हड्डी फ्र्याक्चर भनेको कुनै अत्यधिक बल वा आघातको कारणले हड्डीमा चिरा पर्नु वा टुटफुट हुनु हो । बोलीचालीको भाषामा हड्डी भाँचिनु पनि भनिन्छ । फ्र्याक्चरले हड्डीलाई अस्थिर र कमजोर बनाउने मात्र नभई कालान्तरमा गुणस्तरीय जीवनमा ह्रास ल्याउँछ ।
फ्र्याक्चरको पनि आफ्नै प्रकृति हुन्छ । मुख्यतः हड्डीमा फ्र्याक्चर चार प्रकारले हुने गर्छ ।
चोटपटकबाट
यस प्रकारको फ्र्याक्चर हड्डीमा आकस्मिक बल वा आघातको कारणले हुन्छ । जस्तै, सडक दुर्घटना वा खेलकुदका चोटले यस्तो फ्र्याक्चर निम्त्याउन सक्छ ।
हड्डीमा निरन्तर दबाब हुँदा
एउटै हड्डीमा बारम्बार असामान्य बल पर्यो भने यस्तो खालको फ्र्याक्चर हुनसक्छ । उदाहरणका लागि निरन्तर खुट्टाको अस्वाभाविक प्रयोग गर्ने पेसा जस्तै खेलाडी, आर्मी, डान्सर लगायतमा थाहा नै नपाई यस्तो फ्र्याक्चर देखिन सक्छ ।
अरु रोगका कारण
विभिन्न रोगका कारण सामान्य बलले पनि हड्डी भाँचिन सक्छ । यसमा हड्डीको ट्युमर, क्यान्सर लगायत रोगहरूले हड्डीलाई कमजोर पारेर फ्र्याक्चरको सम्भावना बढाउँछ ।
ओस्टियोपोरोसिस
ओस्टियोपोरोसिसले पनि हड्डी भाँचिन सक्छ । हड्डीको घनत्व घट्ने र हड्डीहरू मक्किएर अत्यधिक कमजोर भई साधारण चोटपटक लाग्दा, सामान्य चिप्लिंदा, खोक्दा वा हाच्छ्युँ गर्दा समेत हड्डी भाँच्चिन सक्छ, जसलाई ओस्टियोपोरोसिस भनिन्छ ।
ओस्टियोपोरोसिस भएमा कसरी हड्डी भाँचिन्छ ?
हड्डी कमजोर भइसकेको वा हड्डीमा चोटपटक वा कुनै समस्याको समयमा पहिचान र उपचार नभएपछि हड्डी मक्किन्छ । मक्किएको हड्डीमा सामान्य दखलले गर्दा पनि कुनै पनि बेलामा अण्डाको खोल जसरी प्याट्ट फुट्छ ।
शरीरका अधिकांश हड्डी मक्किए पनि सबैभन्दा बढी दबाब पर्ने मुख्यतः हिप, मेरुदण्ड र नाडीका हड्डीहरू भाँचिन सक्छ । हिप भाँचिएको प्रत्येक चारजना बिरामीमध्ये एक वर्षभित्र एक जनाको यसै कारणले मृत्यु हुने गर्छ ।
एक पटक भाँचिएको हड्डी फेरि भाँचिने जोखिम
यसरी एउटा हड्डी भाँचिएपछि पुनः अर्को हड्डी भाँचिने सम्भावना २० देखि ३० प्रतित सम्म हुन्छ । किनकि अस्टियोपोरोसिसले गर्दा एकपटक हड्डी भाँचिएपछि भाँचिएको हड्डीको मात्र उपचार हुन्छ । अस्टियोपोरोसिसको भने उपचार सुरु भएपनि पूरा हुन पाउँदैन ।
अस्टियोपोरोसिसले हड्डीहरुलाई झन् खोक्रो बनाउँदै लैजान्छ । जसकारण पुनः हड्डी भाँचिने जोखिम उच्च हुन्छ ।
हड्डीलाई भाँचिनबाट जोगाउन सम्भव छ ?
चोटपटकका कारणबाट भाँचिने जोखिम भईपरी आउने हो । यसको कुनै रोकथाम हुँदैन । चोटपटकबाट जोगिनु नै यसको मुख्य उपाय हो ।
तर ओस्टियोपोरोसिसका कारण हड्डी भाँचिने सम्भावनालाई बेलैमा रोकथाम गरे जोगिन सकिन्छ ।
के गर्ने ?
