मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको निर्वाचनमा सत्ता राजनीति भन्दा विपरीत गठबन्धन हुँदैछ । निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र निकट रहेका नर्सले संयुक्त प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सले संयुक्त पेशागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
अघिल्लो कार्यकाल प्रगतिशील प्यानलबाट महासचिव भइसकेकी बसन्ती थापाले २० औँ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएकी छन् । यसपटक स्वतन्त्र उम्मेदवारी दिएको दाबी गर्ने थापामाथि प्रगतिशील प्यानलबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएको आरोप छ । उनै थापासँग चुनावी माहोल, नर्सका समस्या र उनले उठाएका एजेण्डाको विषयमा अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :
नर्सिङ संघको चुनावी माहोल कस्तो छ ? कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ ?
चुनावी माहोल देखेर हामी उत्साहित नै छौं । संघको सदस्यता प्राप्त नगरेका धेरै नर्सहरूले पनि सपोर्ट गरिराख्नुभएको छ । राजनीतिप्रति वितृष्णा भएको साथीहरूले हौसला दिइराख्नुभएको छ । चुनावी माहोल हेर्दै जाँदा जित्छौं भन्नेमा आशावादी छौं ।
किन नर्सिङ संघमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभयो ?
दुःखको कुरा, संघले ६३ वर्ष पार गरिसक्दा पनि नर्सले हकहित, अधिकार लिन सकेका छैनन् । पहिलाका नेतृत्वबाट केही काम भएको होलान् तर, कार्यान्वयन हुन सकेको छैन । सबै नागरिकले गुणस्तरीय सेवा नै चाहन्छन् । तर नर्सिङ संघले नर्सको हकहितका लागि कुनै त्यस्तो सम्झनलायक काम गरेको छैन । त्यसैले संघको नेतृत्व परिवर्तनको महसुस गरी म अगाडि बढेको हुँ ।
नर्सिङ संघमा राजनैतिक गुटबन्दी र हस्तक्षेप एकदमै बढ्दा सोचेअनुसार काम भइरहेको छैन । जहिलेपनि समूहको हिसाबमा उठ्ने चलन भयो । संघ त विशुद्ध पेशासँग सम्बन्धित संस्था हो । राजनैतिक हस्तक्षेपबाट ल्याइएका नेतृत्वले संघलाई अगाडि बढाउन सकेका छैनन् । एक कार्यकाल संघको महासचिव भएर पनि काम गरें । कार्यसमितिमा राजनीतिक बाँडफाड पनि भए तर, राजनैतिक हिसाबबाट जाँदा संघमा काम गर्न सकस महसुस भयो । राजनैतिक आस्थाबाट टाढा रहेर संघलाई अगाडि लैजाँदा नर्सको समस्यालाई हल गर्न सकिन्छ भन्ने नयाँ सोचसहित अगाडि बढेको हुँ ।
अन्य पेशागत संगठनको समस्या राज्यले बेलाबखत हल गर्छ । तर नर्सको समस्या जहाँको त्यति छ । नर्सले श्रम अनुसार पारिश्रमिक पाउन सकेका छैनन् । राज्यले नर्सलाई विभेद गरेको छ । अहिले नर्स एकै तहमा २०–२५ वर्ष काम गरिराख्नुपरेको छ । यस्तोमा कुन मानसिकताले नागरिकलाई सेवा दिन सक्छौं ? आफ्नो पीडा बोकेर नर्सले सेवा दिइहरेका छन् । राज्य र नागरिकले गुणस्तरीय सेवा खोज्छन् । तर नर्सको समस्या के छ भनेर कसैले बुझ्न सकेनन् । संघमा पनि राजनीतितन्त्र कै दबदबा भयो ।
अध्यक्षको टिकट पाउन नसकेर बागी उम्मेदवारी दिनुभयो भन्ने आरोप छ नि ?
