५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकारको नेतृत्व गर्दा आफ्ना सामू अवसर र चुनौती दुबै हुुने बताएका छन् ।
भोलिदेखि संसदमा अविश्वासको प्रस्तावमाथि छलफल हुने र एउटा टुंगोमा पुग्ने भन्दै उनले त्यसपछि माओवादीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताए ।
राप्रपाका नेता नरबहादुर पाखि्रन लगायतलाई पार्टीमा प्रवेश गराउँदै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका प्रचण्डले भने, ‘माओवादीको नेतृत्व सुनिश्चित भयो भने चुनौती र अवसर दुबै छ ।’
उनका अनुसार अब बन्ने नयाँ सरकारको पहिलो चुनौती भनेको देशलाई एकताबद्ध बनाउनु र नयाँ संविधानलाई सबैले अपनत्व महसुस गर्ने वातावरण बनाउनु हो । मधेसी मोर्चासहितका आन्दोलनरत पक्षको मागहरुलाई अधिकतम राजनीतिक सहमति बनाएर संविधान संशोधन गर्न आवश्यक रहेको उनले बताए ।
संविधानको कार्यान्वयन गर्दै गाउँपालिका, नगरपालिकादेखि प्रदेश र केन्द्रको चुनाव गर्ने र २०७४ साल माघ ७ गतेसम्म केन्द्रीय प्रतिनिधिसभा निर्वाचित भइसक्नुपर्ने अर्को चनौती रहेको उनले बताए ।
नयाँ सरकारको अर्को चुनौती भूकम्प प्रभावित जनताको पुनस्र्थापना भएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । ‘डेढ वर्ष हुनलाग्यो कछुवाको गतिमा पनि काम हुन सकेको छैन,’ उनले भने, ‘यदि नयाँ सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो भने पुनर्स्थापनामा अधिकतम तीव्र ढंगले काम गर्ने मेरो प्रतिवद्धता छ ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, जनताको विकास आकांक्षा सम्बेाधन गर्ने र प्रकृतिक स्रोत साधनको सदुपयोग गर्ने आफ्नो अर्को चुनौती भएको बताए । प्रकृतिले हामीलाई धेरै कुरा दिएको तर, राजनीतिक स्थिरताको अभावमा सदुपयोग गर्न नसकेको भन्दै उनले भने, हाम्रा लागि यो चुनौती पनि हो, अवसर पनि हो ।’
प्रतिक्रिया 4