+
+

कथा: चाँदनी २

सन्तोष खतिवडा सन्तोष खतिवडा
२०७३ मंसिर ११ गते १९:२०

आफ्नो मान्छेलाई जागिर दिलाउन व्यग्र चाँदनी, उनको सबैभन्दा प्राथमिकताको विषय त्यही थियो सायद । चाँदनी लेखिरहेकी थिइन् – ‘मैले हजुरलाई भनेर उसले ‘जव’ पाएको भन्ने चाहिँ उसलाई थाहा नदिनू है प्लिज ! उसले राम्रो मान्दैन ।’ म आज्ञाकारी बनेर ‌’ओके ओके’ मात्र टाइप गरिरहेको थिएँ । आँखामा हारको या पीडाको आँसु भरिएको अनुभव गरिरहेको थिएँ ।

च्याट छाडेर म उनको प्रोफाइल भित्र छिरेँ । मेरो आँसुको पर्दामा चाँदनी मुस्कुराइरहेकी थिइन् । लिपिष्टिकले लाल बनेको ओठलाई बिहानीको चिसोले नीलो थपिदिँदा कलेजी बनेका थिए । चिसोले नै होला सायद ओठ काँपेका जस्ता देखिन्थे । अनि ती काँपेका ओठ छिनछिनमा मुस्कुराउँदा अगाडि पट्टिका टम्म मिलेका सेता र चम्किला दाँतका लहरहरुले मुस्कानलाई थप आकर्षक बनाएको थियो । साँझपखको डुब्न लागेको घामको किरण निख्खर सेतो गुलाफको थुङ्गामा पर्दा जस्तो उज्यालो देखिन्छ, त्यस्तै उज्याली थिइन् उनी ।

कालो लामो कपाललाई शिरको बीच भागमा ठाडो सिउँदो बनाएर दुवैतर्फ छाडिदिएकी थिइन् । खुला छोडिएको कपाललाई मसिनो हावाको झोंक्काले हल्लाउँदा सप्तरंगी इन्द्रेणीको रङ हावामै देखिन्थ्यो । ठूल्ठूला बदाम जस्ता गाजलु आँखामा मादकता भरिएको थियो । गाजलले छोप्न नसकेको मादकताले उनीसँग जुध्ने जुनसुकै आँखालाई लठ्याउन सक्थ्यो । म पनि त लठ्ठिएको थिएँ, त्यही आँखाको मादकताले । बोली लरबरिएको थिएन अनि खुट्टा पनि काँपेका थिएनन् । मन भने अनियन्त्रित थियो । रक्सीको प्याला धेरै नै रित्याए झैं ।

सन्तोष खतिवडा
सन्तोष खतिवडा

उनको धेरै वटा म्यासेज आइसकेछ । पछिल्लो मात्र हेरें, ‘बाइ बाइ’ मात्र लेखिएको थियो । फेरि अर्को पल्ट पनि ओके लेख्न मन लागेन । ‘बाइ बाइ’ नै लेखिदिएँ । अझ प्रष्ट हुन चाहेँ र लेखिदिएँ, ‘हुन्छ म तपाईंको मान्छेलाई जव लगाइदिन्छु । उहाँको नम्बर दिनुहोला ।’

उताबाट मोबाइल नम्बरसँगै खुसी भएको स्माइली पनि आयो, र छिटै अफलाइन भएको संकेत पनि । उनी त अफलाइन भइन् तर म न अफलाइन हुन सकें न त केही सोच्न नै । मेरो सपनाको घर जहाँ चादनी थिइन्, त्यहाँबाट फुत्त अरु कसैलाई भित्र छिराएर आफू बाहिरिए झैं महसुस भयो मलाई । असाध्यै गह्रुङ्गो मन र दुखेको मुटु लिएर केहीछिन छट्पटिएँ ।

