
१ कात्तिक, काठमाडौं । घुम्नका लागि यो उपयुक्त मौसम हो । न जाडो, न त गर्मी हुने भएकाले अहिलेको मौसमलाई घुमघामको सिजन भन्दा पनि हुन्छ ।
पहिले-पहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्षहरुमा नेपालीहरु पनि विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । ट्राभल र ट्रेकिङ एजेन्सीहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेज बनाउने गर्छन् ।
नेपालका सुन्दर र रमणीय पर्यटकीय गन्तव्यबारे हामी तपाईंलाई जानकारी दिँदै छौं, ता कि बिदाको समय घुमेर सदुपयोग गर्नुहोस् ।
खप्तड
प्रकृतिको अनुपम उपहार हो खप्तड । यो मौसममा हरियालीले ढाकिने खप्तड पुस महिनापछि भने सेताम्य हिउँले ढाकिन्छ । बैशाखदेखि असारसम्म रंगीचंगी फूलहरुले फाँटहरु प्रकृतिको विशाल गलैंचा जस्तो बन्छ । खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन् । फूल फुलेका फाँटको किनारमा रुखहरुसहितको सुन्दर बगैंचा हेर्दा प्रकृतिको अनुपम चित्रकारिता देखिन्छ ।
यसका साथै खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह,शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु पनि छन्, जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रका रहेका ठूला-साना गरी २२ वटा फाँट पनि आकर्षणका केन्द्र हुन् ।
कसरी पुग्ने ?
खप्तड पुग्न काठमाडौंबाट कैलालीको धनगढी ६५० किलोमिटर बसयात्रा गर्नुपर्छ । काठमाडौंबाट सीधै धनगढीसम्म हवाई यात्रा पनि गर्न सकिन्छ ।
धनगढीदेखि डोटीको सिलगढीसम्म बसमा आठ घण्टाको यात्रा गरेपछि पैदल हिँड्नुपर्छ । सिलगढीबाट बगलेगसम्म जिप पनि चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ । सिलगढीदेखि सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गरेसँगै त्रिवेणी मन्दिर पुग्न सकिन्छ ।
मुस्ताङ
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल हो माथिल्लो मुस्ताङ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्म सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटकको पनि चाप बढेको छ । विशेष गरी यो मौसममा माथिल्लो मुस्ताङ घुम्न लायक गन्तव्य हो ।
जोमसोमबाट सवारी साधनमार्फत एक दिनको यात्रा गरेपछि माथिल्लो मुस्ताङ पुगिन्छ भने पैदल यात्रा गर्दा तीन दिन लाग्छ । माथिल्लो मुस्ताङमा जीवनशैली अन्य जिल्लाहरुको भन्दा फरक भएकोले पनि यो क्षेत्रमा पर्यटकको आगमन बढी हुने गर्छ ।
यति मात्र नभएर देशमा गणतन्त्र आइसक्दा पनि त्यहाँ गरिने मुस्ताङी राजाको सान र सम्मान नमूना नै रहेको छ । यस क्षेत्रमा नौतले गुफा,मौलिक संस्कृति, जीवनशैली, मनमोहक प्राकृतिक दृष्य तथा कोरला नाका प्रख्यात छन् ।
कसरी पुग्ने ?
काठमाडौंबाट नै निजी सवारी साधनमा माथिल्लो मुस्ताङसम्म पुग्न सकिन्छ । काठमाडौंबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ । जोमसोमदेखि छुसाङसम्म जिपको यात्रा गर्नुपर्छ । बाटोमा पर्ने खोलामा मोटरेबल पुल नभएकोले पैदल पुल तरेपछि फेरि अर्को गाडी चढेर माथिल्लो मुस्ताङ ६ घण्टामा पुग्न सकिन्छ ।
अन्नपूर्ण
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग । विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ ।
लमजुङको बेंसीसहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ । बेंसीसहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाड जिल्लाको ताल, बगरछाप,चामे, थोरङपास हुादै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ ।
यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी-हाउस भएकोले पनि अन्य पदमार्ग जस्तो पैदल यात्रीलाई समस्या हुँदैन । ठाउँ-ठाउँमा थकाइ मार्न र चिया-कफीको तलतल मेटाउन सहज हुन्छ । पदमार्गका सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु भएकाले पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ ।
सगरमाथा
नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थानमध्ये एक हो, सगरमाथा राष्ट्रिय निकुञ्ज यात्रा अर्थात् सगरमाथा पदयात्रा । यो पदयात्रामा बर्सेनि हजारौंको संख्यामा पर्यटक आउने गर्छन् । कोही विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल आउाछन् भने कोही सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरेर फर्कने गर्छन् ।
यो क्षेत्रमा नेपालीभन्दा विदेशी पर्यटकहरु बढी जाने गर्छन् । तर, पछिल्लो समय नेपाली पर्यटकहरु समेत उल्लेखनीय रुपमा आउने गरेको पर्यटन व्यवसायी आङटासी शेर्पा बताउँछन् ।
सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग भए पनि विशेष गरी सगरमाथालाई आँखै अगाडिबाट हेर्ने हो भने सबैभन्दा उपयुक्त स्थल हो कालापत्थर । जुन समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उाचाइमा छ । यो नै विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट अवलोकन गर्ने उपयुक्त ठाउा हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमाल हेर्न सकिन्छ । तर, कुन हिमाल हो भनेर कुनै पनि जानकारी नहुँदा पर्यटकहरु अलमलमा समेत पर्ने गर्छन् ।
कसरी पुग्ने ?
काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पैदल यात्रा गरेर सगरमाथा क्षेत्रमा पुग्न सकिन्छ ।
पुनहिल/पोखरा
आाखै अगाडि विश्वको सातौं अग्लो धौलागिरी हिमाल हेर्दा कसको मन नरमाउला ? त्यसैले पर्यटकहरु धौलागिरी हिमाल हेर्न म्याग्दीको पुनहिल पुग्छन् । घोरेपानीबाट आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ । यो स्थान धौलागिरी हिमशृंखला हेर्ने सबैभन्दा उपयुक्त स्थान हो ।
नेपालमा पदयात्राका लागि आउने पर्यटकको रोजाइको उत्कृष्ट दशभित्र पुनहिल पदयात्रा पर्छ । पुनहिल पदयात्राको क्रममा दुई वटा विकल्प छन् । एक, पुनहिल पदयात्रा मात्र र अर्को, पुनहिल हुादै अन्नपूर्ण हिमालको आधार शिविरसम्मको यात्रा ।
पोखरादेखि पुनहिल र पुनः पोखरा फर्कनका लागि पाँच दिनको समय छुट्याउनु उपयुक्त हुन्छ । पोखराबाट पहिलो दिन तिखे ढुंगा र दोस्रो दिन घोरेपानी पुग्न सकिन्छ । तेस्रो दिन घोरेपानीबाट सूर्योदयको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुनः घोरेपानी आई टाडापानीमा बस्न सकिन्छ । त्यसपछि चौथो दिन घान्द्रुक र पाँचौं दिन पोखरा पुगिन्छ ।
यस बाहेक पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण आधार शिविर पुगेर पुनः पोखरा आउनलाई ११ दिनको पदयात्रा राम्रो हुन्छ ।
पोखरा एक हिसाबले नेपालको पर्यटकीय राजधानी नै हो । एकै स्थानमा ताल, हिमाल, मन्दिर, गुफा अवलोकन गर्न सकिन्छ पोखरामा । यसका साथै साहसिक खेलहरु प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर लगायत दर्जनौं गतिविधि हुने भएकाले पनि यो क्षेत्रलाई पर्यटकीय राजधानी भन्ने गरिन्छ ।
स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने यो स्थान विभिन्न पदमार्गको प्रवेशद्वार पनि हो । अन्नपूर्ण, माथिल्लो मुस्ताङ, पुनहिल लगायत पदमार्गको प्रवेशद्वार पोखरा हो ।
कसरी पुग्ने ?
राजधानी काठमाडौंबाट पोखरासम्म सार्वजनिक बसको यात्रा गर्न सकिन्छ । बस व्यवसायीहरुले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न बसको व्यवस्था गरेका छन् । त्यसबाहेक काठमाडौंबाट पोखरासम्म सीधै हवाई सेवाको सुविधा पनि छ । पोखरा पुगेपछि पैदल यात्रामार्फत गन्तव्यमा पुग्न सकिन्छ ।
रारा
मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । सबै नेपाली पुग्न चाहने स्थलमध्येको एक हो रारा ताल । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उँचाइमा अवस्थित छ रारा ताल । वरिपरि जंगलको बीचमा रहेको तालले घामको किरण अनुसार आफ्नो रङ बदल्ने गर्छ । रारा तालमा विश्वमै कहीँ पनि नभेटिने स्नोट्राउट प्रजातिको माछा पाइन्छ ।
रारा तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब ४ हजार मिटर उँचाइमा अवस्थित मुर्मा टप उपयुक्त ठाउँ हो । तर, आकर्षक गन्तव्य रारा तालमा जति मात्रामा बाह्य पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । आन्तरिक पर्यटक भने उल्लेखनीय रुपमा पुग्ने गर्छन् ।
कसरी पुग्ने ?
