेकीकहाँ छाडेर म एक्लै गएँ ।

आमा रुनुभयो, रंगकर्मीलाई बिहे गरेर छोरो बिगि्रयो भनेर । ‘म कुनै पनि हालतमा भित्र्याउँदिनँ, तँ पनि आउनुपर्दैन’ भन्नुभयो । बुवाले भने आधार दिनुभयो, ‘जे हुनु भइसक्यो, अब बुहारी भित्र्याउनुपर्छ । तेरी आमा त्यस्तै हो, एकछिन रिसाउँछे, दुई-चार घन्टा पख् ।’
आमाको मन न हो, केहीबेरमै फक्र्यो र उनलाई भित्र्याइयो ।

बिहेअघि घरबाटै चामल, घिउ-तेल, गेडागुडी ल्याउँथेँ, बिहेपछि ल्याइनँ । मेरो बिहेलाई लिएर घरमा अलि मनमुटाव भएकाले मैले नै घरको केही लैजान्नँ भनेको थिएँ ।

गहिरो प्रेममा परेरै बिहे गरौँ, भविष्य के होला भन्ने सोचिएन । दुवै नाटक, टेलिफिल्म खेलिन्थ्यो, एक एपिसोड खेलेको पाँच सय रुपैयाँ आउँथ्यो, गुजारा चल्थ्यो ।

दुई छोरा जन्मिए, जेठो ०४६ मा र कान्छो ०४८ मा । परिवारले बिस्तारै स्विकार्न थालेको थियो । उनी सुत्केरी हुँदाका लागि भनेर मसिनो चामल, घिउ लिन मलाई आमाले चितवन बोलाउनुभयो । म घर गएका बेला यता जेठो छोरो जन्मियो । उनका दिदीबहिनीले हेरचाह गरे ।

उनका मावली नेवार हुन् । बिहे भएको ६ महिनापछि नै उनका मावली, माइतीले स्विकारेका थिए । उनकै हेरचाहका लागि भनेर केही महिनाअघि चितवनबाट एकजना सहयोगी ल्याएको थिएँ । कान्छो डेरामै सामान्य रुपमा जन्मियो । कान्छो जन्मँदा उनको ख्याल गर्न चितवनबाट मेरी आमा आउनुभएको थियो ।

मैले ‘तपाईं’, उनले ‘तिमी’
saroj khanal_400
आफूभन्दा सिनियर भएकाले बिहेअघि मैले उनलाई ‘तपाईं’ भनेर सम्बोधन गर्थें, उनले ‘तिमी’ भन्थिन् ।

उमेरले पनि उनी मभन्दा तीन महिनाजति जेठी छन् । बिहेपछि मैले उनलाई ‘तिमी’ नै भन भनेको थिएँ, तर ठूलाबडाको अगाडि बोल्दा श्रीमतीले श्रीमानलाई सम्मान गर्नुपर्ने नेपाली संस्कृतिले दिएन भनौँ । बिहेपछि रमाइलो भयो- मलाई ‘तिमी’ भन्ने बानी पार्न गाह्रो भयो, उनलाई ‘तपाईं’ भन्न । ६ महिनाभन्दा बढी यो समस्या भयो ।

उनी आएको छोटो समयमै स्टार भएँ

बिहेपछि पनि खासै दुःख भएन । मेरो त भाग्य नै बदलिएजस्तो भयो । भटाभट काम पाउन थालेँ ।

०४६ सालमा चलचित्र विजय-पराजयमा अभिनय गरेँ, यसमा सिनियर कलाकारहरू हुनुहुन्थ्यो- भुवन केसीदाइ, कृष्ण मल्ललगायत । त्यसपछि चोटमा मुख्य भूमिका पाएँ ।

