सार्कोमा भनेको मांसपेशी तथा हड्डीमा अनियन्त्रित कोष वृद्धि भई हुने क्यान्सर हो । यो क्यान्सर नरम मांसपेशी, हड्डी, बोसो, तन्तु, रक्तनली, स्नायु र जोर्नीको भागमा हुनसक्छ । सबैभन्दा बढी हड्डीमा हुने नरम कोषिकामा यो क्यान्सरको कोष तीव्र रुपमा विकास हुन्छ ।
सुरुमा यो क्यान्सर ‘कनेक्टिभ टिस्यु’ (दुई अंग जोड्ने तन्तु)मा विकसित हुन्छ । त्यसपछि बिस्तारै बिस्तारै अन्य क्षेत्र फैलिन थाल्छ । यो क्यान्सरपछि गएर फोक्सोमा फैलिन्छ ।
यो क्यान्सर दुर्लभ तर निकै घातक मानिन्छ । किनकि यो क्यान्सरको ७० भन्दा बढी प्रकार छ । जसमध्ये नरम तन्तु ‘सफ्ट टिस्यु सार्कोमा’ र हड्डीमा हुने ‘अस्टियो सार्कोमा’ गरी दुई प्रकार मुख्य मानिन्छ । वयस्क बिरामीहरुमा क्यान्सरमध्ये एक प्रतिशत र बालबालिकामा १५ प्रतिशत सार्कोमा हुने गरेको छ ।
ओस्टियो सार्कोमा, एन्जीओ सार्कोमा, कोन्ड्रो सार्कोमा, कोन्ड्रोमा, फाइब्रो सार्कोमा, इविङ सार्कोमा, लियोमायो सार्कोमा, लिपो सार्कोमा, मेलिग्नेन्ट, पेरीफेरल नर्भ लगायत सार्कोमाका विभिन्न किसिम छन् । जसमध्ये ओस्टियो सार्कोमा सबैभन्दा बढी देखा पर्छ ।
सार्कोमा क्यान्सर कसरी हुन्छ ?
मांसपेशीको सबैभन्दा सानो एकाईलाई सार्कोमेयर भनिन्छ । सार्कोमेयर एक्टीन फिलामेन्ट र मायोसिन फिलामेन्ट जस्तो तत्व मिलेर बनेको हुन्छ । एक्टीन पातलो हुन्छ भने मायोसिन मोटो हुन्छ ।
यी दुवैको क्रियाकलापले मांसपेशी खुम्चिने र तन्किने हुन्छ । यो भागको मांसपेशी र हड्डीको कोषिकामा खराबी भई डीएनएको संरचनामा त्रुटि भएमा सार्कोमा हुन्छ ।
मांसपेशी र हड्डीको कोषिकाहरु अनियन्त्रित रुपमा बढ्छन् । जटिल किसिमको डल्लो ट्युमर मांसपेशी र हड्डीमा देखा पर्छ । सार्कोमा क्यान्सरले नजिकैको अन्य स्वस्थ अंगलाई छेड्न सक्छ । यो रगतको माध्यमबाट त्यस वरपरको अंगमा फैलिन सक्छ ।
क्यान्सरको कारक तत्व
सार्कोमाको ठोस कारण कुनै पनि अध्ययन तथा अनुसन्धानले पत्ता लगाइसकेको छैन । तर यसको विकास गराउन सक्ने केही कारक छन् ।
– रासायनिक पदार्थहरुको सम्पर्कमा आउनु जस्तो कि प्लास्टिक उत्पादन, कीटनाशक औषधिको प्रयोग, पेट्रोलियम पदार्थहरू र रंग रोगनका सामग्रीहरु
– न्युरोफिब्रोमाटोसिस, गार्डनर सिन्ड्रोम र ली–फ्राउमेनी सिन्ड्रोम जस्ता वंशाणुगत रोग
लक्षण
केही बिरामीमा सुरुवातमा कुनै लक्षण देखिंदैन वा हल्का लक्षण देखिन्छ । सार्कोमा क्यान्सर हुँदा छालामुनि, हातखुट्टा, हड्डीमाथि र शरीरका अन्य भागमा मासुको गाँठो जस्तो देखिन्छ । सो गाँठो दुख्ने र नदुख्ने दुवै खालको हुनसक्छ । त्यस्तै, समय बित्दै गएपछि मन्द-मन्द ज्वरो आउनु, हातगोडा चलाउन गाह्रो हुनु, भोक नलाग्नु र तौल घटाउनु यसको प्रमुख लक्षण हुन् ।
सार्कोमाको परीक्षण
डल्लो निस्केको हातखुट्टाको एक्स-रे, सिटी स्क्यान, एमआरआई, बन स्क्यान, पीईटी सीटी स्क्यान र बायोप्सी जस्ता परीक्षण हुन्छ । यीमध्ये एमआरआई सबैभन्दा महत्वपूर्ण र उपयोगी परीक्षण हो । यसबाट क्यान्सर मांसपेशीमा कति भाग फैलिएको, हड्डीमा छेडेको, हड्डी भित्र कि बाहिर छ भनेर स्पष्ट जानकारी पाउन सकिन्छ ।
उपचार
शल्यक्रिया : सार्कोमाको प्रमुख उपचार शल्यक्रिया हो । यसमा क्यान्सर पहिचान भएको डल्लोको पूरै भाग झिकिन्छ । यदि हातखुट्टाको पूरै भागमा सार्कोमा क्यान्सर भए क्यान्सर भएको सबै भाग नै फाल्नुपर्ने हुनसक्छ ।
सम्भव भएसम्म हातखुट्टाको केही अंग जोगाउन प्रयास गरिन्छ ।
केमोथेरापी : सार्कोमा भइसकेपछि केमोथेरापी पनि आवश्यक पर्छ । यो थेरापीमा कडा खालका औषधि डक्सोरुबिसिन र आईफस्फामाइडको प्रयोगले क्यान्सरको कोषिकाहरु नष्ट गरिन्छ ।
इम्युनोथेरापी : यो औषधि केमोथेरापी भन्दा केही फरक छ । इम्युनोथेरापीमा प्रयोग हुने एटेजोलिजुमाब, पेमब्रोलिजुमाब, डेनोसुमाबले शरीरको रोगसँग लड्ने कोषिकाहरुलाई बलियो बनाउँछन् । यी औषधिहरुले केमो जस्तो तीव्र र गम्भीर साइड-इफेक्ट बनाउँदैन ।
टारगेटेड थेरापी : यसमा नयाँ तथा धेरै प्रभावकारी औषधिको प्रयोग हुन्छ ।
रेडिएसन थेरापी : क्यान्सर भएको अंगलाई विकिरणको माध्यमबाट सेकाइन्छ । जसले क्यान्सरका कोषिकाहरुलाई निष्क्रिय पारिन्छ ।
जटिलता
यदि यो क्यान्सरको बेलैमा उपचार नभए शरीरको अन्य भागमा फैलिने डर हुन्छ । अन्य भागमा फैलिएपछि उपचार गराउने अवस्था हुँदैन । त्यसैले यस्तो शंकास्पद छाला वा हड्डीमा मासुको डल्ला देखिए तुरुन्त परीक्षण गराइहाल्नुपर्छ ।
प्रतिक्रिया 4