+

स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?

२०८१ असोज  ४ गते १४:३१ २०८१ असोज ४ गते १४:३१
स्ट्रोकको प्राथमिक उपचार कसरी गर्ने ?

मस्तिष्कमा रक्त सञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्थालाई स्ट्रोक भनिन्छ । अत्यावश्यक पोषक तत्त्वबाट वञ्चित भएको केही मिनेटमै मस्तिष्कका कोषिकाहरु मर्न थाल्छन् । यस्तो अवस्थामा तत्काल आपतकालीन मद्दत आवश्यक हुन्छ । जति चाँडो उपचार हुन्छ, क्षति हुने सम्भावना त्यति नै कम हुन्छ । स्ट्रोक भएको कसैलाई मद्दत गर्न वा स्ट्रोकका लागि प्राथमिक उपचार प्रदान गर्न, यसको संकेतबारे सचेत हुनु महत्त्वपूर्ण छ ।

शरीरको एक भागमा अचानक कमजोरी अनुभव हुनु, बोल्न कठिन हुनु, मुख बाङ्गिनु र बोली लरबराउनु, एक आँखाले हेर्नमा कठिनाइ हुनु, अचानक टाउको दुख्नु, हिंड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु आदि स्ट्रोकका लक्षणहरु हुन् ।

के कारणले हुन्छ स्ट्रोक ?

स्ट्रोकको प्रमुख कारण मस्तिष्कमा आवश्यक रगत र अक्सिजन सञ्चारमा कमी हुनु हो । रक्तनली साँघुरो भएर रगत बग्ने बाटो बन्द हुँदा रक्तसञ्चार कमी हुन्छ । मस्तिष्कमा रक्त सञ्चार नपुगेमा मस्तिष्क पनि सुकेर जान्छ । रक्तनली जाम हुनुका कारण नली खुम्चिएर साँगुरो हुनु वा कणले रक्तनली बन्द हुनु हो । जुनसुकै कारणले रक्तनली जाम भएपनि मस्तिष्कमा रक्तसञ्चार कम भई स्ट्रोक हुनसक्छ ।

स्ट्रोकको प्राथमिक उपचार

सबैभन्दा पहिले डाक्टरलाई फोन गर्नुपर्छ

स्ट्रोकको प्राथमिक उपचारमा, लक्षण देखिएमा सबैभन्दा पहिले डाक्टरको मद्दत लिनुपर्छ । कहिलेकाहीं स्ट्रोकका लक्षण सामान्य व्यक्तिलाई बुझ्न गाह्रो हुनसक्छ । तसर्थ, यदि आफू वा अरू कसैमा कुनै असामान्य लक्षण देख्नुभयो भने गम्भीर क्षतिलाई रोक्न आपतकालीन मद्दत खोज्नु उत्तम हुन्छ । त्यसका लागि चिकित्सकको सहयोग लिनुपर्छ ।

स्ट्रोकका लक्षण देखा परेको समयलाई ध्यान दिनुपर्छ

स्ट्रोकको समस्या भएका व्यक्तिलाई क्लट बस्टिङ औषधि दिइन्छ । यसले लक्षण सुधार गर्न र रोक्न मद्दत गर्छ । यो औषधि लक्षणहरू सुरु भएको लगभग चार घण्टाको हाराहारीमा दिइन्छ । साथै बिरामीलाई अन्य थेरापी पनि दिइन्छ । स्ट्रोक निम्त्याउने क्लटलाई शल्यक्रिया मार्फत हटाइन्छ ।

इस्केमिक स्ट्रोकका लागि सर्जिकल उपचार लक्षण देखा परेको २४ घण्टाभित्र दिइन्छ । तसर्थ, यदि व्यक्तिमा स्ट्रोकको लक्षण देखिन्छ भने लक्षण देखिएको समयलाई नोट गर्नुपर्छ ताकि बिरामीको उचित उपचार होस् । यो पनि स्ट्रोकका लागि प्राथमिक उपचारको एक आवश्यक भाग हो ।

स्ट्रोकको प्राथमिक उपचारमा सीपीआर प्रयोग गर्नुहोस्

धेरैजसो स्ट्रोकका बिरामीले सीपीआर दिनु पर्दैन । तर कसैको मुटुको धड्कन बन्द भयो र उसले श्वास समेत फेरेको छैन भने त्यो अवस्थामा सीपीआर गरिन्छ । सीपीआर गर्दा सही प्रविधि अपनाउन महत्त्वपूर्ण हुन्छ, त्यसैले चिकित्सकलाई सोध्न सकिन्छ ।