खानपानमा सुधार
हड्डीलाई बलियो बनाउने एउटा आधार हो, स्वस्थ खानपान । त्यसका लागि क्याल्सियम र भिटामिन डीयुक्त खानेकुरामा बढी जोड दिनुपर्छ । डेरी उत्पादनहरू दूध, दही, र पनिर क्याल्सियमका उत्कृष्ट स्रोतहरू हुन्।
उदाहरणका लागि एक कप दूधले लगभग ३०० मिलिग्राम क्याल्सियम प्रदान गर्छ । हरियो साग र ब्रोकाउली जस्ता सागसब्जीले क्यानको बट्टामा राखिने साल्मन र सार्डिन माछाले पनि पर्याप्त क्याल्सियम प्रदान गर्छन् ।
भिटामिन डीका लागि विचार गर्नुपर्ने खाद्य पदार्थहरूमा साल्मन, म्याकरेल र टुना माछा, अण्डाको पहेंलो भाग, फोर्टिफाइड दूध, सुन्तला रस र अन्नहरु पर्छन् ।
घाम
भिटामिन डीको पर्याप्त मात्रा प्राप्त गर्न बिहान र बेलुकी सूर्यको प्रकाशमा १५ देखि २० मिनेट बस्नु महत्त्वपूर्ण छ । यो समय सूर्यको किरण अधिकतम प्रभावकारी हुने समय हो । जसले हाम्रो छालामा भिटामिन डी उत्पादन गर्न मद्दत गर्छ ।
सूर्यको प्रकाशमा रहने क्रममा, छालाले सूर्यका किरणलाई अवशोषित गरेर भिटामिन डी बनाउँछ, जुन हड्डीको स्वास्थ्य र समग्र स्वास्थ्यका लागि अत्यावश्यक छ । तर यो ध्यान दिनु महत्त्वपूर्ण छ कि धेरै समयसम्म सूर्यमा बस्नाले छालामा पोल्ने र अन्य समस्या निम्त्याउन सक्छ ।
व्यायाम
नियमित शारीरिक गतिविधि, विशेष गरेर वजन बोक्ने व्यायामहरूले ओस्टियोपोरोसिसको प्रतिरोधमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
जब हड्डीहरूलाई प्रभावकारी व्यायामहरू जस्तै हिंड्डुल गर्ने, कुद्ने र नाच्ने जस्ता गतिविधिले शरीरलाई लचिलो, हड्डी र मांसपेशीहरू बलियो बन्छन् र हड्डीको घनत्व बढ्छ ।
जीवनशैली
धुम्रपान नगर्नु र मद्यपानलाई सीमित गर्नु पनि महत्वपूर्ण छ । किनकि यी दुवै क्रियाकलापले हड्डीलाई कमजोर बनाउँछ । साथै, स्वस्थ तौल कायम राख्न पनि आवश्यक छ । यसरी जीवनशैलीमा परिवर्तन गरेर ओस्टियोपोरोसिसको जोखिमलाई कम गर्न सकिन्छ ।
नियमित परीक्षण
ओस्टियोपोरोसिस रोग लागेको पत्ता लगाउन विभिन्न रक्त तथा मूत्र परीक्षणहरू उपलब्ध छन्, तर डेक्सा स्क्यानलाई सबैभन्दा सुरक्षित मानिन्छ । स्क्यानले कम मात्राको एक्स–रेको प्रयोग गरेर हड्डीमा क्याल्सियम र अन्य खनिजको मात्रा मापन गरी अस्टियोपोरोसिसको अवस्था निर्धारण गर्न मद्दत गर्छ । डेक्सा स्क्यानको प्रयोग गरेर ओस्टियोपोरोसिसको निदान भएपछि ‘फ्र्याक्स’ स्कोर जस्ता विभिन्न फ्र्याक्चरस्कोरहरू प्रयोग गरिन्छ ।
डेक्सा स्क्यानले हड्डीको स्थिति देखाउँछ भने ‘फ्र्याक्स’ स्कोरले हड्डी भाँचिने जोखिमको पूर्वानुमान गर्न मद्दत गर्छ । ओस्टियोपोरोसिस पत्ता लागेपछि चिकित्सकलाई उपचार सुरु गर्न सहज हुन्छ ।
ओस्टियोपोरोसिसको उपचारमा माथि उल्लेखित विधि सहित विभिन्न औषधिहरू जस्तै बिस्फस्फोनेट्स, टेरीपाराटाइड, डेनोसुमाब प्रयोग गरिन्छ, जसले हड्डीको घनत्व बढाउँछ र फ्र्याक्चरको जोखिम घटाउँछ ।
जो बिरामीहरू ओस्टियोपोरोटिक विरुद्धका औषधि लिइरहेका छन्, उनीहरूले चिकित्सकको निगरानीमा वार्षिक रूपमा डेक्सा स्क्यान परीक्षण गराउनुपर्छ ।
लड्नबाट कसरी जोगाउने ?
अधिकांश ओस्टियोपोरोटिक बिरामीहरू वृद्ध हुन्छन् र हिंड्डुल गर्दा लड्ने सम्भावना उच्च हुन्छ, जसले शरीरको कुनै पनि भागमा चोटपटक लागि हड्डी भाँचिन सक्छ । त्यसैले लड्नबाट रोक्नका लागि केही उपाय अपनाउन आवश्यक छ ।
– घरमा र शौचालयमा उज्यालो बत्ती राख्नुपर्छ भने भुईंमा खुट्टा चिप्लन सक्ने वस्तुहरू राख्नु हुँदैन ।
– बिरामीले हड्डीलाई बलियो बनाउन र लड्ने जोखिम कम गर्न नियमित व्यायाम गर्नुपर्छ ।
– सहायक उपकरणहरूको प्रयोग जस्तै, लट्ठी, वैशाखी, वाकिङ फ्रेम वा अन्य सहायक उपकरणहरूको प्रयोगले हिंड्डुल गर्ने क्रममा लडेर हुने फ्र्याक्चर हुने जोखिमलाई कम गर्न मद्दत गर्छ ।
प्रतिक्रिया 4