नेपाली क्रिकेट टीमका प्रमुख ब्याट्सम्यान हुन् शरद भेषावकर । मध्यक्रममा ब्याटिङ गर्ने उनी परिस्थिति अनुसार आफूलाई ढालेर ब्याटिङ गर्न माहिर छन् ।
उमेर समूहको क्रिकेटबाट उदाएका भेषावकरले सन् २००४ मा आयोजित इन्टरकन्टिनेन्टल कपबाट राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । त्यसयता अपवादलाई छोडेर उनी निरन्तर राष्ट्रिय टोलीका सदस्य छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियासँगको आसन्न म्याचको पूर्वसन्ध्यामा भेषावकरले आफ्नो क्रिकेट करिअर र नेपाली क्रिकेटको विषयमा यसरी वर्णन गरेः
म यूएईमा जन्मिएँ तर, मेरो क्रिकेट करियरको सुरुवात नेपालबाटै भएको हो । हुन त त्यसबेला अहिले जस्तो क्रिकेट क्रेज थिएन । मेरो परिवारमा मभन्दा पहिला कोही पनि क्रिकेटसँग जोडिएका थिएनन् । सन् १९९६ को विश्वकप हेरेपछि हो जस्तो लाग्छ, ममा क्रिकेट मोहले उग्ररुप लिएको । त्यो विश्वकपमा, तेन्दुलकरको ब्याटिङ अहिले पनि थोरबहुत सम्झिन्छु ।
बाल्यकालमा हामी जंगलतिर गएर खेल्थ्यौं । हाम्रो क्रिकेट ग्राउण्ड भनेको पशुपति नजिकैको भण्डारखालको जंगल थियो । सिफल चौरमा पनि खेल्थ्यौं । टोल र स्कुलका साथीहरुसँग क्रिकेट खेल्दा दिन बितेको पत्तै हुन्थेन । त्यतिबेला हामीलाई कतै गएर राम्ररी सिक्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । त्यहीबेला रातोपुलमा एभरेष्ट क्रिकेट एकेडेमी स्थापना भयो । यो नेपालकै पहिलो क्रिकेट एकेडेमी थियो र नेपालको पहिलो राष्ट्रिय प्रशिक्षक अरुण अर्याल प्रशिक्षक हुनुहुन्थ्यो । यो १९९७ तिरको कुरा हो ।
नेपाल टिमबाट खेल्छु भन्ने मेरो सपना थियो । तर, एकदम व्यग्र भएकाले छनोट खेलहरुमा भने जहिले पनि असफल भएँ ।
एकेडेमी ज्वाइन गरेपछि मैले त्यहाँ लगातार ५/६ वर्षसम्म हरेक दिन विहान र बेलुका गएर खेल्न थालेँ । मेरो स्कुल ९ः३० बजेबाट थियो । म विहान ६ बजे नै एकेडेमी पुगिसक्थेँ । मलाई सजिलो यसकारण पनि भयो कि स्कुल (हिमालय विद्यालय मन्दिर) र एकेडेमी नजिकै थियो ।
मलाई क्रिकेट खेल्न परिवारबाट अवरोध भएन । म पढाइमा औसत विद्यार्थी मात्र थिएँ । तर, क्रिकेटमा एकदम ‘प्यासनेट’ थिएँ । मैले एकेडेमी ज्वाइन गरेको पहिलो वर्ष नै यू-१९ को छनोट थियो । त्यसबेला म १२/१३ वर्षको थिएँ होला । भाग्यबस म यू-१९ को काठमाडौं टिममा छनोट भएँ । एक-दुईपटक पत्रिका नाम पनि आयो, यसले बुबाआमालाई खुसी मिल्यो होला । तर, मेरो थर भने सँधै गल्ती लेखिन्थ्यो, अहिले पनि हुन्छ ।
राष्ट्रिय टीममा पर्दा
नेपाल टिमबाट खेल्छु भन्ने मेरो सपना थियो । एकेडेमीमा नेपाल टिमका दाइहरु कलाम अली, विनोद दास आउनुहुन्थ्यो । उहाँहरुलाई हेरेर पनि यस्तो हुन पाए हुन्थ्यो भन्ने इनर्जी आउँथ्यो । तर, एकदम व्यग्र भएकाले छनोट खेलहरुमा भने जहिले पनि असफल भएँ । त्यसबेला टुँडिखेलमा पनि धेरै प्रतियोगिता भइरहन्थे । उपत्यका बाहिरबाट पनि खेलाडीहरु आइरहन्थे । सिनियर दाइहरुको खेल हेर्न धेरैपटक स्कुल बङ्क हानेर गएको छु ।
