+
+

नयाँ संविधानले नेपालमा लोकतन्त्र सुदृढः भारत

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते ६:५९

India-Flag१५ असार, काठमाडौं ।  नेपालको नयाँ संविधान जारी भएपछि तीव्र असन्तुष्टि जनाउँदै स्वागतसम्म नगरी ५ महिना लामो नाकाबन्दी गरेको भारतले आफ्नो आधिकारिक दस्ताबेजमा भने नेपालमा संविधान जारी भएर बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ भएको उल्लेख गरेको छ।

भारतीय विदेश मन्त्रालय ‘साउथ ब्लक’ ले प्रधानमन्त्री नरेन्द्र मोदीको दुईबर्से कार्यकालको अवसर र प्रतिपक्षले नेपाल नीति घोर असफल भएको आरोप लगाउँदै गर्दा यस्तो दस्ताबेज सार्वजनिक गरेको हो।

‘गत सेप्टेम्बर २०१५ मा नयाँ संविधान अनुमोदन भएबाट नेपालको बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ हुनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ’, भारतीय विदेश मन्त्रालयले निकालेको ‘म्यापिङ न्यु फ्रन्टियर्स टु इयर्स अफ पाथ ब्रेकिङ डिप्लोमेसी’ नामक पुस्तिकाको नेपाल खण्डमा भनिएको अाजको अन्नपूर्णमा समाचार छ ।

संविधानसँगका केही आन्तरिक विषयमा भने अझै मिल्न बाँकी रहे पनि ती चाँडै समाधान भएर जाने भारतको अपेक्षा रहेको पुस्तिकामा उल्लेख छ। पुस्तिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको पनि उल्लेख छ। भारतले आधिकारिक प्रकाशनमा नेपालको संविधानबारे सकारात्मक धारणा बाहिर ल्याएर नेपाल नीतिमा ‘कोर्स करेक्सन’ गर्न खोजेको विश्लेषण गरिएको छ।

दक्षिणी छिमेकी भारतले संविधान जारी भएको पर्सिपल्टदेखि सीमानाकाबाट नेपालतिर इन्धन र खाद्यान्न आपूर्ति रोक लगाएको थियो। संविधानमा आफ्नो समर्थन नरहेको भन्दै आन्दोलित मधेसी दलले वीरगन्ज नाकामा गरेको प्रदर्शन र धर्नालाई बहाना बनाएर भारतले नेपालमा नाकाबन्दी गरेको थियो।

भारतले संविधानको पहिलो संशोधनमा भने स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीको फागुनमा सम्पन्न भारत भ्रमणअघि भारतले नाकाबन्दी हटाएको थियो। ओलीको भारत भ्रमणबाट सम्बन्ध सुध्रिने अपेक्षा गरिए पनि भारतीय पक्षले संविधानप्रति असन्तुष्टि कायम रहेको सन्देश दिन भ्रमणपछि संयुक्त वक्तव्यसमेत जारी गर्न अस्वीकार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?