+

किन आउँछ छालामा दाद ?

२०८१ असोज  ४ गते १८:११ २०८१ असोज ४ गते १८:११
Shares
किन आउँछ छालामा दाद ?

छालामा खस्रो, फुस्रो र चिलाउने ‘रिङ’ जस्तो आकार देखा पर्‍यो भने त्यसलाई बोलीचालीको भाषामा दाद आएको भन्ने गरिन्छ । दादलाई चिकित्सकीय भाषामा फंगल संक्रमण भनिन्छ । यसले छालामा मात्र नभई नङ र कपालमा पनि देखा पर्न सक्छ ।

दाद कुनकुन ठाउँमा देखा पर्छ ?

गर्मी महिना सुरु भएपछि बढ्दो तापक्रम र आर्द्रता बढेसँगै दादको समस्या उत्पन्न हुने गर्छ । फंगल संक्रमण शरीरको सबै भागमा देखिन सक्छ । तर विशेषगरी छालाहरु एकापसमा जोडिन क्षेत्रमा दाद देखिन्छ ।

छालाको काप जस्तै, काखी, काँच, घाँटी, महिलाको छातीको मुनिको भागमा आउँछ । किनकि त्यस ठाउँमा पसिनाले भिजेको हुन्छ । यस्तोमा सरसफाइमा ध्यान दिएन भने त्यस्ता काछमा आउन सक्छ ।

त्यस्तै, हातको तुलनामा खुट्टाको नङमा बढी दाद देखिन्छ । किनभने हात पटक-पटक सफा हुन्छ । तर खुट्टा तुलनात्मक रुपमा कम पखालिन्छ । जो बढी जुत्ता मोजा लगाएर बस्छन् उनीहरुमा बढी देखिन्छ । दिनभर मोजामा गुम्सिएर बस्दा पनि पसिनाले भिजेर ढुसी पर्न सक्छ ।

माटोमा काम गर्ने, पार्लरमा मेनिक्योर र पेडिक्योर गराएको सामान सफा नगरी अर्कोमा प्रयोग गर्दा दाद हातको नङमा सर्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोग लागेकाहरूमा पनि दाद आउने सम्भावना रहन्छ ।

फङ्गलका प्रकार

फङ्गल एक मात्र नभई धेरै थरीका हुन्छन् । टाउकोमा आउने दादलाई ‘टिनिया क्यापिटिस, जीउमा आउने दादलाई ‘टिनिया कर्पोरिस’, काछमा आउने दादलाई ‘टिनिया क्रिउरिस’, खुट्टामा आउने दादलाई ‘टिनिया पेडिस’र  नङमा आउने दादलाई ‘ओनाइकोमाइकोसिस’ भनिन्छ ।

लक्षण

हेर्दा छालामा गोलो तथा फुस्रो दाग देखिन्छ । दागको बीच भागमा खाली र छेउको भागमा गाढा हुन्छ । शरीरको काँपकाँपमा र अन्य भागमा गोलो ‘रिङ’ जस्तै आकारको घाउ देखा शरीर बढ्दै जान्छ । काखी र काछ वरपर यो देखिन्छ । धेरै चिलाउँछ ।

टाउकोको कपालमा संक्रमण भएमा कपाल आफैं झर्ने तथा कपालमा चाया बढ्दै गई घाउ हुने र चिलाउने हुन्छ ।

नङ छालासँगै जोडिएर विकास हुन्छ । फङ्गस संक्रमण भएमा नङ र छाला छुट्टिन्छ । नङको रङ पहेंलो हुँदै जाने र फुस्रो फोहोर जस्तो देखिन्छ ।

पहिचान

यो समस्या हेर्दा पनि अनुमान लगाउन सकिन्छ । तर धेरैजसो मानिसहरू ओभर द काउन्टर औषधि खाएर आउँदा दादको आकार नै परिवर्तन भएको हुनसक्ने हुँदा आँखाले त्यत्तिकै हेरेर छुट्याउन कठिन हुन्छ । यस्तोमा दादको भाग थोरै खुर्किएर माइक्रो स्कोपको सहायताले हेरिन्छ ।

उपचार

यसको उपचारमा एन्टीफङ्गल औषधि खाने, एन्टीएच,लगाउने मलम, स्याम्पु र बढी वास र पाउडर प्रयोग हुन्छ । जुन समस्या अनुसार सीमित अवधिका लागि दिइन्छ ।

यससँगै नुहाउने र सरसफाइमा ध्यान दिनुपर्छ । तर अलिकति लक्षण कम हुने बित्तिकै चिकित्सकले तोकेको जति समय औषधि लिएन वा बीचमै छोडेमा पुनः दोहोरिन्छ ।

बेवास्ता गरेमा जटिलता बढ्छ

फंगल संक्रमणको उपचार भएन भने त्यसले छालामा क्षति गर्ने, घाउ पार्ने, घाउमा अन्य हानिकारक ब्याक्टेरियाले समेत आक्रमण गराउँछ ।

कसरी बच्ने ?

– दिनको एक पटक नुहाउने

– अत्यधिक पसिना आउने भागमा बिहान र बेलुकी दुई पटक सफा गर्ने

– पसिनाले कपडा भिजेमा परिवर्तन गर्ने

– भित्री वस्त्र दैनिक परिवर्तन गर्ने

– माटोमा काम गर्दा पञ्जा लगाउने

– मेनिक्योर र पेडिक्योर गर्दा त्यसमा प्रयोग हुने सामान सफा भए मात्र प्रयोग गर्ने

– संक्रमित व्यक्तिको कपडा, जुत्ता, काइँयो र रुमाल प्रयोग नगर्ने

– पसिना आउने ठाउँमा एन्टीफंगल पाउडर लगाउने ।

छालामा दाद डा. उमा केयल रिङ घाउ
डा. उमा केयल
लेखक
डा. उमा केयल
छाला तथा यौनरोग विशेषज्ञ

डा. केयल हाल ललितपुरस्थित डर्म डायनायमिक स्किन, हेयर एण्ड लेजर क्लिनिकमा कार्यरत छिन्। डर्माटोलोजीमा एमडी र पीएचडी समेत गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९८६७ रहेको छ। उनको बोटक्स र लेजर उपचारमा पनि विशेषज्ञता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय