+
+

आविष्कार केन्द्रले बनाउँदैछ वीर अस्पतालका बिग्रेका उपकरण

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ असोज २ गते १९:५४

२ असोज, काठमाडौं । वीर अस्पतालमा युरोलोजी विभागको अप्रेशन कक्षमा सी–आर्म मेसिन बिग्रिएको सात महिना भइसक्यो ।

अस्पतालले उक्त मेसिन बिक्री गर्ने कम्पनीलाई मर्मत गरिदिन पटक पटक बोलायो । कम्पनीका मानिसहरु मेसिन हेर्दै फर्किँदै गए । जति पटक आए पनि उनीहरुको एउटै जवाफ हुन्थ्यो– यो मेसिन बन्दैन ।

पाँचपटक भन्दा बढी कम्पनीले मर्मत गर्न नसक्ने जवाफ दिएपछि अस्पताल प्रशासनले सी–आर्म मेसिन थन्क्यायो । सी–आर्म मेसिन एक्स–रे प्रविधिमा आधारित एक उन्नत मेडिकल इमेजिङ उपकरण हो ।

गत १८ भदौमा वीर अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच बिग्रिएका उपकरणको मर्मत गर्ने सम्झौता भयो । सम्झौता भएको केही दिनपछि नै आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर सहितको टिमले बिग्रिएका उपकरण मर्मत सुरु गरेका छन् ।

‘सी–आर्म मेसिन नबन्ने जवाफ दिएपछि हामीले थन्क्याइसकेका थियौं’, अस्पतालका युरोलोजी विभागका प्रमुख डा. रविनबहादुर बस्नेतले भने, ‘तर केन्द्रका इन्जिनियरले १० मिनेटमै मर्मत गरिदिए । अहिले सञ्चालन गरेर सेवा दिइरहेका छौं ।’

५ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग बिग्रिएका उपकरण मर्मतको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणको मर्मत र उपकरणको अवस्था राष्ट्रिय आविष्कार केन्द्रले पत्ता लगाउनेछ ।

वीर अस्पताल र आविष्कार केन्द्रबीच भएको सम्झौता ।

केन्द्रका प्रमुख महावीर पुनका अनुसार अहिले वीर अस्पतालमा उपकरण बनाउने काम घमाधम भइरहेको छ भने कान्ति बाल अस्पतालमा सम्झौता गर्ने अन्तिम चरणमा छ ।

त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गंगालाल अस्पताल लगायतका अस्पतालमा केही समयमा उपकरण बनाउन थालिने छ ।

बिग्रिएको उपकरण कसैले मर्मत गर्न तयार नहुने भएकाले आफूहरुले सेवा भावको हिसाबले काम गरिरहेको बताए । ‘अस्पतालमा जे–जे उपकरण बिग्रिएका छन् । त्यसको मर्मत गर्छौं’, पुनले अनलाइनखबरसँग भने, ‘वारेन्टी सकिएको उपकरणलाई बनाउँछौं । मर्मत गर्न नसक्ने उपकरणलाई बनाउन सक्दैनौं भनेर सिफारिस गर्छौं ।’

पुनका अनुसार हाल बायोमेडिकल इन्जिनियरसहित १२ जनाको टोली वीर अस्पतालका बिग्रेका उपकरण मर्मतमा खटिरहेको छ ।

सुरुमा आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने वा नसकिने छुट्याउनेछन् । त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी मर्मत हुनेछ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार अस्पतालका प्राविधिक र आविष्कार केन्द्रका जनशक्तिले बिग्रिएका उपकरण संकलन र मर्मतको लागत अनुमान गर्ने काम गरिरहेका छन् ।

‘भेन्टिलेटर, आईसीयू बेड र केही ठूला उपकरण बनाइसक्नु भएको छ । बिग्रिएका समानको लिष्ट बनाउने काम पनि भइरहेको छ’, डा. पौडेलले भने, ‘बर्षौंदेखि थन्किएका उपकरण मर्मत गर्न सहज भएको छ ।’

स्वास्थ्य मन्त्रालयसँग कुन अस्पतालमा कति उपकरण छन्, कति बिग्रिएर वा थन्क्याएर राखिएको छ भन्ने तथ्यांक छैन । सरकारले ठूलो धनराशी खर्च गरेर खरिद गरेका र दाताले दिएका धेरै स्वास्थ्य उपकरणहरु अस्पतालको स्टोरमा थन्किएका छन् ।

एक उदाहरण हो, वीर अस्पतालको युरोडाइनामिक मेसिन ।

युरोविभागका प्रमुख डा. बस्नेतका अनुसार युरोडाइनामिक मेसिन सात वर्ष पहिले किनिएको थियो । तर बिक्रेता कम्पनीले उक्त मेसिन जडान नगरिदिँदा सञ्चालनमा नै आएको थिएन ।

वीर अस्पतालमा अक्सिजन प्लान्ट मर्मतका क्रममा आविष्कार केन्द्रका प्राविधिकहरु ।

तीन वर्षअघि कम्पनीले मेसिन नबन्ने जवाफ दियो । त्यसपछि अस्पताल प्रशासनले यसलाई एउटा कोठामा थन्क्याएर राखेको थियो । यस्तै, मिर्गौलामा रहेको पत्थर फुटाउने (सीएसडब्लुएल) उपकरण पनि थन्किएको छ ।