बागी उम्मेदवार भन्न मिल्दैन, म स्वतन्त्र रूपमा उठेको हुँ । राजनीतिक आस्थाबाट जान हुँदैन भनेर मैले साथीहरूसँग कुरा पनि राखेको थिएँ । सबैसँग छलफल भएर उम्मेदवार छनोट हुुनुपर्ने हो । तर एकलौटी रूपमा पार्टीबाट नै तोकिएर (फलानो–फलानो) व्यक्ति भनेर आउँछन् ।
हामी पनि सक्षम छौं । नर्सिङ संघमा राजनैतिक पार्टीसँग नजिक भएका मानिस मात्रै प्राथमिकतामा रहन्छन् । संघमा काम गर्ने राम्रो नेतृत्वको अभाव छ, सबैजना मिलेर जाँउ भन्दा कतैबाट पनि सुनुवाई भएन, म स्वतन्त्र उठेँ ।
उसो भए संघ त राजनीति गर्ने थलो बनेछ, हैन ?
संघमा भित्रभित्रै राजनीतिक दबदबा बढिरहेको छ । सरकारको नेतृत्व बदलिइरहन्छ, यस्तोमा काम गर्न एकदमै गाह्रो हुन्छ । त्यसैले संघमा स्वतन्त्र नेतृत्व आउनुपर्छ । तर हामी राजनीति विरोधी होइनौं । हरेक राजनैतिक दलको भातृ संगठन छ, त्यहाँबाट राजनीति गर्न सकिन्छ । संघ सबैको साझा, विशुद्ध पेशासँग सम्बन्धित संस्था हो ।
अन्य पेशागत संगठनले सरकार वा सम्बन्धित निकायसँग आफ्नो समस्या राख्छन्, दबाब दिएर समाधान खोज्छन् । तर, किन संघ किन यति धेरै निरीह ?
नर्सिङ जनशक्ति कुनै पनि निकायको निर्णय गर्ने ठाउँमा छैनन् । कुनै निकायमा बहुमत छैन । त्यसैले नर्सको समस्या कसैले सुन्दैनन् । त्यसैले हाम्रो माग सम्बोधन गर्न कतै दबाब पर्दैन ।
नर्सिङ क्षेत्रमा विधावारिधि गरेका धेरै जनशक्ति छन् । उनीहरुको योग्यता, हैसियत अनुसार जिम्मेवारी दिन आवश्यक छ । अहिले नेपालमा मिडवाइफी जनशक्ति उत्पादन सुरु भएको छ । तर, तिनलाई जनरल अस्पतालमा व्यवस्थापन गर्दा उनीहरूको विज्ञता खेर गइरहेको छ । राज्यले यसतर्फ ध्यान दिन सकेको छैन ।
ठूला दलसँग निकटताको आधारमा गठबन्धन गरेर नर्सिङ संघमा दुई प्यानल भएर उठ्नुभएको छ । संगठनको रूपमा हेर्दा बलियो पनि हुनुहुन्छ । यस्तो अवस्थामा जित्छु भन्ने आधार के छ ?
जित्ने आधार धेरै छन् । राजनीतिप्रति धेरै वितृष्णा छ । आन्तरिक रूपमा धेरै नर्सको हामीलाई सर्पोट छ । दलीय गुटबन्दी सिनियर नर्सलाई चित्त बुझेको छैन । नयाँ बहिनीहरूको पनि हौसला र माया छ । दलीय रूपमा आएकालाई होइन, स्वतन्त्रबाट उठेकालाई भोट हाल्छौंै भन्ने मत बलियो बनिरहेको छ, त्यसैले जित्नेमा ढुक्क छौं ।
नर्सको वास्तविक समस्या के रहेछ ?
सरकारी संस्थामा कार्यरत नर्सको स्तरवृद्धिमा ठूलो समस्या छ । निजी संस्थाले नर्सको श्रम शोषण गरिहेका छन् । रातदिन नभनी बिरामीको सेवा गर्नुपर्ने नर्सको सेवा–सुविधा एकदमै न्यून छ । यसलाई सरकारी सरहको बनाउन आवश्यक छ । विदेश पलायन भइरहेका युवा नर्सलाई रोक्न जरूरी छ ।
प्रतिक्रिया 4