११ मंसिर, झापा । विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले हात पारेको छ ।
उसले रुपन्देही–११ लाई ५–३ गोल अन्तरले हरायो । योसँगै एपीएफले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाएको छ भने रुपन्देहीले २ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ ।
निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । रुपन्देहीका विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो भने विमल चुकेका थिए ।
एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटवालले गोल गरेका थिए ।
यसअघि ६४ औं मिनेटमा एपीएफका राजेन्द्र रावलले पहिलो गोल गरे । आदित्य चौधरीको फ्रि–किकलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । ७९ औं मिनेटमा रुपन्देहीका विमल घर्ती मगरले गोल गरेका थिए । सरोज कोइरालाको फ्रि-किकमा रजिन धिमालले गरेको हेडलाई सदुपयोग गर्दै विमलले हेड टु हेड गोल गरेका थिए ।
खेलमा एपीएफका आदित्य चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मेची मोबायलका प्रोप्राइटर खगेन्द्र नेपालले १५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन प्रदान गरे ।
म्यान अफ टुरनामेन्ट भने रुपन्देहीका विक्रम लामा भए । उनले लेनोभो मोबायलको मेची अञ्चल आधिकारिक विक्रेता क्वालिटी कम्प्यूटरर्सका प्रोप्राइटर दिपेश पाठकको तर्फबाट २५ हजार रुपैयाँ बराबरको एन्ड्रोइड फोन पाए ।
प्रतिक्रिया 4