२८ वैशाख, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ पक्षले मंगलबार एकीकृत नेकपा माओवादीसँग पार्टी एकताको औपचारिक निर्णय गर्ने भएको छ । पार्टी एकताको निर्णय गर्न महासचिव बादलले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकले एमाओवादीसँग एकताको निर्णय गर्ने क्रान्तिकारी माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
क्रान्तिकारी माओवादी र एमाओवादीबीच जेठ पहिलो साता पार्टी एकता गर्ने तयारी गरिएको छ ।
बादल पक्षको बैठकमा अध्यक्ष मोहन वैद्य ‘किरण’लाई पनि बोलाइएको छ । तर, वैद्य सहभागी हुने छैनन् । एमाओवादीसँग पार्टी एकता गर्ने पक्षमा नभएका वैद्यले बाखदलले बोलाएको बैठकमा जानेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरु पनि एमाओवादीसँग पार्टी एकताको पक्षमा छन् । पार्टी एकता लागि संकलन गरिएको हस्ताक्षर अभियानमा १ सय २५ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेको बादल पक्षको दाबी छ । नेकपा क्रान्तिकारी माओवादीमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति छ ।
०६९ असार ८ गते मोहन वैद्य पक्षले एकीकृत नेकपा माओवादीसँग अलग भएको घोषणा गरेको थियो ।
प्रतिक्रिया 4