+
+

सरकारी अनुदान बुझेका भूकम्पपीडितले धेरै सोध्ने ६ प्रश्न

यस्तो छ प्राधिकरणको जवाफ

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७३ मंसिर १ गते १५:००

Dolakha Singati, earthquake victims (2)
१ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित परिवारका लागि घर निर्माण गर्न पहिलो किस्ताको रकम बाँडिरहेको छ । कतिले यो रकम पनि पाउन सकेका छैनन् भने पाएकाले पनि व्यावहारिक समस्याहरु झेलिरहेका छन् ।

उनीहरुले उठाएका थुप्रै प्रश्नहरु मध्ये ६ लाई हामीले प्राधिकरणका अधिकारीहरु समक्ष राखेका छौं र जवाफ ल्याएका छौं ।

प्रश्न नम्बर १ः अनुदान रकम घर नबनाई अन्तै उपयोग गर्न पाइन्छ ?

प्राधिकरणका सह–सचिव कालीप्रसाद पराजुली भन्छन्–पाइँदैन ।’ अनुदान रकम घर निर्माणमै खर्च गर्नुपर्छ । प्राधिकरणको अनुदान कार्यविधि अनुसार, अहिले दिन लागिएको रकम घर बनाउनकै लागि हो । यो रकम अन्य प्रयोजनमा खर्च गर्न पाइँदैन । पहिलो किस्ता बुझेर घरको जग हालेपछि मात्रै दोस्रो किस्ता दिने प्रावधान छ ।

पहिलो किस्तामा ५० हजार बुझेकाहरुले अब दोस्रो किस्ताको रकम पाउन घरको जग हालेर डिपीसी गरिसकेको हुनुर्छ । डिपीसी गरेको रिपोर्ट कार्यक्षेत्रमा खटिएका प्राविधिकले प्राधिकरणमा दिएपछि मात्रै पीडितले दोस्रो किस्ताको रकम बुझ्न सक्छ ।

प्रश्न नम्बर १ः पीडित दाजु–भाइ मिलेर एउटै घर बनाउन पाइन्छ ?

धेरै गाउँमा पहिले भागबण्डा गरेर बसिसकेका दाजु–भाइको घर भत्किएको छ । र, सरकारबाट पनि अनुदान पाएका छन् । र, सरकारी अनुदानबाट छुट्टा छुट्टै नभई संयुक्त घर बनाउन चाहन्छन् ।

तर, सरकारले यसलाई नकारेको छ । प्राधिकरणका सहसचिव पराजुली भूकम्पपीडितको फरक–फरक परिचयपत्र बुझेपछि फरक–फरक घर बन्नुपर्ने बताउँछन् । ‘भागबण्डा गरेर बसिसकेका दाजुभाइले घर भत्किएर छुट्टाछुट्टै रुपमा अनुदान बुझेपछि एउटै घर बनाउन पाउँदैनन्’ पराजुलीले भने, ‘नियमानुसार एउटा भूकम्पपीडितको एउटा घर बन्नुपर्छ ।’

साथै अहिले पहिलो किस्ता बुझे पनि दोस्रो किस्ताको रकम बुझ्न घरको आधारभूत संरचना बेग्लाबेग्लै बनेको हुनुपर्ने भएकाले त्यो सम्भव नहुने उनले खुलस्त पारे ।

 

Lamgung One Year-After-a-Devastating-Earthquake (1)

प्रश्न नम्बर १ः बसाइँ सरेर घर बनाउन पाइन्छ ?

भूकम्पपीडितमा अर्को अन्यौल छ, स्थान परिवर्तन गरेर घर बनाउन पाउने हो कि होइन ?  अहिले धेरैले गाउँमा भत्किएको घरलाई अन्यत्र सार्ने योजना बनाएका छन् । गाउँबाट जिल्लाका अन्य नगर, शहर उन्मुख क्षेत्र र सदरमुकाम आउन चाहनेको संख्या ठूलो छ । अनुदान रकम लिएर छिमेकी गाउँ तथा जिल्ला र राजधानीमै घर बनाउन आउने चाहनेहरु पनि छन् ।

प्राधिकरणले बनाएको नियमानुसार भने भूकम्पपीडितले आफ्नो जिल्लाभित्र जहाँसुकै बसाइँ सरेर घर बनाउँदा सजिलै अनुदान पाउँछन्, त्यसमा कुनै रोकतोक हुँदैन । यस्तै, आफू बसेको गाविससँग जोडिएको अर्को जिल्लाको गाविसमा पनि सरेर घर बनाउन पाइनेछ ।

जस्तोः काभ्रेको भक्तपुरसँग जोडिएका गाविसका बासिन्दाले भक्तपुरका छिमेकी गाविसमा बसाइँ सर्न पाउँछन् । तर, बसाइँ सरेर जाने ठाउँमा पीडित परिवारको आफ्नै घडेरी भने हुनुपर्छ ।

प्रश्न नम्बर ४ः एउटै घरमा छुट्टिएर बसेका थियौं, अब फरक–फरक रुपमा अनुदान पाइन्छ ?