अहिले यी दुवै उपकरण आविष्कार केन्द्रका जनशक्तिले मर्मत गरिरहेका छन् । ‘बायोमेडिकल इन्जिनियरको टोलीले हेरिराख्नुभएको छ । मर्मत हुने आश्वासन दिनुभएको छ’, डा. बस्नेत भन्छन्, ‘ससना कुराले पनि बिग्रिएर थन्किएका उपकरण धेरै छन् । आशा गरौं, ती सबै बनेर नागरिकले सेवा पाउँछन् ।’

अस्पतालका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य उपकरण बेच्ने कम्पनीले वारेन्टी बाँकी भए पनि मर्मत गर्नका लागि कुनै चासो दिँदैनन् ।

‘कम्पनी अर्को सामान भिडाउनै केन्द्रित हुन्छ । अस्पतालमा नेतृत्व गर्ने पदाधिकारी पनि नयाँ खरिद गर्न पाए कमिशन पाइने लोभमै लाग्छन्’, ती कर्मचारी भन्छन्, ‘बिग्रिएका उपकरणको लेखाजोखा छैन । यी उपकरण बने भने नयाँ खरिद गर्ने होडबाजी बन्द हुन्थ्यो ।’

२६ सय स्वास्थ्य उपकरण प्रयोगविहीन

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले केही समयअघि गरेको सर्वेक्षणमा सामान्य औजारदेखि जटिल र महंगा मेसिन हजार भन्दा बढी संख्यामा थन्किएको देखिएको छ ।

कोरोना महामारीमा सरकारले खरिद गरेका देखि दातृ निकायले दिएका दुई हजार ६४५ स्वास्थ्य उपकरण देशका ठूला अस्पतालले प्रयोगमै नल्याएर थन्क्याएको महाशाखाका आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए । यस्तै, एक हजार ८२३ उपकरण मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने भएपनि प्रयोगविहीन अवस्थामा छ ।

विभागको तथ्यांक अनुसार ९७७ वटा अक्सिजन कन्सेन्ट्रेटर, ३७४ वटा सिरिन्ज पम्प, २८५ वटा इन्फ्यूजन पम्प, २६८ वटा मल्टी प्यारामिटर मनिटर लगायत अन्य महत्वपूर्ण उपकरण छन् ।

यी उपकरणमध्ये अधिंकाश एकपटक पनि प्रयोग नगरी बिग्रिएका छन् । यसले स्वास्थ्य क्षेत्रमा स्रोतको अपव्यय र व्यवस्थापनमा रहेको कमजोरीलाई देखाएको छ ।

अब राष्ट्रिय आविष्कार केन्द्रको संलग्नतासँगै, यी उपकरणहरूलाई पुनः प्रयोगयोग्य बनाउने आशा पलाएको मन्त्रालयका अधिकारी बताउँछन् ।
जटिल स्वास्थ्य उपकरणको मर्मत गर्न केन्द्रसँग बायोमेडिकल इन्जिनियर लगायतका दक्ष जनशक्ति रहेको आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए ।

‘जनताले सेवा पाउँछन् भन्ने हिसाबले काम गर्न लागेका हौं । ती समान मर्मत गरेर आविष्कार केन्द्रलाई केही लाभ हुँदैन’, पुनले भने, ‘अस्पताललाई काम गर्ने जनशक्तिलाई खाजा खर्च दिन मात्रै भनेका छौं ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी धेरै अस्पतालले आफूसँग भएका उपकरण बिग्रिएको भन्दै नयाँ उपकरणको माग गरिरहेको बताउँछन् ।

‘अधिकांश उपकरणको स–सना कुरा बिग्रिएर बसेका छन् । त्यसलाई मर्मत गरे प्रयोगमा ल्याउन सकिन्छ भनेर आविष्कार केन्द्रलाई जिम्मेवारी दिएका हौं’, डा. बुढाथोकी भन्छन् ।

डा. बुढाथोकीका अनुसार आविष्कार केन्द्रले मर्मत गर्न नमिल्ने उपकरणहरूलाई छुट्याउनेछ र मर्मत गर्न मिल्नेहरूलाई मर्मत गरेर अस्पताललाई हस्तान्तरण गर्छ । यदि अस्पतालको बजेट अनुसार मर्मत गर्न नसक्ने अवस्था भएमा मन्त्रालयसँग बजेट माग गर्न सक्छन् ।

‘खरिद गरिएका कम्पनीसँग वारेन्टी र ग्यारेन्टीको समय ननाघ्दै बिग्रिएका उपकरणहरू कम्पनीले नै मर्मत गर्नेछन् । आविष्कार केन्द्रले ग्यारेन्टी सकिएका उपकरणहरू मात्रै मर्मत गर्नेछ’, डा. बुढाथोकीले भने ।

आपूर्ति शाखाका प्रमुख डा. चौरसियाले आईसीयू, भेन्टिलेटर, र भिडियो एक्स–रे जस्ता महँगा उपकरणको धेरै माग हुने र बिग्रिएका उपकरण मर्मत गर्दा ठूलो आर्थिक स्रोत जोगिने बताए । ‘थन्किएका उपकरणलाई मर्मत गरेर पुनः सञ्चालन गर्न सक्यौं भने नयाँ खरिद गर्नु पर्दैन र ठूलो रकम बचत हुन्छ’ उनी भन्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?