२३ असोज, काठमाडौं । भनिन्छ- रक्सी र प्रेम जति पुरानो भयो, उति नै महत्वपूर्ण हुन्छन् । मदिरा यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो, त्यति नै राम्रो मान्छि । र, उतिनै महंगो पर्छ । तर, प्रेम संस्कृति हो भने मदिरा विकृति । नेपालमा एक वर्षमा २ अर्बको रक्सी विदेशबाट आयात भएको छ ।
मदिरा प्रेमीहरु पुराना ब्राण्डेड हृवीस्की तथा वाइनहरु जति महंगो भए पनि पिउन छाड्दैनन् । नेपालीहरुको घरैमा बनाइने कोदोको लोकल रक्सी विश्वमै राम्रो मदिरा मानिन्छ । तर, संभ्रान्त वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुकारुपमा लिने गरेकाले देशमा अर्बौंको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ ।
त्यस्ता धनाड्य नेपालीलाई लक्षित गरेर काठमाडौंको दरबाारमार्गस्थित ग्रीन लाइन लिक्वायर्सले ३०/४० वर्ष लगाएर विश्वमै केही सय बोतलमात्रै उत्पादन हुने महंगा रक्सी बिक्री वितरण गर्दै आएको छ ।
ग्रीनलाइनमा सस्तोमा एक बोतलको १०० रुपैयाँदेखि महंगोमा ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँसम्म पर्ने चार सय ब्राण्डका मदिरा उपलब्ध छन् । ग्रीनलाइन नेपालको सबैभन्दा ठूलो ब्राण्डेड मदिरा डिलर हो ।
केएफसीसँगै जोडिएको ग्रीनलाइनको रिटेल सोरुम आठ हजार वर्गमिटर क्षेत्रफल क्षेत्रफलमा छ । यसमा उद्योगी अमित अग्रवालले करोडौं लगानी गरेका छन् ।
गरिब होस् वा धनी । दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाडमा त झन् मदिराको बढी प्रयोग हुने मौसम हो ।
पछिल्लो समय नेपालमा ब्राण्डेड मदिरा सेवन गर्नेहरुको संख्या बढ्न थालेपछि महंगा मदिरा भित्र्याउन थालिएको ग्रनलाइनका फ्लोर म्यानेजर कृष्ण श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
ग्रीनलाइनमा रहेकोमध्ये सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७५० मिलिलिटरको एक बोतलकै ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँ पर्छ । अंगुरको बोक्राबाट ४५ वर्ष लगाएर बनाइएको यो रक्सी ४५ वर्ष लगाएर एक लटमा ३/४ सय बोतलमात्रै उत्पादन गरिएको हो ।
संसारभरका धनाड्यहरुबीच यसको लोकपि्रय छ । ग्रीनलाइनमा यो एक बोतलमात्रै छ । यसको बोतल पनि हातबाटै बनाइएको हो ।
‘यो मदिरा अहिलेसम्म बिकेको त छैन । तर शोपिसका रुपमा राखिराखेका छौं’ फ्लोर म्यानेजर श्रेष्ठ भन्छन् ।
त्यसैगरी, ग्रीनलाइनमा उपलब्धमध्ये फ्रान्सेली कोन्याक कम्पनीले उत्पादन गरेको लुई-१३औं अर्को महंगो मदिरा हो । यो मदिराको ७५० मिलिलिटरको एक बोतलकै साढे ४ लाख रुपैयाँ पर्छ ।
फ्रान्सेली राजा लुई १३ औंको नामबाट ब्राण्डिङ गरिएको यो मदिरा पनि विश्वभरका धनाड्यहरुबीच उस्तै लोकपि्रय छ ।
त्यस्तै, स्कटल्याण्डको जोनी वाकरले ३० वर्ष लगाएर उत्पादन गरेको ‘मास्टर कलेक्सन’ पनि अर्को महंगो रक्सी हो । यो ब्राण्डको ७५० मिलिटिरको एक बोतलको ४ लाख रुपैयाँ पर्छ ।
