११ भदौ, रौतहट । शुक्रबार बिहान त्रिशुलीमा भएको बस दुर्घटनामा परेकामध्ये अझै पनि ६ जना व्यक्तिको कुनै अतोपतो छैन । प्रहरीको तथ्याङ्कले चार जना बेपता देखाइरहँदा परिवारजनले भने ६ जना बेपता भएको दाबी गरेका छन् ।
भारतको बिहारका फेकु राय, राम प्रवेश रायका साथै रौतहटको मुडवलवा-२ का रामबालक जयसवाल, वडा नं ३ का रविरञ्जन यादव र वडा नं ८ का मुकेश रामको अझै पत्तो नलागेको परिवारजनका सदस्यले बताएका छन् ।
चारवटा शव अझै चिनिएनन्
गौरबाट पोखराका लागि हिँडेको ग १ ख ३७०१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करिब साढे ३ बजे त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो । तर, प्रहरीले घटनास्थलमा भेटिएका १८ शवको सनाखत गरे पनि अझै ४ वटा शवको सनाखत हुन सकेको छैन ।
रौतहटका मृतकमध्ये १८ जनाको सनाखत भएको छ । सनाखत भएका मध्ये १६ शवलाई रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ४ जना भारतीय सहित १२ जना रौतहटका व्यक्तिको शव परिवारजनले चितवनबाट ल्याएको प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले बताए ।
धार्मिक परम्परा अनुसार जिल्लाका विभिन्न स्थानहरुमा शनिबार नै १२ जनाको दाहसंस्कार गरिँदैछ ।
मुडवलवा ३ का ३५ वर्षीय चित्ररञ्जन यादव र मुडवलवा ६ का ३३ वर्षीय राजेशप्रसाद यादवको परिवारजनले शनिबार वाग्मती किनारमा दाहसंस्कार गरेका छन् ।
एउटै टोलका तीन जना बेपत्ता
यात्रु र चालक गरी ४२ जना सवार बस त्रिशुलीमा खस्दा रौतहट मुडवलवाको एकै टोलका ५ जनाको मृत्यु भएको थियो ।
बिहीवार साँझ ५.३० बजे गौरबाट पोखराका लागि छुटेको सो बसमा मुडवलाका ५ जना थिए । ५ मध्ये ४ जना विद्यालयका शिक्षक थिए भने एक जना निर्वाचन आयोगका करारका कर्मचारी थिए ।
पोखरामा शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका मुडवलवा २ का रामबालक जयसवाल, ३ का रविरञ्जन यादव र ८ का मुकेश रामको अझै कुनै पत्तो लागेको छैन ।
मुडवलवाकै ३ जना अझै बेपता रहेकाले उनीहरुको खोजी कार्यका लागि परिवारजनले अनुरोध गरेका छन् । मृतकहरु मध्ये अधिकांश घरका जेठा सन्तान र अभिभावक रहेकाले परिवारजन बेसहारा बनेका छन् ।
प्रतिक्रिया 4