७ पुस, काठमाडौं । विप्लव माओवादीले विहीबार काठमाडौं उपत्यका बन्द आह्वान गरेकाले जनताले सास्ती भोग्नुपरेको छ ।
सधैं भिडभाड हुने काठमाडौं उपत्यका आज तुलनात्मक रुपमा खुकुलो छ । सार्वजनिक तथा निजी गाडीहरु र मानिसहरुको चहल-पहल अघिल्ला दिनको तुलनामा कम छ । तर, पूर्णरुपमा बन्द चाँहि हुन सकेको छैन ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा गरिएको बन्दको आंशिक प्रभाव परेको छ । सरकारलाई दबाव दिने उद्देश्यले बन्द गरिए पनि सर्बसाधारणले सास्ती भोगेका छन् ।
बिहीबार बिहान नयाँ बसपार्क क्षेत्रमा अनलाइनखबरकर्मी पुग्दा यात्रुहरु अलमलमा परेको देखियो । गाडी नपाएर कोही बालबच्चा र गह्रुंगो भारी बोकेर गन्तव्यतर्फ जाँदै थिए । कोही गाडी पाउने आशमा कुरिरहेका देखिन्थे ।
कोही मालबाहक टिप्पर चढेर भए पनि गन्तव्यमा पुग्न आतुर थिए । कोही भाडामा बार्गेनिङ गरिरहेका भेटिए ।
रिंगरोडमा सार्वजनिक यातायातका साधन निर्वाध चलिरहेका भए पनि कतिपय भित्रीरुटमा सार्बजनिक यातायातका साधन कम चलेका छन् ।
सफा टेम्पो, माइक्रो बस र ट्याक्सीहरु फाट्ट फुट्ट चलिरहेका छन् । चार पांग्रे निजी सवारी साधन अघिल्लो दिनको तुलनामा कम चले पनि मोटरसाइकलहरु निर्वाध चलिरहेका छन् । साझा बसले सधैं जस्तै आफ्नो सेवा जारी राखेको छ ।
शिक्षण संस्था बन्द भए पनि बजार, पसल भने फाट्ट फुट्ट खुलेका छन् । यसैवीच बन्द गराउँदै हिँडेका विप्लव माओवादीका १४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया 4