बिरामीलाई सीपीआर दिंदा टाइट लुगा खोलेर हत्केलाको चुचुराले छातीमा राखेर थिच्नुपर्छ । थिच्दाखेरि एक मिनेटमा १२० पटकको गतिमा ३० भन्दासम्म थिच्नुपर्छ । त्यस्तै, नाक बन्द गरेर आफ्नो मुख बिरामीको मुखको वरिपरि राख्नुपर्छ र फू गर्नुपर्छ ।

स्ट्रोकको प्राथमिक उपचार गर्दा यी कुरालाई ध्यानमा राख्नुहोस्

स्ट्रोकको प्राथमिक उपचार सुझावहरू पालना गरेपछि चिकित्सा मद्दतको लागि पर्खंदा निम्न बुँदाहरू दिमागमा राख्नुपर्छ ।

– बिरामीलाई आरामले सुत्न लगाएर उसको टाउकोमा सिरानी राखेर सपोर्ट दिनुपर्छ ।

– बिरामीलाई सामान्य तापमानमा राख्नुपर्छ र टाइट लुगा खोलिदिनुपर्छ ।

– बिरामीलाई केही खान र पिउन दिनु हुँदैन ।

– चिकित्सकको सल्लाह विना बिरामीलाई कुनै पनि प्रकारको औषधि दिनु हुँदैन ।

– बिरामीलाई निदाउन वा बोल्न दिनु हुँदैन ।

स्ट्रोकपछि निको हुन कति समय लाग्छ ?

स्ट्रोकका लागि प्राथमिक उपचारपछि स्ट्रोकको रिकभरी प्रक्रियाका लागि लाग्ने समय धेरै कारकहरूमा निर्भर हुन्छ । यसमा बिरामीले कति चाँडो उपचार पाए र बिरामीमा अन्य कुनै चिकित्सा अवस्था छ कि छैन भन्ने समावेश हुन्छ ।

रिकभरीको पहिलो चरणलाई एक्युट केयर भनिन्छ, जुन अस्पतालमा हुन्छ । यस चरणमा बिरामीको अवस्था मूल्यांकन, स्थिर र उपचार गरिन्छ । स्ट्रोकबाट पीडित व्यक्तिले एक हप्ता वा बढी कुर्नुपर्छ ।

स्ट्रोक रिकभरीको दोस्रो चरणमा रिह्याब्लिटेसन हुन्छ । जसमा मोटर स्किल र गतिशीलतालाई सुधार गर्दै लगिन्छ । मांसपेशीको तनाव कम गर्न थेरापी पनि गरिन्छ ।

स्ट्रोकको जोखिम कारक

उमेर बढ्दै जाँदा स्ट्रोकको जोखिम पनि बढ्छ । साथै उच्च रक्तचाप, पहिले कहिल्यै स्ट्रोक भएको, धुम्रपान, मधुमेह, उच्च रक्तचाप र मुटुरोग स्ट्रोकको कारक तत्त्वहरू हुन् ।

स्ट्रोकबाट बच्न के गर्ने ?

स्ट्रोक गराउन सक्ने सम्भावित कारकमा ध्यान दिए ९० प्रतिशत यसको जोखिमबाट बच्न सकिन्छ । स्ट्रोकबाट बच्न मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्ने तथा औषधि नियमित रुपमा खानुपर्छ ।

त्यस्तै, अत्यधिक मोटोपन पनि स्ट्रोकको कारक मानिने हुँदा यसलाई नियन्त्रण गर्न योग, व्यायाम गर्ने र खानपिनमा ध्यान दिनुपर्छ ।

दैनिक दिनचर्यामा नियमित रूपमा योग, शारीरिक श्रम वा ध्यान समावेश गर्दा शरीर त फिट हुन्छ नै  शरीर र दिमागलाई पनि शान्त राख्छ ।

मदिरा र धुम्रपान नगर्ने, कुनै पनि काम गर्दा आरामले गर्ने र तनाव नलिई गर्नुपर्छ । दैनिक आठ घण्टा सुत्नु आवश्यक छ । ४० वर्षपछि नियमित रूपमा मेडिकल चेकअप गराउनुपर्छ ।

प्राथमिक उपचार स्ट्रोक
डा. शुभद्रा भण्डारी
लेखक
डा. शुभद्रा भण्डारी
इन्टरनल मेडिसिन

डा. भण्डारी हाल कैलालीको अत्तरिया अस्पतालमा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७३४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय