२७ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार बालुवाटारस्थित निवासमा कुरा गर्दै प्रचण्डले यस्ता उद्योगहरूको संरक्षण र प्रवर्द्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताए ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उनले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताए ।
मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के के गर्न सकिन्छ, छिट्टै निजी क्षेत्रसँग बसेर विस्तृत रूपमा छलफल गर्ने आफ्नो सोंच रहेको समेत प्रचण्डले जानकारी दिए ।
उनले आर्थिक सुधारका कार्य गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिंदै सोही नीति अनुरूप सरकारले महासंघ जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता दोहोर्याए ।
महासंघका अध्यक्ष श्याम गिरीले गत वर्षको भूकम्पबाट ३२ जिल्लाका १७ हजार भन्दा बढी लघु, घरेलु तथा साना उद्योगी पूर्ण रूपमा क्षत विक्षत भएको ५५ जना भन्दा बढी उद्योगी हताहत भएको बताए । गिरीले वास्तविक पीडित लघु, घरेलु तथा साना उद्यमीको पहिचान गरी भूकम्प पीडित उद्यमीलाई परिचयपत्र उपलब्ध गराउने र सोका आधारमा पीडित उद्यमीलाई पाँच लाख रूपैयाँ अनुदान उपलब्ध गराउन आग्रह गरे ।
भुकम्प तथा नाकावन्दीको मारमा परि क्षतिग्रस्त भएका उद्योगको पुनःस्थापनाका लागि नेपाल सरकारद्वारा स्थापित आर्थिक पुनरूद्घार कोष कार्यविधि जारी भई संचालनका लागि सूचना जारी भईसकेको छ । कार्यविधिमा सुधार गरी भुकम्पबाट बढी प्रभावित ३२ जिल्लाका लघु, घरेलु तथा साना उद्योगहरूको पुनरत्थानका लागि तत्काल कर्जा प्रवाह गर्ने व्यवस्था गर्न र यसको सञ्चालक समितिमा लघु, घरेलु तथा साना उद्योगको प्रतिनिधिको हैसियतले महासंघलाई सहभागी गराउन गर्न उनले आग्रह गरे ।
लघु घरेलु तथा साना उद्योगको वित्तीय पहुँच अभिबृद्धि गर्न उद्योग प्रवर्द्धन कर्जा कार्यक्रमको नीतिगत व्यवस्था गरी हाल प्रचलित धितोमुखी कर्जालाई परिवर्तन गरी परियोजनामुखी कर्जा कार्यक्रम संचालनमा ल्याइनुपर्ने र लघु, घरेलु तथा साना उद्यमीहरूलाई बढीमा आठ प्रतिशत ब्याजदरमा सरल र सहज ढंगले कर्जा उपलब्ध गराइनुपर्ने ब्यबस्था हुुन महासंघले आग्रह गरेको छ ।
प्रतिनिधिमण्डलमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष वासुदेव गिरी, आङदेण्डी शेर्पा, लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरू विष्णु लुइटेल, चन्दनकृष्ण श्रेष्ठ, शोभा गुरूङ, शिवा उपाध्याय, सूर्य कंडेल, हरिहर थापा, मोहन कटवाल, राजेश कोइराला, कुमार गिरी, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यष सत्यनारायण प्रजापति, सचिव प्रमिला बस्नेतलगायतका पदाधिकारी तथा सल्लाहकारहरू सहभागी थिए ।
प्रतिक्रिया 4