मेरो आफ्नो डिपार्टमेन्टमा पनि केही खाली ठाउँहरु थिए । तर, उसलाई आफ्नै डिपार्टमेन्टमा राखेर दिनदिनै भेट्ने इच्छा भएन । एकमन सोचे उसलाई ‘जव’ नै नदिए त भैहाल्यो नि । ‘जव’ नै नपाए त चाँदनीसँग विवाह पनि हुँदैन । तर, अर्को मन भन्दैथियो मैले जव नदिनाले चाँदनी र उसको विवाहको मिति त बदलिन सक्थ्यो होला, तर विवाह नै टर्ने त थिएन । चाँदनीको नजरमा मलाई खलपात्र बन्नु थिएन बरु उसको मान्छेलाई जागिर लगाएर उनीहरुको विवाह हुन सके उनको जीव यात्रामा मलाई सम्झिनेछिन् होला । चाँदनीको मन दुखाउनुभन्दा त्यही श्रेयष्कर लाग्यो ।

सरोज उर्फ चाँदनीको मान्छे । उसको नम्बर मेरो साथी अकाउन्ट डिपार्टमेन्टको चिफलाई दिएँ । यद्यपि मैले चाँदनीसँग उसको मान्छेको चाहना के मा काम गर्ने हो भनेर सोधेको थिइनँ। उसको अध्ययन, बसाइ र आकांक्षाहरु केही पनि बुझेको थिइनँ । सोचेँ, चाँदनीलाई सोधूँ एकपटक । तर, चाँदनीसँग उसको मान्छेको बारेमा कुरा गर्ने आँट नै भएन । उसको मान्छेको कल्पना गर्ने बित्तिकै ईर्ष्याले कमजोर हुन्थेँ म ।

मेरो साथीले सरोजलाई आफैं फोन गरेर बोलाए । अन्तर्वार्ताको औपचारिकता पनि पूरा भयो । र उनले जागिर पनि दिए । मेरो साथीसँग उसको बारेमा सोधेको पनि थिएँ । साथीले केटा टाठै भएको र काम गर्न सक्ने भनेर मलाई बताए । मलाई खुसी लाग्नुपर्ने हो, आफैंले सिफारिश गरेको मान्छे । तर, ईर्ष्या पो लाग्यो । ललाटमा चाँदनी लेखिएको रहेछ उसको । भाग्यमानी मोरो ! मलाई चाँदनी पाउनु नै सबैभन्दा ठूलो कुरा पाएको महसुस भयो । आफू बरु ऊ भइदिएको भए हुन्थ्यो नि भन्ने महसुस भयो । एक्कासि टोलाएँ । उसको ठाउँमा आफूलाई राखेर कल्पनाको संसारमा रमाएँ पनि ।

सरोजसँग कहिलेकाहीँ भेटघाट हुन्थ्यो । यद्यपि डिपार्टमेन्ट फरक भएकाले भेटघाट पातलो हुन्थ्यो । सरोजले मलाई सिनियरको रुपमा मात्र चिन्थ्यो । उसलाई चाँदनी दिलाउन चाँदनीको एउटै प्रस्ताव स्वीकारेर मैले ‘जव’ मिलाइदिएको उसलाई के थाहा ! चाँदनीसँग कुरासम्म हुन छाड्यो । सरोजले ‘जव’ पाएपछि चाँदनीबाट धन्यवादको राम्रै अपेक्षा गरेको थिएँ । गुलाफको फूलसरह नै हुन्थ्यो उनीबाट प्राप्त हुने धन्यवाद पनि । तर, कृतघ्न बनिन् चाँदनी । धन्यवाद दिन पनि कन्जुस्याइँ गरिन् ।

मंसिर आयो, सरोज र चाँदनीको विवाहको महिना । मंसिर १ गते नै मन ढक्क फुल्यो । सरोज आफैंसँग काम गर्ने भएकाले चाँदनीको विवाहको दिन थाहा पाउनु मेरो भाग्यकै कुरा थियो । मंसिरका छोटा दिन झनै छोटिँदै गए, तर सरोज र चाँदनीको विवाहको कुरा आएन । कौतुहल चिर्न न म सरोजलाई सोध्न सक्थेँ, न चाँदनीलाई ।

