
१३ वैशाख, दैलेख । पाल्पाको तानसेनमा अनमीको परीक्षा दिन गएका बेला अपहरणमा परेकी दैलेख लालीकाँडा-५ बस्ने निर्मला विसीको प्रहरीले सकुशल उद्धार गरेको छ ।
पीडित विसीले आफू अपहरणमा परेको भन्दै लालीकाँडा-५ बस्ने बाबु सहवीर खड्कालाई मोबाइलबाट शनिबार जानकारी गराएकी थिइन् । अपहरणकारीले निर्मलाको बुवालाई निर्मलाकै मोबाइलबाट फोन गरी १५ दिन भित्र १० लाख रुपैयाँ फिरौती मागेका थिए ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी रानीमत्ताबाट आइतबार खटिएको टोलीले विसीलाई दैलेख गगलपानी-४ रानीमत्तास्थित रिपिटर टावर नजिक काफलको बोटमा बाँधिरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको थियो ।
उनलाई अपहरण गर्ने कार्यमा एक महिला र तीन पुरूष संलग्न रहेको बताइएको छ । तर, उनीहरुको पहिचान खुलेको छैन ।
पाल्पा तानसेनस्थित पाल्पा दरबार नजिकै मोटो कदकी महिलाले पीडितको श्रीमानको फोटो देखाउँदै ‘यसलाई चिन्छस्’ भनेर सोध्दै मुख नजिकै हात लगेपछि उनी बेहोस भएकी थिइन् । पीडित महिलाको श्रीमान दैलेख जिल्लाको अवलपराजोल स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत रहेका छन् । उनीहरुबीच एक/डेढ बर्षदेखि सम्बन्ध राम्रो नभएको पाइएको छ ।
घटनामा श्रीमानको समेत योजना रहेको आशंका प्रहरीले गरेको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4