७ मंसिर, काठमाडौं । यातायात व्यवस्था विभगले भोलि बुधबारदेखि काठमाडौंमा ड्राइभिङ लाइसेन्सको परीक्षा आवदेन लिने भएको छ । लाइसेन्स वितरण रोकिएको दुई महिनापछि विभागले बाग्मति अञ्चल यातायात कार्यालय काठमाडौंमा वितरण थाल्ने अन्तिम तयारी गरेको हो ।
बुधबारदेखि परीक्षाको आवेदन बुझ्न सुरु हुने प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । झण्डै २ महिनासम्म भाका सार्दै आएको विभागले नयाा लाइसेन्स वितरण रोकेर राखेको थियो । यसका कारण हजारौं नागरिकले सास्ती भोगिरहेका छन् ।
दैनिक ८ सय मात्रै आवेदन बुझ्ने
विभागले काठमाडौंमा दुई पांग्रेको लाइसेन्सका लागि दैनिक ६ सय मात्र आवेदन बुझ्न सक्ने बताएको छ । यस्तै गाडीको लाइसेन्सका लागि दैनिक २ सय मात्रै आवेदन बुझिने प्रवक्ता पाण्डेले बताए ।
‘हामीसँग दैनिक त्यो भन्दा बढी परीक्षा लिने र ट्रायल गर्ने पूर्वाधार र जनशक्ति छैन’ उनले भने,’दैनिक ८ सय लाइसेन्सको लागि परीक्षा फारम बुझिनेछ ।’
उनले पहिलो दिन बुधबार भने ठूलो भीड लाग्ने सक्ने भएकाले जतिसक्दो धेरै आवेदन बुझ्न बाग्मित अञ्चल यातायात कार्यालयलाई भनिएको बताए । कार्यालयमा लाइसेन्स वितरण सुरु गर्न तेजनारायण यादबलाई प्रमुखका रुपमा खटाइएको छ ।
एउटै लिखित परीक्षाले ती ट्रायल
अब लाइसेन्सका लागि एकपटक परीक्षा दिएपछि ३ पटकसम्म ट्रायल दिन पाइनेछ । ९० दिनभित्र एउटै लिखित परीक्षाबाट ३ पटक ट्रायल दिन सकिने गरी गरिएको व्यवस्थाले सर्वसाधारणलाई सहज हुनेछ ।
यातायात व्यवस्था नियमावलीमा गरिएको यस्तो व्यवस्थासहितको संशोधनअनुसार विभागका सफ्टवेयरहरु अपग्रेड गरिएको छ ।
उपत्यकाबाहिर अनिश्चित
विभागले उपत्याका बाहिर भने लाइसेन्स वितरणको काम कहिलेबाट सुरु हुने निश्चित नभएको बताएको छ । ‘सबै यातायात कार्यालयलाई हामीले तत्काल लाइसेन्स बाँड्ने कार्यायोजना बुझाउन भनेका छाैं’ प्रवक्ता डा. पाण्डेले भने,’कार्यायोजना आउनासाथ वितरण्का लागि हामी काम सुरु गर्नेछौं ।’
विभागले काठमाडौंमा लाइसेन्स वितरणको प्रक्रियाका लागि बिहान ६ बजे कार्यालय खुल्ने बताएको छ । त्यसअघि नै आएर लाइन नबस्न विभागले अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया 4