२६ वैशाख, काठमाडौं । सुशील कोइराला नेतृत्वको सरकारका पालामा सरकारले पत्रकार आचारसंहिता बनाउने घोषणा गर्दा चर्को विरोध भएको थियो । अहिले फेरि केपी ओली नेतृत्वको सरकारले पत्रकार आचार संहिता बनाई लागू गरिने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम पढ्दै सरकारले पत्रकार आचार संहिता बनाउने घोषणा गरेकी हुन् ।
पत्रकारहरुको आचार संहिता सरकारले निर्माण गरिदिने नभई स्वायत्त निकाय मानिएको प्रेस काउन्सिल नेपालले पत्रकारहरुको सल्लाह र सुझावका आधारमा बनाई लागू गर्ने प्रचलन छ ।
सरकारले बनाइदिने आचार संहिताले प्रेस स्वतन्त्रता कुण्ठित हुने पत्रकारहरुले बताउँदै आएकाले सुशील कोइराला सरकारले आचार संहिता बनाउने घोषणा फिर्ता लिएको थियो ।
यसैवीच पत्रकारहरुको योग्यता निर्धारण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सञ्चार संस्थाहरुको संरचनागत सुधारमा सरकारले जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र सरकारी मुखपत्र गोरखापत्रको क्षेत्रीय प्रकाशन बिराटनगर र कोहलपुरबाट थालिने भएको छ ।
प्रतिक्रिया 4