मंसिर सकियो । मंसिर सकिनु अरु महिना सकिनुभन्दा फरक मानेँ मैले । मंसिर पो सकिएको त । चाँदनीको विवाहको महिना पो सकिएको त । मनमा खोइ कस्तो कस्तो खुसी छाउन थाल्यो । तर, खुसी लामो टिकेन । माघको पहिलो साता नै सरोज आफ्नो विवाहको कार्ड लिएर मेरो कोठामा आइपुग्यो । विवाहको प्रीतिभोजमा जसरी पनि जानुपर्ने अनुरोध गर्न । सरोजको विवाहको कार्ड मैले हेर्न सकिनँ । त्यहाँ त मेरी चाँदनीको नामसँग अरु कसैको नाम जोडिएको छ । सरोज फर्कँदा उसलाई हेरिरहें … । ईर्ष्यालु थिए मेरा आँखाहरु ।

सरोजको प्रीतिभोजका लागि सबै जना तयार हुन थाले । म भने दोमन र दोधारमा । अफिसका सबै जनाको ढिपीले जाने निर्णय गरेँ । मनमा कता-कता आजको दिनसम्म आइपुग्नुमा हजुरको ठूलो हात छ भनेर धन्यवाद दिन्छिन् चाँदनीले भनेर खुसी हुन्थेँ । फेरि चाँदनी मेरी सपनाकी राजकुमारी अर्कैको भइसकेकी हेर्नुपर्ने बाध्यताले दुःखी बनाउँथ्यो ।

एक मनले सरोज र चाँदनीलाई नयाँ जीवनका लागि बधाई दिन म पूर्ण तयार भइसकेको थिएँ । तर, अर्को मन भारी थियो । कसरी अगाडि पर्ने ? बोली नै लरबरिने हो कि । पाइला चाल्न कठिन भए पनि अरुसँगै अघि बढिरहेको थिएँ । साथीहरुले अगाडि पुगेर बधाई दिइरहेका थिए । तर, मलाई पालो नआ‌ओस् जस्तो पनि लाग्दै थियो । मेरो पालो आइछोड्यो । अगाडि पुग्दा पो चकित परें । त्यहाँ त चाँदनी नभएर अर्कै युवती बेहुली शृंगार सरोजसँग उभिएकी थिइन् ।

चाँदनी कहाँ थिइन् ? चाँदनी कहाँ गइन् ? सरोजको विवाह किन चाँदनीसँग भएन ? चाँदनीको नम्बरमा फोन गरेँ । नम्बर प्रयोगमा नरहेको जानकारी पाएँ । चाँदनीको खोजी त्यहाँ सम्भव थिएन । म त्यहाँबाट हिँडेँ । केही दिनपछि सरोजबाट थाहा पाएँ, चाँदनी र सरोजको ब्रेकअप भइसकेको रहेछ । चाँदनीले अलि राम्रो स्टाटस भएको ठूलो कम्पनीमा काम गर्ने केटासँग नजिकिएपछि सरोज र उनको सम्बन्ध अन्त्य भएको रहेछ । सरोजले भनेको त्यो ठूलो कम्पनीको मान्छे, त्यो राम्रो स्टाटस भएको मान्छे को हो ?

चाँदनीले मेरो मनमा पो छाप छोडेकी त ! मेरो मुटुमा पो आफ्नो तस्विर सुरक्षित राखेकी त ! हाम्रो सम्बन्ध त पूरै एकतर्फी । कल्पना र सपनामा मात्र थिइन् चाँदनी । आँखा टोलाउँदा मेरो आँखा अगाडि आउने चित्र मात्र थिइन् मेरी चाँदनी । राम्रो स्टाटस भएको मान्छे को हो ? म त पक्कै होइन । म हुन्थेँ भने त हामीबीच त्यस्तो के प्रगाढता थियो र सरोजको शंका, आरोप या प्रश्नलाई खण्डन नै गर्न नसक्ने चाँदनीले ?