हामी दम्पतीले नाटक र टेलिफिल्म सँगै गर्यौँ । तर, फिल्ममा सँगै भएनौँ ।

०५४ सालमा म अमेरिका गएँ । यो आठ वर्षको बीचमा मैले ३२ वटा नाटकमा अभिनय गरेँ, १५-१६ वटा भिडियो फिल्म गरेँ । २५-२६ वटा कुनै लामो सिरियल, कुनै एक एपिसोडका सिरियलमा खेलेँ । ठूला फिल्म ३२ वटा खेलेँ । त्यतिबेला अधिकतम फिल्म मेरै भागमा पर्थे । पाँचवटा बेस्ट आर्टिस्ट अवार्ड पाएँ । कम उमेरमा गोरखा दक्षिण बाहु पाउने कलाकार मैँ हुँला, ०५० सालमा पाएको हुँ ।

कलाकारितामा उनी मेरी गुरु हुन्

उनीभन्दा म जुनियर कलाकार हुँ । उनले मलाई राम्रो सुझाव दिन्थिन् । हरेक फिल्मका स्क्रिप्ट मैले उनलाई पढ्न दिन्थेँ । आफूले खेलेका फिल्मको पि्रमियर सोमा उनलाई लैजान्थेँ । कस्तो भयो, कहाँ सुधार गर्नुपर्छ भनेर उनीसँग सोध्थेँ । मैले त्यो छोटो समयमा जति सफलता पाएँ, त्यसमा पूर्ण रुपमा उनको हात छ ।

जतिबेला म नेपालमा चर्चित कलाकार थिएँ, तीन महिनासम्म सुटिङमा हुन्थेँ, त्यस्तो बेला उनले अनेक शंका-उपशंका गर्न सक्थिन् । विराटनगर, नारायणघाट विभिन्न ठाउँमा सुटिङ पथ्र्यो । काम पनि त्यस्तै, हिरोइनसँग घुमिरहने, नाच्ने, माया-प्रेमको अभिनय गर्ने । त्यस्तो बेला परिवारलाई समय दिएन भन्न सक्थिन् । तर, उनी पनि कला क्षेत्रकै भएकीले बुझिन्, मलाई साथ दिइन् ।

उनी मेरो जीवनमा नआएको भए, म कलाकार भनेर चिनिने थिइनँ । उनी मात्रै होइन, अरु पनि सुरुमा मसँग अभिनय गर्न हच्किएका थिए । पछि यस्तो अवस्था आइदियो कि, उनीहरू नै मसँग एक्टिङ गर्न रहर गर्नुपर्ने भयो । कति डाइरेक्टरले मलाई लिन नाक खुम्च्याउनुहुन्थ्यो, पछि उहाँहरूले मलाई लिन दुई-तीन महिना पर्खनुभयो । मलाई त्यो अवस्थामा ल्याउन सूर्यमालाको ठूलो हात छ ।

मैले अभिनयको गुरु बद्री अधिकारी, सुनील पोखरेललाई मान्छु । तर, वास्तवमै मेरो गुरु मेरी श्रीमती हुन् । किनभने, उनले जति सही मूल्यांकन मलाई अरुले गर्दैनन् । अरुले सम्बन्ध राम्रो राख्न पनि मेरा कमी-कमजोरी नबताउन सक्छन् । तर, उनले मेरो साँचो मूल्यांकन गर्थिन्, गर्छिन् । यसले गर्दा मैले आफूलाई सुधार गर्ने मौका धेरै पाएँ । कलामा मेरो आवाज उनलाई मन पर्दैन ।

अमेरिकामा

जसरी म कलाकार भएँ, त्यसरी नै अमेरिका गएँ । अमेरिका यात्रा मेरो एक किसिमको दुर्घटना नै हो ।

सांस्कृतिक कार्यक्रमका लागि गएको थिएँ । १८-१९ वटा स्टेटमा कार्यक्रम थियो । भर्जिनियामा मसँगै कलेज पढ्ने साथी थुप्रै थिए । एकजना वकिल साथी राजेश चालिसेले भने, ‘तिमीहरूजस्तो सेलिब्रेटीले सजिलै गि्रनकार्ड पाउने प्रावधान छ ।’