भागबण्डा गरेर एउटै घरमा बसेकाहरु पनि अहिले अन्योलमा छन् । भूकम्पमा एउटा मात्र घर भत्किए पनि त्यहाँ एकभन्दा बढी परिवारको बास खोसिएको छ । तर, अब पीडितका रुपमा एउटा परिवार दर्ता हुँदा समस्या भोग्नेहरु धेरै छन् ।

प्राधिकरणमा यस्ता गुनासो सबैभन्दा धेरै आएको सह–सचिव पराजुली बताउँछन् । ‘एउटै घरमा धेरै परिवार बस्ने गरे पनि भत्किएको घर त एउटा मात्रै हो । यसले गर्दा एउटै परिवारले मात्रै अनुदान पाउने अवस्था बनेको थियो,’ पराजुलीले भने, ‘यसका लागि अहिले हामीले विशेष मापदण्ड बनाएका छौं ।’

सो मापदण्ड अनुसार भूकम्प गएको दिन ०७२ बैशाख १२ गतेभन्दा अगाडि अंशबण्डा भएको भए एउटै घरमा भए पनि अंश बुझ्ने सबै परिवारले अनुदान पाउनेछन् । तर, अंशबण्डा नगरेकाहरुले भने यो सुविधा पाउने छैनन् । उनीहरुले एउटै पीडित परिचयपत्रका आधारमा एउटा मात्र घर बनाउन अनुदान पाउनेछन् ।

प्रश्न नम्बर ५ः पहिलो किस्ता लिएँ, अब घर नबनाए के हुन्छ ?

सरकारले अहिले पहिलो किस्तामा भूकम्पपीडितलाई ५० हजार रुपैयाँ वितरण गरिरहेको छ । अब दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने पुनर्निर्माण प्राधिकरणको तयारी छ ।

तर, धेरैजसो पीडितहरु घर बनाउन आलटाल गर्दै छन् भने कतिपय पीडित सरकारी मापदण्डका कारण दोस्रो किस्ताको रकम बुझ्न नसक्ने स्थितिमा छन् ।  त्यसैले धेरै जना पहिलो किस्ता लिइहालेँ, अब घर नबनाए के हुन्छ र ? भन्ने मनस्थितिमा छन् ।

तर, पहिलो किस्ताको अनुदान बुझिसके पनि घर बनाउन सुरु नगर्ने, भूकम्पप्रतिरोधी घर निर्माणको मापदण्ड नमान्ने, नक्कली दावी पेश गर्ने लगायतले सरकारलाई ५० हजार नै रकम फिर्ता गर्नुपर्ने सह–सचिव अधिकारीले बताए । अनुदान सम्झौतामा नै यो विषय उल्लेख हुन्छ ।

त्यसैले पहिलो किस्ता लिएर त्यसको दुरुपयोग गर्ने सोच बनाएकाहरु सजग हुनुपर्ने उनले बताए । मापदण्ड मिचेर रकम दुरुपयोग गर्नेसँग सरकारले जसरी पनि रकम असुल्ने उनको दाबी छ । फर्जी दाबी पेश गरेर अनुदान बुझ्नेलाई कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

घर बनाउँदा भने पुनःनिर्माण प्राधिकरणले नमुनाका रुपमा दिएका १७ डिजाइनमा बनाउँदा सहज हुनेछ । यदि प्राधिकरणले उपलब्ध गराएको डिजाइन आफ्नो लागि उचित नभए गाउँमा खटिएका इञ्जिनियरबाट नक्सा पास गराएर मात्र निर्माण थाल्नुपर्छ ।

प्रश्न नम्बर ६ः सिमेन्टका ‘ब्लक’ प्रयोग गर्न पाइँदैन रे, हो त ?

अहिले धेरैलाई आफूले घर बनाउँदा कस्ता निर्माण सामग्री प्रयोग गर्ने भन्ने चिन्ताले सताएको छ । तर, यसमा धेरै सोचिरहनु जरुरी छैन । किनभने सरकारले निर्माणमा यो नै सामग्री प्रयोग गर्नुपर्छ भनेर तोकेको छैन । अनुदान लिएर घर बनाउँदा निर्माण सामग्रीको प्रयोगमा सीमा नतोकी भूकम्पप्रतिरोधी हुनैपर्ने प्राधिकरणले बताएको छ ।

स्थानीय क्षेत्रमा उपलब्ध सामग्रीहरु जे छन्, त्यही प्रयोग गरेर घर बनाउन सकिन्छ । अहिले धेरै क्षेत्रमा सिमेन्टका ब्लक प्रयोग गर्न पाइँदैन भन्ने हल्ला फैलिएको छ ।

तर, प्राधिकरणका सहसचिव पराजुली भन्छन्– ‘घर भूकम्पप्रतिरोधी प्रविधिबाट र तोकिएका मापदण्डहरु पूरा गरेर बनाउनुपर्छ । ब्लक प्रयोग गर्न पाइँदैन भन्ने कुनै नियम छैन ।’

प्रि–फेबदेखि, ब्लक, ढुंगामाटो, सिमेन्ट, इँटा, काठ लगायत जे–जस्ता सामग्री प्रयोग गरे पनि सरकारले छुट दिएको छ । ढुंगामाटोको घर बनाए पनि त्यो भूकम्प प्रतिरोध गर्न सक्ने प्रविधिबाट र बलियो बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?