अन्ततः यू-१५ मा छनोट भएँ । त्यो बेलामा म सानै थिएँँ । बच्चामा जे पनि चाँडै खोजिन्छ । त्यसैले लगातार ५/६ वर्ष एकेडेमीमा जाँदा पनि टिममा नपर्दा अलिअलि निराशा आएको थियो । तर, ढिलै पाए पनि मौका पाएँ । त्यो संघर्षले धेरै कुरा सिकायो । २००४ मा मैले सिनियर टिममा डेब्यू गरेँ । मैले डेब्यू खेलमा नै यूएईविरुद्ध ५० रन बनाएको थिएँ । त्यसपछि धेरै संघर्ष गर्नु परेको छैन ।
शतकको मौका कम
मैले आफ्नो स्टाइलमा खेल खेल्नेभन्दा टिमको आवश्यकता के छ, त्यस अनुसार खेल्ने प्रयास गरेँ । मैले कहिल्यै ५०/१०० हान्छु, खतरा खेल्छु भन्ने सोचिँन । त्यो सिचुएसनमा टिमलाई के चाहिएको छ भन्ने हेर्छु ।
अहिले पनि त्यही हो । २० बलमा ५० हान्छु वा आज १०० हानेर मात्र घर फर्किन्छु भनेर सोच्दिनँ । अहिले पनि नेपालले जित्दा सानो होस् वा ठूलो योगदान गर्न पाए खुसी हुन्छु । सुरुको ६/७ वर्ष टप अर्डरमा खेलेँ । त्यो बेलामा लामो इनिङ खेल्नु पर्ने जिम्मेवारी हुन्थ्यो । अहिले मिडिल अडर ५/६ नम्बरमा खेल्दा धेरै रन देखिँदैन । ५०, १०० हान्ने धेरै मौका नै मिल्दैन किनकी थोरै ओभर खेल्न पाइन्छ । तर, टिमको विनिङ पार्टमा योगदान गर्न पाउँदा खुसी लाग्छ ।
जीवनकै ठूलो इनिङ
पुवुदु (दशानायके) सर आएपछि सन् २०१० देखि ०१३ सम्म एउटा गोल्डेन पिरियड थियो । हामीले एकपछि अर्को प्रतियोगितामा जितिरहेका थियौं । नेपालले पहिलो पटक टी-२० विश्पकप खेल्यो । त्यो स्टेजमा गएर आफ्नो राष्ट्रिय धुन बज्दाको क्षण जीवनभर हामीसँग रहिरहन्छ ।अरु बिर्सन सकिन्छ तर, त्यस्तो क्षण कहिल्यै विर्सन सकिन्नँ ।
नेपाल पहिलो पटक टी-२० विश्वकपमा छनोट भएको थियो । केन्याविरुद्ध निर्णायक खेलमा नेपाललाई अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा ३ छक्का हान्न सफल भएँ । यूएईमा भएको उक्त खेलमा गरेको प्रदर्शनलाई लिएर धेरै प्रशंशा पाएँ । किन मानिसहरुले यति धेरै प्रशंशा गरेका हुन् भन्ने पनि लाग्थ्यो । अंकमा हेर्ने हो भने मेरो योगदान धेरै ठूलो होइन । तर, दबाबमा रहेको बेला मैले सानो कन्टि्रब्यूसनबाट पनि टिमलाई जिताउन सकेँ ।
त्यसैले यसलाई अहिलेसम्मकै ठूलो इनिङका रुपमा लिएको छु । मलाई लाग्छ मैले मेरो परिवारलाई सबैभन्दा खुसी दिन सकेको पनि विश्वकप छनोट हुँदा नै हो । हामीले सिंगो नेपाललाई नै खुसी बनायौं जस्तो लाग्छ । मैले फिल्डबाटै ममीलाई कल गरेको थिएँ । त्यो बेलामा धेरै कुरा याद पनि छैन । विश्वास नै लागेको थिएन ।
उतारचढाव अवश्यमभावी छ
यू-१९ विश्वकप अगाडि स्कटल्याण्डसँग अभ्यास खेलमा ठूलो झगडा पर्यो । मलाई यस्तो रिस उठेको थियो कि ब्याटले नै हान्न लागेको थिएँ ।
