२६ पुस, काठमाडौं । घ्यु र चाकु खाने माघे संक्रान्ति पर्व नजिकिँदै छ । यतिबेला चाकु उत्पादन गर्नेहरुको व्यस्तता पनि बढेको छ ।
काठमाडौंको टोखा चाकुका लागि निकै प्रख्यात छ । विभिन्न ठाउँबाट अर्डर आउने भएकाले यस क्षेत्रका चाकु व्यापारीहरू माघे संक्रान्ति आउनु दुई महिनाअघिदेखि नै व्यस्त हुने गर्छन् ।
स्थानीय व्यापारी बुद्ध श्रेष्ठले सिजनको व्यापार भएकाले व्यस्तता बढ्नु स्वाभाविक भएको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘दुई महिना अगाडिदेखि नै अर्डर आएको थियो, पुस १५ देखि चाकु बनाउने चटारोले छोपेको छ ।’
उनले सादा चाकुसँगै खुवाको चाकु, झोल चाकु, तिलको लड्डु लगायत विभिन्न परिकार बिक्री गर्छन् । त्यसबाट यो सिजनमा करिब ४० लाख रुपैयाँको व्यापार हुने उनले बताए ।
चाकु बनाउन श्रेष्ठको स्टोरमा २७ जना खटिने गर्छन् । चार वटा चुलो हरदम बलिरहेकै हुन्छ । दिनमा १६ देखि १८ घन्टा व्यस्त भइने श्रेष्ठले बताए ।
उत्पादित चाकु बिक्रीका लागि राजधानीसँगै उपत्यका बाहिरका अधिकांश जिल्लामा पुग्ने गर्छ ।
माघे संक्रान्तिमा चाकु, घ्यूसँगै तिलौरा, तरुल, खिचडी लगायत विविध परिकार खाने गरिन्छ । यी परिकारले जिउमा न्यानोपन बढाएर चिसोबाट जोगाउने भएकोले स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ ।
प्रतिक्रिया 4