पछिल्लो समय नेपाली चलचित्र उद्योगलाई एक २२ वर्षे ठिटोले हल्लाइदिएका छन् । हालै उनले २० लाख पारिश्रमिकमा एउटा फिल्म साइन गरे ।
जहाँ एउटा औसत फिल्मको बजेट ५०-६० लाख हुन्छ, त्यहाँ एउटा हिरोलाई २० लाख रुपैयाँ दिन निर्माता तयार भएकोमा धेरै आश्चर्यमा परेका छन् । अनमोलको यो ‘भाउ’ स्वभाविक हो कि अतिरञ्जित भन्ने प्रश्न उठेको छ । तर, अनमोलको उपस्थितिले आफ्नो फिल्मको ब्यापारमा कम्तिमा २० लाखको फरक पार्छ भन्नेमा निर्माता विश्वस्त देखिन्छन् ।
निर्माताको यो विश्वासको आधार भनेको अनमोलले एकपछि अर्को गरी राखिरहेको सफलताको रेकर्ड हो । जहाँ अधिकांस फिल्महरुले लगानी उठाउन संघर्ष गर्छन्, अनमोलले लगातार हिट फिल्म दिइरहेका छन् । होस्टेल, जेरी, ड्रिम्स हुँदै गाजलुसम्म आइपुग्दा उनले जबरजस्त रुपमा आफूलाई सुपरस्टार सावित गरेका छन् । केही बर्ष अगाडि राजेश हमाल, निखिल उप्रेती, विराज भट्टको नामले चलचित्र त चल्थ्यो । तर, अनमोलको स्टारडम अर्कै उचाइमा पुगेको छ ।
आखिर अनमोलमा त्यस्तो चिज के छ, जसले उनलाई चार वर्षमै यो उचाईमा पुर्यायो ? आउनुस, उनका सवल पक्षबारे चर्चा गरौं ।
१. एक्स्ट्रा लुक्स: अनमोलको अनुहार नै उनको प्रमुख आकर्षण मान्नेहरु धेरै छन् । परम्परागत नेपाली हिरोहरुभन्दा उनको अनुहारको आकृति अलिकति ‘युनिक’ छ । कोरियन जस्तो लाग्ने लुक्सले विशेषत युवतीहरुलाई एकै नजरमा लोभ्याउँछ । त्यसैले अनुहार उनको पहिलो बिकाउ वस्तु हो ।
२. स्टाइलिस व्यक्तित्वः अनमोल फिल्मभित्र जति स्टाइलिस देखिन्छन् बाहिर पनि त्यस्तै छन् । आफु सुहाउँदो ड्रेसअप गर्छन् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा ड्रेसअपदेखि हेयर स्टाइलसम्ममा निकै ध्यान दिएको पाइन्छ । समग्रमा एउटा सुपरस्टारको छवि उनको व्यक्तित्वमा झल्किन्छ ।
३. स्टारडमः एउटा स्टारका लागि आफ्नो स्टारडम मेन्टेन गर्नु पनि एउटा चुनौति हो । सबैले यो जान्दैनन् र सक्दैनन् । केही समयअघि उनी आफ्नो चलचित्र ड्रिम्स हेर्न हलमा पुग्दा चार जना बडिगार्ड लिएर गए । कुनै पनि नेपाली हिरोले बडिगार्ड लिएर हिँडेको त्यो पहिलोपटक थियो ।
उनी चलचित्रसम्वन्धि सानातिना सबै कार्यक्रममा पुग्दैनन्, खास-खास ठाउँमा मात्रै देखिन्छन् । अन्तरवार्ताहरुमा सन्तुलित भएर बोल्छन् । यी सबै उनको स्टारडमका लक्षण हुन् ।
४. चुजी एक्टरः अनमोलले चार वर्ष लामो फिल्मी करिअरमा केवल चार फिल्म खेले । जबकि पहिलो फिल्म हिट हुनासाथ उनलाई अफरहरुको ओइरो लागेको थियो । फिल्म साइन गर्ने सवालमा उनी एकदमै चुजी देखिए । विगतमा राजेश हमालले जस्तो पाएजति फिल्ममा अभिनय गर्दै हिँडेको भए उनले यतिबेलासम्म दुई दर्जन फिल्म आइसक्थे होला । तर, आजको स्टाटसमा उनी सायदै पुग्थे ।