बेलायतकी महारानी एलिजावेथको जन्मोत्सवमा पार्टी रोयल सेलुट-६२ पनि महंगो रक्सी हो । त्यसको पनि ७५० मिलिलिटरको एक बोतलको ३ लाख ३ हजार रुपैयाँ पर्छ । सो पार्टीमा सो ब्राण्डको मदिरालाई पनि बेलायती सेनाले सेल्युट गरेका थिए ।
त्यसैगरी, ५० वर्ष लगाएर उत्पादन गरिएको आइरल स्काई मदिराको पनि एक बोतलकै १ लाख ५३ हजार रुपैयाँ पर्छ । त्यसैगरी ग्रीनलाइनमा फ्रान्स र स्कचमा उत्पादित, चिभार रिगल, एक्सट्र एलिगेन्स, इभिनिङ मुड, सिङ्गम मार्ट, ब्लू लेभ, ग्रीन लेभल, गोल्ड लेभल, रेड लेभल लगायतका दर्जनौ ब्राण्डेड र महंगा हृवीस्कीहरु पाइन्छन् ।
यस्ता उच्चस्तरका ब्राण्डीहरु खासगरी संसारभर तारे होटलमा खपत हुने जानकारी दिँदै श्रेष्ठले थपे, ‘तारे होटलहरुले एक प्याकको ३०/४० हजार रुपैयाँसम्म बिक्री गर्छन् ।’
त्यसो त, नेपालमा महंगा रक्सीको सम्बन्ध घरजग्गा र सेयर बजारको कारोबारसँग पनि जोडिएको जानकारहरु बताउँछन् । घरजग्गा र सेयरको कारोबार छोटो समयमै मालामाल पैसा कमाउने व्यवसाय हुन् ।
विगत १५ महिनादेखि सेयर बजार लगातारजसो बढेको छ भने भूकम्पपछि घरजग्गाको मूल्य र कारोबार दुबै बढिरहेकाले त्यसको प्रभाव महंगा रक्सीको बिक्रीमा पनि परेको हो ।
महंगा रक्सीको उपभोग बढ्न थालेपछि रक्सीको आयात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
पौने २ अर्बको मदिरा आयात
नेपालमा फ्रान्स, स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका दर्जनौं देशमा उत्पादन भएका दर्जनौं ब्रान्डेड रक्सी भित्रिने गरेको छ ।
गत आर्थिक वर्ष नेपालमा २ अर्ब २० करोड रुपैयाँ मूलय बराबरका १ करोड २८ लाख लिटर मदिरा आयात भएको भन्सार विभागले जनाएको छ । वर्षभरि भएको आयातलाई दैनिक औषतमा हेर्दा नेपालमा दैनिक ३५ हजार लिटर अर्थात ६० लाख रुपैयाँ बराबरको विदेशी मदिरा आयात हुने गरेको छ ।
गत वर्ष नेपालमा माल्ट वियर दुई करोड २० लाख, वाइन २५ करोड, हृवीस्की ६७ करोड ३८ लाख, रम १८ लाख, जिन २२ लाख ८४ करोड, भोड्का तीन करोड ३३ लाख, गुलियो मदिरा तीन करोड र एक्स्ट्रा नेचुरल अल्कोहल ७७ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांकले देखाउँछ ।
जबकी अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब ७२ करोड रुपैयाँको मदिरा आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसासर पाँच वर्षअघि अर्थात् ०६७/६८ मा १ अर्ब २४ करोड रुपैयाँको मात्रै मदिरा आयात हुन्थ्यो । यसबीचमा नेपाली बजारमा पनि दर्जन बढी ब्राण्डका मदिरा उत्पादन सुरु भएका छन् ।
कम छैनन् नेपाली, तर विदेशीकै शान