मैले अप्लाई गरेँ । अमेरिका बसाइ तीन महिनाको थियो, यहीबीचमै गि्रनकार्ड पाएँ ।

सुरुमा सेभेन-इलाभेन भन्ने डिपार्टमेन्टल स्टोरमा सेल्स म्यानको काम गरेँ, त्यसपछि बेकरी फ्याक्ट्रीमा ।

बस्दाबस्दै अमेरिका मन पर्न थाल्यो । सुरुमै उनको र बच्चाको नाम हालेको थिएँ । एक वर्षपछि उनलाई बोलाएँ ।

त्यसपछि फास्टफुड कम्पनी विन्डिजमा एसिस्टेन्ट म्यानेजरको काम गरेँ । एक वर्षमै फुल म्यानेजरमा प्रमोसन भएँ, ६ महिनापछि जर्नल म्यानेजर भएँ । नेपाल नफर्कुन्जेल त्यही कम्पनीमा काम गरेँ ।

उनले सुरुमा सेल्स म्यानको काम गरिन् । पछि पोस्ट अफिसमा काम गरिन्, त्यो सरकारी जागिर थियो । हामी १७ वर्ष अमेरिका बस्यौँ, उनले सात वर्षजति मात्रै काम गरिन् र बढीजसो नेपाल आउजाउ गरिन् ।

वर्षमा एक दिन खुट्टा ढोग्छिन्

दशैँको टीकाको दिन उनले मेरो खुट्टा ढोग्छिन्, । मलाई उनले खुट्टा ढोगेको मन पर्दैन । तर, उनले वर्षमा एक दिन ढोग्न देऊ भन्छिन् । यो दिन हाम्रो म्यारिज एनिभर्सरी पनि पर्छ । अर्को कुरा हामी हिन्दू हौँ, दशैँ हाम्रो महान् चाड, ठूलाबडाको खुट्टा ढोगेर आशीर्वाद लिने चलन छ । उमेरले, कलाले उनी जेठी भए पनि, नेपाली संस्कृतिअनुसार नाताले म जेठो भइदिएँ । त्यसैले यो एक दिन उनले खुट्टा ढोग्न जोड गर्छिन् । सुनिल पोखरेल मेरो गुरु हो, तर नाताले मेरो साढुभाइ पर्नुभो, दशैँमा टीका थाप्न आउनुहुन्छ ।

saroj khanal

मैले उनको ख्याल गर्न नजान्दो रैछु

सुरु-सुरुमा त माया नै माया भयो । त्यसपछि म फिल्ममा व्यस्त हुन थालेँ । झगडा गर्ने पनि फुर्सद भएन भनौँ ।

पछिल्ला वर्ष सोसल मिडियामा अन्य नारीसँग पनि कुराकानी हुन्छ । अरुले हाई-हेल्लो गर्दा, फोन गर्दा बोल्नैपर्यो । नबोल्दा पनि ठूलो पल्टियो भन्ने डर हुन्छ । कुरा गर्दा फेरि यता उनको गुनासो रहँदो रैछ । यद्यपि मेरो पासवर्ड उनैसँग छ ।

हातै उठाउने गरी अहिलेसम्म हाम्रो झगडा भएको छैन, यसो धकेलाधकेल हुने स्थिति आउलाजस्तो भएपछि म पछि हट्छु ।

मेरो एउटा कमजोरी छ, उनलाई कियर गर्न जान्दिनँ, कियर गरोस् भन्ने उनको चाहना हुँदोरहेछ । मैले सोच्थें, आफ्नी श्रीमतीलाई पनि स-सानो कुरामा केयर गर्नुपर्छ र ! वास्तवमा श्रीमतीलाई सानो कुरामा ध्यान दिनुपर्दो रहेछ ।

