नविन अर्याल
१ वैशाख, पोखरा । बहुप्रतिक्षित पोखरा अन्तराष्ट्रिय विमानस्थलको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी ओलीले दिउँसो ११ बजे भव्य समारोहबीच विमानस्थल शिलान्यास गर्दैछन् ।
विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि निर्माण कार्य सुरु गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा प्रमुख दलका शीर्षस्थ नेताहरु, मन्त्री, सांसद, उच्चअधिकारी तथा पोखरेलीहरुको ठूलो सहभागिता रहने बताइएको छ ।
सांसद रविन्द्र अधिकारीका अनुसार एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, मन्त्रीहरु कमल थापा, विजय गच्छेदार, आनन्दप्रसाद पोखरेल आउनेछन् । चिनियाँ राजदूत भने शिलान्यास कार्यक्रममा आउन नभ्याउने भएका छन् ।
विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ सिएएमसी इन्जिनियरिङ कम्पनीका अध्यक्षको पनि शिलान्यासमा सहभागिता हुनेछ । शिलान्यासमा सहभागी हुनेहरु कतिपय पोखरा आइपुगेका छन् भने कतिपय आउने क्रम जारी छ । पोखराको आकाशमा केही दिनदेखि लागेको बाक्लो तुवाँलोका कारण उडान प्रभावित हुँदा अतिथिलाई आउन समस्या भइरहेको छ ।
दिनभरी आकाश नखुलेपछि हिजो धेरैजसो गाडीमै पोखरा आइपुगेका छन् । आज पनि आकाश खुल्ने सम्भवना क्षिण देखिएको छ । विहानै देखि यहाँको आकाश तुँवालोले ढाकेको छ ।
पोखरेली उत्साहित
विमानस्थल शिलान्यास हुने भएपछि पोखरेली उत्साहित छन् । पश्चिमाञ्चल क्षेत्रको विकासको इञ्जिनका रुपमा हेरिएको यो विमानस्थल बनाउनका लागि यहाँका बासिन्दाले संघर्ष गर्दै आएका थिए । शिलान्यास कार्यक्रममा पनि धेरै पोखरेलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।
चीन सरकारको २१ अर्ब ऋण सहयोगमा यो विमानस्थल बनाउन लागिएको हो । प्रधानमन्त्री ओलीको भर्खरै सम्पन्न चीन भ्रमण एक्जिम बैंकसँग ऋण सम्झौता भएको थियो ।
यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । अनुदान वाहेकको रकमको नेपालले वाषिर्क २ प्रतिशत ब्याज तिर्नुपर्छ । आगामी चार वर्षमा निर्माण सक्ने र पाँच वर्षभित्र विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइसक्ने योजना छ ।
विमानस्थलमा धावनमार्ग धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो बिल्डिङ, एयरपोर्ट ह्यांगर लगायत पूर्वाधार निर्माण गर्नुपर्छ ।
विमानस्थल ‘४ डी’ स्तरमा निर्माण हुने छ । जहाँ २ सय सिटम क्षमताका बोइङ ७५७ सिरिज जहाज उडान अवतरण गर्न सक्छन् । यो विमानस्थलबाट छिमेकी मुलुक चीन र भारतका विभिन्न शहर, शार्क मुलुक, खाडी मुलुक, हङकङ, मलेसिया, सिंगापुर लगायतका मुलुकमा उडान गर्न सकिने छ ।
पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । उक्त जग्गाले नपुग्ने देखिएपछि थप ६२९ रोपनी जग्गा रोक्कार गरिएको थियो । जसमध्ये ५० रोपनी जग्गा आवश्यक नपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पछि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम ९० प्रतिशत सकिएको छ ।
प्रतिक्रिया 4