पछिल्लो छनोट प्रतियोगितामा मैले त्यो र्फमलाई निरन्तरता दिन सकिनँ । हामीले अहिले टीभीमा विश्वकप हेर्नु परेको छ । दुःख लाग्छ तर, हामीले स्वीकार गर्नुपर्छ । एउटा स्पोट्र्सम्यानले आफूले चाहेको जस्तो खेल हरेक दिन देखाउन सक्दैन । जति तयारी गर्नुस्, उतार-चढाव आउँछ, आउँछ ।
अर्को कुरा, एउटा उचाईमा पुगेपछि त्यहीँ टिकिरहनु गाह्रो छ । क्रिकेटको इतिहास हेर्ने हो भने जस्तो सुकै ठूलो टिम होस, खराब समयबाट गुज्रेकै हुन्छ । त्यसैले हामीले गर्न सक्ने भनेको ग्राउण्डमा गएर १०० प्रतिशत दिनु हो । रिजल्ट कहिलेकाँही आफ्नो पक्षमा नआउन पनि सक्छ ।
झण्डै ब्याटले हानिँन
मैदानमा बेलाबेला खेलाडीहरुको आक्रामक रुप देखिन्छ । सुरुसुरुमा मलाई पनि खुब रिस उठ्थ्यो । विपक्षी टीमले केही भन्यो भने ‘पख् तलाई देखाउँछु’ भन्ने हुन्छ । मलाई अहिले पनि याद छ, सन् २००६ को यू-१९ विश्वकप अगाडि अभ्यास खेल स्कटल्याण्डसँग थियो । त्यो अभ्यास खेल भए पनि अफिसियल नै थियो । त्यसमा ठूलो झगडा पर्यो ।
उनीहरु सुरुदेखि नै गालीगलौजमा उत्रिएपछि होल टिमकै झगडा भयो । मलाई यस्तो रिस उठेको थियो कि ब्याटले नै हान्न लागेको थिएँ तर, एम्पायरले रोके । युवा हुँदा तातो रगत पनि हुँदोरहेछ । तर, अहिले ‘नियन्त्रित आक्रामकता’ हुनुपर्छ जस्तो लाग्छ । क्रिकेट ‘टच गेम’ होइन, धेरै एग्रेसिभ भएर काम छैन । म चाहिँ शान्त अवस्था नै मन पराउछु । मुख्य प्रदर्शन नै हो, खेल हार्यो भने गाली दिँदैमा केही हुने होइन ।
अन्ततः राज्यले कदर गर्यो
क्रिकेट मैदानमा गएपछि नागरिकताको विषयले कहिले पनि फरक परेन । तर, बाहिर पर्थ्यो । एउटा सिमकार्ड किन्न पनि नागरिकता चाहिन्थ्यो । त्यो बेलामा म राष्ट्रिय खेलाडी भनेर केही फरक पर्नेबाला थिएन । किनकी नियम सबैलाई एउटै हो । त्यस्तो बेलामा दुःख लाग्थ्यो । सुरुको ३/४ वर्ष त यत्रो योगदान गरेको छु, तर देशले कदर गर्दो रहेनछ भन्ने लाथ्यो ।
तर, पछि ‘कहिलेसम्म खेल्न पाइन्छ खेलौं, पछि आफैं सरकारले विचार गर्ला नि’ भन्ने लाग्यो । र, पछि गर्यो पनि । र, आमाको नामबाट नागरिकता पाएँ ।
अहिले २८ वर्षको भएँ । अहिलेसम्मको यात्रा हेर्दा म आफूलाई भाग्यमानी नै ठान्छु । अब कति खेल्छु भन्न चाहिँ गाह्रो छ । तर, अझै धेरै दिन सक्छु जस्तो लाग्छ । खेल्दै जाउँ, मुख्य कुरा फिट हुनु हो । अहिलेसम्म फिट नै छु जस्तो लाग्छ । तर, कुनै दिन मैले पनि ठाउँ खाली गर्नुपर्ने अवस्था आउनेछ । म भन्दा राम्रो आएर मलाई रिप्लेस गर्छ भने म एकदमै खुसी हुन्छु, किनकी टीम राम्रो बन्नु ठूलो कुरा हो ।
भारतीय क्रिकेट कप्तान महेन्द सिंह धोनीलाई आफ्नोे रोल मोडल मान्छु । मैले आफूलाई धोनीसँग आफ्नो तुलना गर्न खोजेको होइन । तर, उसलाई फलो गर्छु । जस्तो दबाब पनि ह्याण्डल गर्न सक्ने उनको क्षमताबाट प्रभावित छु । जस्तो सुकै दबाबमा आफू शान्त भयो भने प्रदर्शन गर्न सकिन्छ जस्तो लाग्छ ।
क्रिकेटमा जे पनि हुनसक्छ