धेरै अनुत्तरित प्रश्नहरु बोकेर चाँदनीको खोजीमा दिनहरु, महिना र वर्षहरु बिते । विवाह गर्न आफ्नाहरुले ल्याएका प्रस्तावमा चाँदनीको नाम आइहाल्छ कि भन्ने अन्तिम कुराइ सार्थक नभएपछि मैले अप्सनासँग विवाह गरेँ । विवाहपछि श्रीमतीप्रति कर्तव्यनिष्ठ र वफादार श्रीमानको रुपमा रहे पनि मेरो मानसपटलबाट चाँदनीको छाप भने मेटिन सकेको थिएन । तैपनि सांसारिक नियमबाट म टाढा रहिनँ । केही समयपछि बाबु बन्दै थिएँ ।  मेरो बुबा-आमाको इच्छा अनुसार वंशज धान्ने छोरो जन्मिए भने अर्को सन्तान नजन्माउने विचार थियो । तर, अप्सनालाई उनी जस्तै सुशील छोरी चाहिएको थियो । ब्लड ग्रुप ओ नेगेटिभ भएकी मेरी श्रीमतीको प्रिगनेन्सी अलि कम्प्लिकेटेड नै थियो । डाक्टरको लगातारको फलोअपमा बच्चाको लिङ्ग पहिचान गर्ने कुरा हामीले कहिल्यै सोचेनौं । प्रसुति कालमा बच्चा र आमाको सुरक्षा सबैभन्दा प्राथमिक बनेको थियो ।

मान्छेको जीवनमा जे हुन्छ त्यो सोचेको या कल्पना गरेको भन्दा पृथक् पनि हुन्छ । अनि जे नसोचेको हुन्छ त्यसैलाई संयोग भनिन्छ सायद ।

धेरै वर्ष कुरिएकी अनि खोजिएकी चाँदनीलाई अस्पतालको प्रतीक्षालयमा देख्नु संयोग नै थियो । हाम्रा हेराइहरु ठोकिएका थिए । उनका आँखाले मलाई चिने या चिनेनन् । तर, मेरा आँखाले एकोहोरो हेरिरहन सकेनन् । मैले आँखा मोडें । वर्षौंअघि आँखाको तेजले मुहारबाट मेरा आँखा हटे झैं यस पल्ट पनि मेरा नजर ओर्लिए । चाँदनीको शरीर देख्दा प्रष्ट थियो, उनी पनि आमा बन्दै छिन् ।

छेउमा उनी जस्तै गोरी त्यस्तै आँखा भएकी बच्ची थिइन्, उनकै छोरी हो भन्ने अनुमान गर्न गाह्रो भएन । मैले इशाराले उनकी छोरीलाई बोलाएँ । आमाले कहिले बुझ्न नसकेको इशारा छोरीले के बुझ्थिन् ! उनी आइनन्, म गइनँ । वर्षौंपछि भेटिएकी चाँदनीसँग आँखा मात्र बोले । मेरा आँखाले केही बोले, तर उनका आँखाले केही बोले-बोलेनन् थाहा भएन । चाँदनीले जँचाइसकेपछि हाम्रो पालो आयो । यो पनि अर्को संयोग नै होला । डाक्टरको सहायक नर्सले चाँदनीसँग धेरैबेर कुरा गरिन् । उनी चाँदनीसँग राम्रै परिचित थिइन् भन्ने थाहा पाउन कठिन थिएन ।

श्रीमतीलाई डाक्टरले पर्दा पछाडिको बेडमा सुताएर जाँच गरिरहँदा म भने चाँदनीको बारेमा ती नर्ससँग जिज्ञासा राखिरहेको थिएँ ।