नेपालगन्जबाट ५० मिनेटको हवाई यात्रापछि पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ ।
त्यसबाहेक सुर्खेतबाट पनि रारा तालको यात्रा सुरु गर्न सकिन्छ । सुर्खेतबाट दुई दिनको बस यात्रापछि मुगुको गमगढी पुगिन्छ । गमगढीबाट तीन घण्टाको पैदल हिँडेपछि रारा ताल पुगिन्छ ।
नेपालगञ्ज र सुर्खेतसम्म काठमाडौंबाट बस र हवाई दुवै यात्राको सुविधा छ ।
पाथिभरा
ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा मन्दिर नेपालका साथै भारतका धार्मिक पर्यटकमाझ पनि चर्चित छ । यो मन्दिरमा बर्सेनि लाखौं भक्तजन दर्शन गर्न आउने गर्छन् । पाथिभरा मन्दिर समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उाचाइमा छ । कुम्भकर्ण हिमाल हेर्न पनि पाथिभरा उपयुक्त गन्तव्य हो ।
असोज-कात्तिक महिनामा मौसम सफा हुने भएकाले पनि यतिबेला हिमाल हेर्ने उपयुक्त समय हो ।
कसरी पुग्ने ?
काठमाडौंबाट यात्रा गर्नेहरु इलामको चिया बगान हुँदै पाथिभरा जाने भएकाले निकै रमाइलो अनुभव हुन्छ । यसैगरी काठमाडौंदेखि सुकेटारसम्म हवाई यात्रा र त्यसपछि ६ घण्टा पैदल यात्रापछि पुग्न सकिन्छ पाथिभरा । काठमाडौंबाट दुई दिनको बसयात्राबाट फेदी पुगेपछि पाँच घण्टाको पैदल यात्रापछि पनि पाथिभरा पुग्न सकिन्छ ।
बर्दिया
बर्दिया तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको बिचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको छ ।
निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका वनस्पतिले वन ढाकिएको छ । बाँकी ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन् ।
राष्ट्रिय निकुञ्ज मात्र नभएर थारु समुदायको मौलिक संस्कृतिका लागि पनि बर्दिया निकै प्रख्यात छ । बर्दियाको भादागाउामा खोलिएको होमस्टे र बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रख्यात छ । मध्यपश्चिमकै प्रसिद्ध धार्मिक स्थलमध्येको एक मानिने ठाकुरद्वारा मन्दिरमा लिच्छविकालीन मूर्तिहरु छन् । विशेष गरी माघे संक्रान्त्रिका बेला यहाँ मेला लाग्ने गर्छ ।
कसरी पुग्ने ?
पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि सहजै पुग्न सकिने यस निकुञ्ज पूर्व-पश्चिम राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा छ ।
स्वर्गद्वारी
पाँच पाण्डवले स्वर्ग जाँदा यही बाटो भएर गएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । प्यूठानको स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्वको छ,त्यति नै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण,धौलागिरी, मनास्लु लगायत दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ । विशेष गरी स्वर्गद्वारीबाट धौलागिरी हिमाललाई नजिकबाट नियाल्न पाइन्छ ।
स्वर्गद्वारी दर्शनका लागि भारतबाट बर्सेनि एक लाखभन्दा बढी भक्तजन आउने गर्छन् ।
कसरी पुग्ने ?
काठमाडौंबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसछि बस यात्रा गरेर प्युठानको स्वर्गद्वारी जान सकिन्छ । काठमाडौंबाट दाङको भालुबाङ हुँदै रोल्पा चल्ने बसमा भृङ्ग्रीसम्म सार्वजनिक यातायात चल्छ । त्यसपछि निजी सवारी साधन वा पाँच घण्टाको पैदल यात्राबाट पनि स्वर्गद्वारी मन्दिर पुग्न सकिन्छ ।
सुर्खेत/दैलेख
सुर्खेत मध्यपश्चिमको सदरमुकाम हो । यहाँ दोस्रो लुम्बिनीको रुपमा परिचित काँक्रेबिहार छ । यसैगरी देउती बज्यै, बुलबुले ताल जस्ता आकर्षक पर्यटकीय स्थल पनि छन् ।
काँक्रेबिहार निर्माणको क्रममा छ । देउती बज्यै मन्दिर मध्यपश्चिमको शक्तिपीठमध्येहरुको एक हो । त्यस्तै, वैश्वानरपुराण अनुसार, दैलेखमा अवस्थित शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई पञ्चकोशी तीर्थस्थलका रुपमा पुजिन्छ । चलनचल्तीमा भने कोटीकालालाई पनि त्यही श्रेणीमा राखिएको छ । जसमध्ये शिरस्थान र नाभिस्थानमा अविरल बल्ने ज्वाला धार्मिक आस्थाका केन्द्र हुन् । श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा शिर पतन भएको ठाउँलाई शिरस्थान र नाभि पतन भएको ठाउँलाई नाभिस्थान भनेर पुज्न थालिएको हो ।
नाभिस्थान मन्दिर गौमडीमा पर्छ । यहाँ पनि ‘ब्रहमज्वाला’ र ‘इन्द्रज्वाला’छ । यस क्षेत्रमा भैरव र शिवको मन्दिर छ ।
कसरी पुग्ने ?
नेपालगन्जबाट तीन घण्टाको बसयात्रापछि सुर्खेत पुगिन्छ । सुर्खेतबाट दैलेख पुग्न थप तीन घण्टा लाग्छ ।
प्रतिक्रिया 4