धेरै समयदेखि खेलिरहेको म, पारस, ज्ञानेन्द्र, सुवास र शक्ति दाई हो । उनीहरु क्रिजमा आए भने धेरै गफ गर्नु पर्छ जस्तो लाग्दैन । उनीहरुको गेम मैले बुझेको छु र मेरो गेम उनीहरुले बुझेका छन् । उनीहरुसँग पार्टनरसीप गर्न सजिलो हुन्छ ।
बाहिर गएर धेरै खेल्यौं तर, यहाँ खेल्नु जस्तो मजा कहीँ लाग्दैन । समर्थकले यहाँको वातावरण नै अर्को हुन्छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हामीले सुरुवाति चार खेल हारेका छौं । तर, बाँकी खेलहरु जित्न सक्यौं भने टप ४ मा पर्ने सम्भावना कायमै छ । अरुको नजरमा के होला थाहा छैन, तर मेरो नजरमा सबै टिम उस्तै हुन् । विपक्षी बलियो छ भनेर खेल्ने हो भने पहिल्यै हारिन्छ । त्यसैले आफ्नो क्षमता अनुसार खेल्यौं भने र जित्न सक्छौं ।
नेपाली टोली अहिले फिटनेसमा केन्द्रीत छ । यू-१९ टिममा राम्रो प्रदर्शन गरेका खेलाडीहरु पनि छन् । कस्तो टिम छनोट हुन्छ मलाई थाहा छैन । तर, सिनियर र जुनियरको राम्रो टिम बन्छ जस्तो लाग्छ । यू-१९ टिम लगातार एक वर्ष राम्रो अभ्यासमा रहेको र टेष्ट राष्ट्रहरुसँग समेत खेलेर आएकाले खारिएका छन् ।
मलाई क्रिकेट एकदम ‘फन्नी गेम’ लाग्छ । हालै टी-२० विश्वकपमा भारत र बंगलादेशको खेल हेर्ने हो भने बंगलादेशले जितिसकेको थियो, तर अन्तिम तीन बलमा टोटल्ली चेन्ज भयो । त्यसैले पूर्वानुमान गर्नै सकिन्न । नेपालको हकमा ११ जनाकै राम्रो प्रदर्शन जरुरी छ । पछिल्ला म्याचमा हामी अलिकति फिनिसिङमा कमजोर भयौं । डिफेन्ड गर्न सकेनौं र १०/१५ रन कम पनि भयो र सायद फिल्डमा केही मौका गुमायौं । यसले नजिता हाम्रो पक्षमा आउन सकेन ।
ब्याटिङको कुरा गर्ने हो भने हाम्रो टिममा स्थिरता पुगेको छैन । तर, त्यसका पछाडि धेरै कारणहरु छन् । हामी कहाँ म्याच एक्सपोजरको कमीले किन ब्याट्सम्यानको खडेरी छ । पिचको अवस्थाले पनि फरक पर्छ । किनकी हामी जस्तो ठाउँमा अभ्यास गर्छौं, यो ब्याट्सम्यानका लागि उपयुक्त होइन जस्तो लाग्छ । बलरले जस्तो ब्याट्सम्यानले पटक-पटक मौका पनि पाउँदैन । यहाँ ठूलो स्कोर बनेको छैन । लोकल खेलमा पनि कम स्कोर बनेको छ ।
भारतको टिमलाई स्पिनको माहिर भनिन्छ, तर उनीहरु त स्लो विकेटमा संघर्ष गरेर हारिरहेका हुन्छन् । हामी त बच्चादेखि नै यस्तो पिचमा खेल्ने भएकाले हिटिङ पावर नभएको जस्तो लाग्छ । जब पिच स्लो हुन्छ, ब्याट्सम्यानलाई हान्न गाह्रो हुन्छ ।
नेपालमा खेल्नुको मजा
झण्डै साढे २ वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय म्याच खेल्दैछौं । बाहिर गएर धेरै खेल्यौं तर, यहाँ खेल्नु जस्तो मजा कहीँ लाग्दैन । समर्थकले यहाँको वातावरण नै अर्को हुन्छ ।
प्रदर्शन गर्न नसक्दा दबाव त हुन्छ नै तर, त्योभन्दा रमाइलो बढी हुन्छ । यहाँ खेल्न जस्तो रमाइलो त कहीँ हुँदैन । यहाँ हाम्रो रेकर्ड पनि राम्रो छ र, होम कन्डिसन भएकाले जित्ने सम्भावना पनि धेरै हुन्छ । २०१० को डिभिजन ५ को जित अहिले पनि मलाई याद छ । मैले सिनियर टिमका लागि हानेको पहिलो शतक पनि त्यही हो ।
प्रतिक्रिया 4