५. आफ्नो फिल्ममा सिरियसः आफूले खेल्ने फिल्मप्रति अनमोल अत्यन्तै उत्तरदायि देखिन्छन् । आफ्नो भूमिका मात्रै नभएर फिल्मको हरेक पक्षमा ध्यान दिन्छन् । को स्टारदेखि म्युजिकसम्ममा चासो राख्छन् । स्त्रिmप्टमा नै दख्खल दिन पनि पछि पर्दैनन् । कलिलो उमेरमा नै यो स्तरको गम्भीरताले उनी लामो रेसका घोडा हुन् भन्ने संकेत गर्छ ।
अनमोलका दुर्वल पक्ष पनि थुप्रै छन् । तीनको पनि चर्चा गरौं ।
१. अभिनय कमजोरः एउटा अभिनेतामा हुनुपर्ने पहिलो गुण भनेको अभिनय हो । तर, अनमोल अभिनयमा कमजोर रहेको आरोप लाग्ने गरेको छ । चारवटा फिल्मसम्म आइपुग्दा उनको अभिनयमा निखार आउन बाँकी नै रहेको देखिन्छ । धेरै दर्शकलाई उनको डाइलग बोल्ने स्टाइल पनि अलिकति बनावटी लाग्छ ।
२. विविधताको कमिः अहिलेसम्म अनमोलले कुनै पनि यस्तो भूमिका गरेका छैनन्, जसमा उनको अभिनय कलाको परिक्षा होस् । चारवटै फिल्ममा उनको भूमिका लगभग उस्तै-उस्तै नै छ । फलस्वरुप उनको अभिनयमा पनि नयाँपनको अभाव देखिन्छ । अनमोलको आलोचना हुने एउटा पक्ष यो पनि हो । एउटै खालको भूमिकालाई अझै निरन्तरता दिइरहे भने विस्तारै उनका डाइहार्ड फ्यान पनि वाक्क बन्ने छन् । अभिनयको अन्तरालकै कारण बौद्धिक दर्शकले अनमोललाई दयाहाङ राईको छेउछाउ पनि पनि मान्दैनन् ।
३. डान्स जान्दैनन्ः बलिउडमा जस्तै नेपाली चलचित्रमा पनि संगीतलाई अपरिहार्य तत्वका रुपमा समावेश गरिन्छ । संगीतसँग जोडिएर आउँछ नृत्य । अहिलेसम्मका चलचित्र हेर्दा अनमोलको नृत्य कमजोर होइन, दयनीय देखिएको छ । उनका बाबु भुवन केसीको डान्स जिरो थियो, अनमोल पनि अहिलेसम्म बाबुकै पदचिन्हमा छन् । अनमोलको कमजोर डान्सका कारण नै उनका फिल्ममा बढि सफ्ट मेलोडीका गीतहरु राखिन्छ ।
३. सानो घेराः चुजी हुनु अनमोलको सवल पक्ष हो तर अनमोल अहिलेसम्म सानो घेरामा कैद भएको प्रतित हुन्छ । उनले चार वर्षमा चारवटा फिल्ममा अभिनय गरे जसमध्ये तीनवटा फिल्ममा एउटै निर्देशक थिए । बाँकी एउटा फिल्म उनकै पिता भुवन केसीले निर्देशन गरेका थिए । अहिले नेपाली चलचित्र उद्योगमा प्रतिभाशाली निर्देशकहरुको कमि छैन । तर, अनमोलले उनीहरुलाई विश्वास नगरेको प्रतित हुन्छ ।
रेट कति ?
अनमोलको स्टारडम नेपाली चलचित्र उद्योगकै लागि सुखद समाचार हो । नेपाली हिरो भनेपछि नाक खुम्च्याउने र हलिउड-बलिउडका स्टारहरुप्रति क्रेजी हुने युवा जमातले अनमोललाई मन पराएको छ । अनमोलको अबको चुनौति भनेको यो क्रेजलाई निरन्तरता दिनु हो ।
अनमोल अहिले पनि आफ्नो करिअरको प्रारम्भिक चरणमा नै छन् । यतिबेला उनले पैसा होइन, निर्देशक र स्त्रिmप्ट हेरेर फिल्म साइन गर्नुपर्छ । उनले लिएको २० लाख पारिश्रमिक नेपाली चलचित्रको धरातलीय यथार्थसँग मेल खाँदैन । उनले यसैलाई आफ्नो रेट बनाए भने आत्मघाति हुन सक्छ ।
अनमोलले सम्झौता गरेर भए पनि राम्रा निर्देशकहरुसँग फिल्म खेल्नु आवश्यक छ ।
प्रतिक्रिया 4