चाँदनी तीन छोरीकी आमा, एउटा राम्रो परिवारकी बुहारी, एउटा कम्पनीमा राम्रो स्टाटस भएको ब्यक्तिकी श्रीमती रहछिन् । त्योभन्दा पनि बढी चाँदनी छोरो पाउन नसकेकी दुःखी आमा, सभ्य र शिक्षित परिवारकी प्रताडित बुहारी रहिछिन् । मानसिक रुपमा पटक्कै खुसी नरहेकी चाँदनी यस पटक छोरो जन्माउनेमा विश्वस्त रहिछिन् । नर्सलाई धन्यवाद दिँदा मेरा आँखा रसाएका थिए । चाँदनीको दुःखमा रसाउने आँखा र ब्याकुल हुने मन मात्र मेरो चाँदनीप्रतिको प्रेमका साक्षी थिए ।

मेरी श्रीमतीको केस क्रिटिकल थियो । सिजरिङ गर्ने दिन तय गर्दा हामी केही अत्तालिएका थियौं । अपरेसन थिएटरको अगाडि म डाक्टर या नर्सको आगमनको प्रतीक्षामा थिएँ । अपरेसन थिएटरबाट मलाई बोलावट आयो । छोरो भएको खबर पाएँ । मेरो र परिवारको लागि असाध्यै खुसीको पल थियो त्यो । श्रीमतीलाई भने आईसीयुमा लग्नुपर्ने भएछ । सर्जन साथी नै थियो । छोरा काखमा नै च्याप्न दियो । छोरा च्यापेर उसको अबोध मुहारमा हेरिरहँदा श्रीमतीको चिन्ताले भने व्यग्र थिएँ । सँगैको पर्दाभित्रबाट नर्सको आवाज सुनेँ “हरे ! फेरि छोरी भएछ, अल्ट्रासाउण्डको रिपोर्ट पनि फेल भएछ, कस्तो अभागी रहिछिन् चाँदनी दिदी !” नर्सको आवाज सानो हुँदै हरायो ।

म काखको छोरा च्याप्दै पर्दाभित्र छिरेँ । कोठाभित्र चाँदनी अर्धचेत अवस्थामा थिइन् । म भित्र छिर्दा उनका ओ‌ठ चलमलाए । केही बोल्न चाहन्थिन् होला, सकिनन् । तर, पीडाका बीच पनि उनको ओठमा मुस्कान देखिन्थ्यो, सायद उनलाई लागेको होला, उनको कोखबाट छोराको जन्म भएको छ । उनको मुस्कानमा टोलाएर रमाउने मेरो मनमा यस पटकको मुस्कानले चरम पीडा मिश्रित द्वन्द्व उत्पन्न गरायो ।  उनको बेडसँगै रहेको बच्चा राख्ने कोक्रोमा आफ्नो काखको छोरोलाई पनि राखिदिएँ । दुवै बच्चा एउटै कोक्रोमा थिए । छोराको असाध्यै माया लाग्यो । आँखा रसाए । छोराको नाडीमा लगाएको ट्याग उप्काएँ र चाँदनीकी छोरीको नाडीमा लगाइदिएँ । छोरीको नाडीको ट्याग मेरो छोराको नाडीमा । रसिलो आँखाले छोरालाई अन्तिम पल्ट हेरें र सँगैकी चाँदनीकी छोरीलाई काखमा च्यापेर त्यहाँबाट हिँडें ।

चाँदनीलाई हेर्न भ्याइनँ या सकिनँ । मनमनै भनेँ, मेरो मुटुको टुक्रा, मेरो छोरा अब तिम्रो छोरा । यो तिमीलाई, तिम्रो खुसीको लागि । तिम्रो निशानी मसँग सधैँ सधैँको लागि… ।

चाँदनी भाग १ को लागि यो लिंक क्लिक गर्नुहोस् 

कथाः चाँदनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?