पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ । यो समस्याले सबैभन्दा बढी महिलालाई सताउँछ ।
तर आजभोलि यो समस्या बच्चामा पनि देखिरहेको छ । बच्चामा पनि बालिकामा यो समस्या बढी देखिएको पाइन्छ ।
यस्तोमा बच्चामा पिसाब संक्रमण हुँदा उनीहरुलाई देखिने गरी गम्भीर लक्षण देखिसकेपछि मात्र अभिभावकले थाहा पाउँछन् । किनकि उनीहरुले आफूमा के भइरहेको छ भनेर भेउ पाउँदैनन् । तसर्थ, अभिभावकले नै उनीहरुको स्वास्थ्यबारे सचेत हुनैपर्छ ।
बच्चामा पिसाब संक्रमण देखिने कारण
विशेषगरी ई–कोलाई नामक जीवाणुका कारण पिसाबमा संक्रमण हुन्छ । पिसाब आफैंमा जीवाणु हुँदैन । तर मलद्वार नजिकको संक्रमित छालाबाट सजिलै उक्त जीवाणु मूत्र प्रणालीमा प्रवेश गर्छ । मूत्रथैलीमा पिसाब केहीबेर थेग्रेर बस्दा पनि त्यहाँ ब्याक्टेरियाले उम्रिन सक्ने उपयुक्त वातावरण पाउँछ ।
संक्रमण हुनुमा विभिन्न पक्ष जिम्मेवार हुन्छन् । डाइपरको गलत प्रयोगले पनि बच्चामा संक्रमण देखिन्छ । कस्तो अवस्थामा ? जब बच्चालाई लगाइदिएको डाइपर परिवर्तन गरिंदैन । परिवर्तन नगर्दा पटक-पटक पिसाब गर्दा ब्याक्टेरिया डाइपरमै विकास हुन्छ । यसले संक्रमण गराउने सम्भावना उच्च हुन्छ ।
स्कुले बालबालिकामा भने पिसाब आउने बित्तिकै नफर्किने वा फेर्ने वातावरण नभई घण्टौंसम्म रोकेर राख्ने, बालिकाको दिसा धुँदा हात पछाडिबाट अगाडि लैजानु, प्रशस्त पानी नपिउने, बालकको लिंगको टुप्पोको मासु पछाडि फर्किएको हुनु र अन्डरवेयर दैनिक परिवर्तन नगर्दा पिसाब संक्रमण हुनसक्छ ।
कहिलेकाहीं बनावटकै कारणले पनि पिसाब संक्रमण हुनसक्छ । जस्तो कि मूत्र वाहिनी र मूत्रथैली सानो हुनु । आमामा पिसाब संक्रमण भइराख्ने समस्या भएमा सन्तानलाई हुनसक्ने जोखिम रहन्छ । बनावट सम्बन्धी समस्या विरलै देखिन्छ ।
लक्षण
पिसाब पोल्नु, गन्हाउनु, थोरै आउने तर पटक-पटक आउनु जस्ता लक्षण सुरुवातमा देखिन्छ भने अवस्था गम्भीर हुँदा ती लक्षण सहित ज्वरो आउने, आलस्य हुने जस्ता लक्षण देखिन्छ । किशोरावस्थामा भने तल्लो पेट र कम्मर पनि दुख्ने लक्षण हुनसक्छ ।
संक्रमण भएको लामो समय भए पिसाबमा रगत समेत देखा पर्न सक्छ । मिर्गौलासम्म पुगेको संक्रमणमा भने बच्चालाई अत्यधिक काम ज्वरो आउने, आमाको दूध खान नरुचाउने, वाकवाकी लाग्ने, बान्ता गर्ने लगायतका लक्षण देखिन्छ ।
पहिचान तथा उपचार
यसको लक्षण देखिएपछि युरोलोजिस्ट चिकित्सा विभागमा परीक्षण गराउनुपर्छ । सम्भवत: लक्षणबाटै यसको संक्रमणको अनुमान गरिन्छ ।
पिसाबमा वास्तविक संक्रमणको स्थिति पत्ता लगाउन प्रयोगशालामा पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । संक्रमण पत्ता लागेपछि आवश्यकअनुसार उपयुक्त एन्टिबायोटिक दिइन्छ ।
उपचारपछि पनि एकपटक पिसाब कस्तो छ भनेर पुनः हेरिन्छ ।
पिसाबमा संक्रमण हुँदैमा मिर्गौलासम्बन्धी गम्भीर समस्या देखिन्छ ?
पिसाब संक्रमण हुने बित्तिकै मिर्गौलामा समस्या देखिंदैन । यसको उपचारपछि ठीक हुन्छ ।
तर लक्षण देखिंदा देखिंदै उपचार भएन र महिनैपिच्छे पटक-पटक संक्रमण भएमा मिर्गौलाको दीर्घ समस्या हुनसक्छ । उपचार गर्न जति ढिला भयो त्यति संक्रमण मूत्र वाहिनी हुँदै मिर्गौलातर्फ जाने गर्छ ।
मिर्गौला र मूत्र वाहिनीको संक्रमण हुनु भनेको जटिल स्थिति हो । यसको बेलैमा उपचार नगरिए मिर्गौला फेल हुनेदेखि लिएर अन्य अंगमा असर गरी अवस्था गम्भीर हुनसक्छ ।
कसरी बच्ने ?
– प्रत्येक पटक दिसा, पिसाब गरेपछि मूत्र प्रणालीको बाहिरी अंग सानो बच्चा भए अभिभावकले र बच्चा आफैं गर्न सक्ने भए राम्ररी सफा गर्न लगाउने ।
– पिसाबसम्बन्धी समस्या देखिने बित्तिकै विशेषज्ञलाई देखाउने ।
– आफ्ना बालबालिकालाई पिसाब रोक्न हुँदैन भनेर सिकाउने ।
– प्रशस्त पानी तथा झोलिलो खानेकुरामा जोड दिने ।
– बच्चाको पिसाब कस्तो छ भनेर बेलाबखतमा हेर्ने ।
– डाइपर पटक-पटक परिवर्तन गरिदिने ।
– भित्री वस्त्र सुतीको प्रयोग गराउने ।
प्रतिक्रिया 4