१७ वर्ष अमेरिका बसेँ, हाम्रो घरदेखि २०/२५ मिनेट दूरीमा ह्वाइट हाउस छ । नेपालबाट जाने धेरै आर्टिस्ट मेरो घरमा बस्नुभएको छ । धेरैलाई ह्वाइट हाउस घुमाएको छु, तर उनलाई १६ वर्षसम्म लगिनछु, यतातिर मेरो ध्यानै गएनछ । घरमा पाहुना भएपछि उनले खाना बनाउन ध्यान दिन्थिन् । अन्तिमपटक गायक राजेशपायल राई जानुभएको थियो । उहाँलाई ह्वाइट हाउस घुमाउन लैजाँदा उनलाई पनि लिएर गएँ । त्यहीबेला उनले भनिन्, ‘कति धेरै साथीहरूलाई तपाईंले ह्वाइट हाउस देखाउन ल्याउनुभयो । मलाई ल्याउन आज मात्रै तपाईंलाई फुर्सद भयो ।’

उनले यसो भनेपछि मात्रै मलाई भित्रभित्रै पश्चाताप लाग्यो, महसुस भयो- वास्तवमा श्रीमानले श्रीमतीको स-सानो चाहनालाई ख्याल गर्नुपर्दोरहेछ ।

उनीभित्रको ‘कलाकार’को हत्या गरेँ

कलाकारका साथै म अभिभावक पनि हुँ । छोराहरूलाई अमेरिका नलैजानु थियो, लगिसकेपछि उनीहरूलाई आफ्नो खुट्टामा उभिने बनाउनु मेरो कर्तव्य थियो ।

जुन दिन छोराहरूले ‘अब हामीहरू आफैँ गर्न सक्छौँ, तपाईंहरू र्फकनुहुन्छ भने दुवै र्फकनुस्’ भने, हामी फर्कियौँ ।

मैले अमेरिकामा नाटक गर्थें । मैले उनलाई पनि स्टेजमा उतार्न खोजेँ, तर उनले मन गरिनन् । धेरैपछि उनले भनिन्, ‘नेपालमा त्यस्तो वाहवाही छोडेर आएँ, यो पराई भूमिमा के गर्नु ?’ अमेरिकामा हाम्रो दुईटा घर छ, एउटा भाडामा लगाएका छौँ, एउटामा छोराहरू बस्छन् । जेठो छोरो युएस आर्मी छ, कान्छोले पढ्दै छ ।

जुन दिनदेखि त्यहाँ बस्ने निर्णय गरियो, र्फकनुपर्छ भन्ने मनमा त थियो । कलाकारितालाई नै निरन्तरता दिन फर्केको हुँ ।

अमेरिका म आफ्नो इच्छाले गएको हुँ र आफूभित्रको कलाकारलाई मैले हत्या गरेको हुँ । उनी पनि स्थापित कलाकार थिइन् । तर, मैले उनलाई अमेरिका बोलाउने बेला यो सोधिनँ- तिमीलाई म अमेरिका बोलाउँदै छु, अमेरिका आएपछि तिमीले कलाकारिता करिअरलाई त्याग्नुपर्छ, के गछ्र्यौ ?

धेरैपछि मलाई यो महसुस भयो, मैले ऊभित्रको कलाकारको हत्या गरेँ । जुन दिन मैले उनीसँग यो कन्फेस गरेँ, उनी रोइन्, म भावुक भएँ ।

सम्पत्ति उनकै नाममा

म पहिलेदेखि नै डेरामा बसेको भएकाले मलाई खाना बनाउन आउँथ्यो । तर, उनलाई आउँदैनथ्यो । मैले नै उनलाई खाना पकाउन सिकाएँ । सुरु-सुरुमा मैले खाना बनाउँथेँ, उनले भाँडा माझ्थिन् । पछि उनले मैलेभन्दा मीठो पकाउन थालिन् । अमेरिका गइसकेपछि उनले पकाउने, मैले मेसिनमा भाँडा सफा गर्ने गरेँ ।

अमेरिकामा सहयोगी राख्न पाइँदैन । त्यसैले अमेरिकामा मैले उनका कपडा सफा गरिदिएँ ।
अमेरिकाबाट फर्केर बालुवाटारमा घर बनाएका छौँ । घर उनैको नाममा छ । चितवनको पुख्र्यौली सम्पत्ति पनि उनैको नाममा गरिदिएको छु ।

प्रस्तुतिः ध्रुवसत्य परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?