२३ वैशाख, काठमाडाैं। बुधबार बिहानै एमाओवादी महासचिव कृष्णबहादुर महरा आफ्नो पार्टीका नेतालाई भनिरहेका थिए, प्रचण्डलाई कुनै पनि हालतमा ओलीसँग पग्लन दिन्न र नयाँ सरकार गठनको अभियान रोकिने छैन । तर, यसो भनिरहेका महरालाई त्यसैबेला चिनियाँ दूतावासका कूटनीतिक अधिकारीहरुले भेटेपछि प्रचण्डभन्दा पहिले महरा आफैं पग्लेर पानीजस्तै भए ।
अघिल्लो साता भारत भ्रमण गरेर फर्किएपछि एमाओवादी नेता महरा केपी ओली नेतृत्वको सरकार ढाल्न सक्रियतापूर्वक लागेका थिए । ओली सरकारले आफूलाई जेल पठाउन खोजेको आरोप महराले लगाएका थिए ।
विगतमा चिनियाँसँग पैसा मागेको टेलिफोन प्रकरण र लडाकूको पैसामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले गरेको खबरदारीबाट डराएका महराले सम्भवतः यही डरले ‘जेल’को कुरा गरेका थिए ।
तर, सरकार परिवर्तनको चर्को कुरा गर्ने महरालाई चिनियाँ अधिकारीले भेटेर कडा कुरा राखेपछि उनी एकाएक ओली सरकारको विकल्प नखोज्ने लाइनमा यु टर्न भएका छन् । चर्को कुरा गर्ने महरा नै फेरिएपछि प्रचण्डलाई पनि निर्णय लिन सजिलो भयो ।
केपी ओलीको सरकार भारतीय डिजाइन अनुसार ढाल्न लागिएको र हालै सरकारले चीनसित गरेका सहमति एवं सम्झौताहरु तुहाउन लागिएको भन्दै चीनले एमाओवादीको भूमिकाप्रति तीव्र असन्तुष्टि जनाएको स्रोत बताउँछ ।
प्रचण्ड वा देउवाको नेतृत्वमा सरकार बनेपछि भारतसँग सम्बन्ध बढ्ने र हालै चीनसँग भएका सम्झौता रद्दीको टोकरीमा फालिने भन्दै चीनले वामपन्थीहरुको एकता टिकाइराख्न प्रचण्डलाई समेत दबाव दिएको बुझिएको छ ।
काठमाडौंमा रहेका चिनियाँ राजदूतले पनि सरकार परिवर्तनको खेललाई साम्य पार्न सक्रिय भूमिका खेलेको स्रोतले बतायो ।सरकार ढाल्ने खेललाई निस्तेज पार्न चीनले खेलेको भूमिकाबारे चर्चा गर्दै स्रोतले भन्यो- ‘भारतको चलखेल बढेको देखेपछि चीन पनि चूप लागेन र उसले एमाओवादीलाई सम्झायो, जसले गर्दा दिल्लीको डिजाइन असफल भयो ।’
प्रतिक्रिया 4