नेपालमा ७०/७५ ब्रान्डका ब्रान्डेड मदिरा उत्पादन हुँदै आएका छन् । आन्तरिक उत्पादनमध्ये रुस्लान भोड्का, रोयल स्ट्याग, वल्र्ड दरवार, ८८४८, ब्लेन्डर्स प्राइड, एन्टीकुइटी लगायतका ब्राण्डहरु बढी चर्चित छन् ।
तर, पनि नेपाली धनाड्य वर्गले विदेशी ब्रान्डका रेडलेवल, ब्लुलेवल, ब्ल्याकलेवल, चिभास रिगल, भ्याट ६९ वा १०० प्यापरको उपभोग बढी गर्छन् ।
महंगा रक्सीको विषेशता
महंगा ह्वीस्की तथा ब्रान्डीहरुको उत्पादन पूर्णरुपमा प्राकृतिक तरिकाबाट गरिने हुन्छ । यस्ता प्रकृतिका खासगरी फ्रान्स र स्कटमा उत्दादित मदिरा विश्वभर नै लोकप्रिय छन् ।
मदिरा बनाउने कच्चा पदार्थ ‘माल्ट’ जति पुरानो भयो त्यती राम्रो मानिन्छ । नेपालमा माल्ट उत्पादन नहुने हुँदा पुरानो कच्चा पदार्थ हालेको रक्सी बनाउन सकिएको छैन ।
विदेशी मदिरा उत्पादक कम्पनीहरले पनि यस्ता महंगा ब्रान्डीहरु जुनसुकै समयमा जति मन लाग्यो त्यति उपादन गर्न नसक्ने भएकाले यस्ता मदिराको महत्व बढेको हो । ५/१० वर्षको अन्तरालमा मात्रै एक लट उत्पादन हुने भएकाले यस्ता रक्सीहरु भनेको समयमा खरिद गर्नसमेत नपाइने श्रेष्ठले सुनाए ।
वाइन पनि उस्तै महंगा
पछिल्लो समय वाइनको खपत बढ्दै गएको उत्पादक तथा वितरकहरु बताउँछन् । नेपालमा टुर ड्यूरोकमिलोन, बोटेडा एमरोन, इन्क्लेभल लगायतका ब्रान्डेड विदेशी महंगा वाइनहरु पाइन्छ । यस्त्ाा वाइनहरु एक वोतलकै २० देखि ४० हजार रुपैयाँसम्म पर्छन् । तर, पछिललो समष्य नेपालमै उत्पादन भएका हिमुवा, डाँडाघरे, विग मास्टर, लगायतका वाइनहरु पनि निकै लोकपि्रय छन् ।
फेरिँदै छ संस्कृति
१०/१५ वर्षअघिसम्म अत्यन्तै धनाड्य वर्ष र दलित तथा जनजातिको परिवारमा मात्रै पारिवारिकरुपमा मदिरा चल्थ्यो । क्षेत्री बाहुनहरुले रक्सी खानै परे आफन्त र परिवारसँग लुकेर मात्रै खान्थे । क्षेत्री बाहुनले रक्सी खाए जात जान्छ भन्ने परम्परा अनुसार यी जातका मान्छेहरु रक्सी खाँदैन थिए ।
तर, अहिले अवस्था फेरिएको छ । अचेलका भोज भतेरहरु मदिराबिना अपूरो बन्न थालेका छन् । मध्यम वर्गीय क्षेत्री/बाहुनहरु पनि खुलेआम रक्सी पिउन थालेका छन् ।
नेपालमै बसे पनि रोजगारीका लागि घर बाहिर जानेहरुको संख्या पनि ठूलो छ । त्यो भन्दा ठूलो त वर्षेनी ४/५ लाख नेपालीहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक आत्मनिर्भरतासँगै मदिरा पिउनेहरुको संख्या थपिएको हो ।
क्षेत्री/बाहुनको समाजमा महिलाहरुका लागि त मदिरा बर्जितजस्तै थियो । तर, अहिले महिलाहरु पनि मदिरा सेवनमा निकै अघि सर्न थालेका छन् । पहिला संयुक्त परिवारको कल्चर बढि थियो, संयुक्त परिवारमा छोरा/छोरीले मदिरा सेवन गर्न पाउँदैन थिए ।
तर, पछिल्ला वर्षहरुमा एक परिवारको संख्या बढिरहेको छ । यस्ता एकल परिवारमा बस्ने धेरै बुहारीहरुले आफ्नो श्रीमानसँग बसेर २/४ पेग वाइन पिउनु सामान्यजस्तै भइसकेको छ, अहिलेको नेपाली समाजमा ।
प्रतिक्रिया 4