काठमाण्डौ प्रज्ञा प्रतिष्ठानमा यतिबेला ‘तितो जिरे गाइजात्रा महोत्सव’ चलिरहेको छ । १ हजार रुपैयाँ सम्मको टिकट काटेर दर्शक हरेक दिन प्रज्ञामा गाइजात्राको रमाइलो हेर्न पुगिरहेका छन् । १० बर्षपछि हाँस्य कलाकार जोडी जीतु नेपाल र दमन रुपाखेती गाइजात्रामा एकसाथ प्रस्तुत भए । यी दुई कलाकारले प्रस्तुत गर्ने ‘मापसे’ प्रहसनले दर्शकलाई पेट मिचिमिची हसाँएको छ ।
यसपटक गाइजात्रामा कलाकार दीपकराज गिरी प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ बनेका छन् । उनको यसपटकको प्रचण्ड शैलीलाई दर्शकले खुबै रुचाएका छन् । यस्तै, कलाकार ज्योती काफ्ले भने पूर्व प्रधानमन्त्री केपी ओलीको भेषमा छन् । केपी र प्रचण्डको दोहोरीले प्रज्ञा प्रतिष्ठान पुग्ने दर्शकलाई हाँस्न वाध्य बनाउँछ ।
कार्यक्रम संचलाक राजा राजेन्द्रको कमेडी उद्घोषण अर्को आकर्षण बनेको छ ।
शिवहरी पौडेल, किरण केसी लगायतको ‘म्यारिज ब्यूरो’ले भारत र चिनसँग नेपालको सम्बन्ध प्रष्ट्याउने कोशिश गरेको छ । गायक तथा संगीतकार टिका भण्डारीको ब्यङ्ग्यात्मक गीत होस् या कविताको माध्यमबाट हसाँउन माहिर शैलेन्द्र सिंखडाको ५ वटा विधेयक नै किन नहोस्, दर्शक पेट मिचिमिची हाँस्छन् । हाँस्य कलाकार मनोज गजुरेल यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको भेषमा छन् ।
गाइजात्रा हेर्नेहरुले गतबर्ष भन्दा यसपटकको प्रस्तुती रोचक भएको प्रतिक्रिया दिए । भदौ १८ गतेसम्म यो महोत्सव चल्नेछ ।
तस्बिर: कमल प्रसाई
प्रतिक्रिया 4