मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको २० औं कार्यसमितिको चुनावमा नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरू संयुक्त पेशागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यो प्यानलबाट अध्यक्षमा गंगा थापाले उम्मेदवारी दिएकी छन् । अघिल्लो कार्यसमितिको उपाध्यक्ष रहेकी थापासँग पेशागत समस्या र चुनावी एजेन्डाको विषयमा अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानी :
संघको नेतृत्वमा तपाईंले किन उम्मेदवारी दिनुभयो ?
म नर्सिङ क्षेत्रमा लागेको ३६ वर्ष भइसक्यो । त्रिवि शिक्षण अस्पतालमा नर्सिङ अफिसरको रूपमा कार्यरत छु । लामो समय नर्सिङ पेशामा आबद्ध भएकाले नर्सको समस्यालाई नजिकबाट देखेको छु ।
नर्सिङ क्षेत्रलाई स्वास्थ्य ऐनमा विभेद गरिएको छ । नर्सले अधिकार पाउनुपर्छ । समान पद र तहमा समान श्रेणी प्राप्त गर्नका उम्मेरवादी दिएको हुँ ।
नेपालमा दर्ता भएका अधिंकाश नर्सले दुःख, पीडा भोगिरहेका छन् । निजी अस्पतालमा ५/६ हजारदेखि १०/१५ हजारसम्ममा काम गरिराख्नु ५० हजारभन्दा बढी नर्स हुनुहुन्छ । नर्सहरूले उचित पारिश्रमिक पाउनुपर्छ । २४ घन्टा सेवा गरिरहेका नर्सलाई सरकारी तह बराबरको सेवा–सुविधा दिनुपर्छ । यसविरुद्ध लड्नका लागि मेरो समूहले नयाँ कार्यसमितिमा जाने निर्णय गरेको हो ।
संयुक्क्त पेशागत समूहले उठाएका एजेण्डा के–के छन् ?
हामीले खासगरी २५ वटा एजेण्डा अगाडि बढाएका छौं । नर्सको वृद्धिविकास, अध्ययन बिदा, नर्स दबरन्दी बढाउने, ६ महिना प्रसुती बिदा दिनुपर्ने एजेण्डा उठाएका छौैं । नर्सले नागरिकलाई परामर्श दिन्छन् तर, बच्चा पूर्ण रूपमा स्तनपान गराउनबाट बञ्चित छन् ।
स्वास्थ्य संस्थामा कार्य अनुभवको आधारमा जिम्मेवारी दिनुपर्ने र विद्यालय नर्स कार्यक्रमको दरबन्दी कायम गर्नुपर्ने माग राखेका छौं । यस्तैगरी प्रदेश तहमा अझैसम्म प्रदेश कार्यसमिति गठन भएको छैन, यसलाई सुचारू गर्नुपर्नेछ ।
नर्सिङ संघ जनताका लागि काम गर्ने संगठन हो । त्यसैले जेष्ठ नागरिकका लागि जेष्ठ नागरिक आश्रम बनाउन पहल गर्नेछौं । औद्योगिक नर्सको आवधारणा अगाडि बढाएर हरेक उद्योगमा नर्स राख्दै काम गर्ने मजदुरलाई स्वास्थ्य सेवा दिन सकिन्छ ।
संघका सम्पूर्ण कामलाई डिजिटलाइज गराउने, नर्सिङको दरबन्दी थप्ने, मिडवाइफ र अनमिको सही व्यवस्थापन लगायत नर्सको हकहितका आवाज उठाउने छौं । हाल नर्सको अवस्था र तीन करोड जनतालाई स्वास्थ्य सेवा दिन चाहिने जनशक्ति उत्पादन गर्न जोड दिन्छौं । अन्तर्राष्ट्रिय स्तरमा नेपालका नर्स पनि समक्ष छन् भनेर चिनाउन चाहन्छौं ।
यी एजेण्डा पूरा गर्ने आधार के हुन् ? किन तपाईंको टिमलाई विश्वास गर्ने ?
स्थापनाकालदेखि (२०१८) नै नर्सिङ संघको एक खालको टिमले मात्रै जित्दै आएको छ । नर्सिङ पेशामा देखिएका समस्याको हल हुन सकेको छैन । नर्सले हकहित, सुरक्षा, समस्याको समाधान चाहेका छन् तर, पूरा हुन सकेको छैन । नर्सिङ समस्या बारे हुनुपर्ने जति काम भएको छैन । सेवा क्षेत्रमा केही भएकै छैन । यी काम हामीले गर्नेछौं ।
नेपालको न्यूनतम पारिश्रमिक पनि १६ हजार ५ सय छ । तर, लाखौं खर्चिएर गरेर दक्ष जनशक्ति बनेको नर्सले ६ हजारको जागिर खानुपर्ने दयनीय अवस्था छ । यस विषयमा सरकार, निजी संस्थाका सञ्चालकसँग समवन्य गर्छौं । जसरी पनि नर्सलाई सरकारी तह सरहनै सेवा–सुविधा दिलाउँछौं । हाम्रो टिम परिवर्तनकारी छ, लामो पेशागत अनुभव भएका साथी छन्, त्यसैले जित्छौं ।
कांग्रेस र समाजवादी निकट नर्सले भागबण्डा नै गरेर टिम बनाएको आरोप लगाएका छन् नि ?
नर्सिङ संघ राजनीति गर्ने होइन, शुद्ध पेशागत काम गर्ने थलो हो । मानिसको आस्था कुनै पार्टीमा हुनसक्छ तर, हामी कुनै पार्टी निकट छैनौं । हाम्रो नर्स पार्टी छ । एकै पदको लागि एक जनाले मात्रै उम्मेदवारी दिएको भए चुनाव नै गर्न पर्दैन थियो । विभिन्न पदका लागि दुईभन्दा बढीको उम्मेदवारी परेकोले चुनावमा जानुपर्यो । संघमा आबद्ध हुनुभएका १५ हजार नर्सले चुनेर पठाउनुहुन्छ । तर देशभर दर्ता भएका १ लाख २२ हजार नर्सका हकहितका लागि काम गछौं ।
संघको स्थापनाकालदेखि नै संयुक्त प्रगतिशील समूहले नेतृत्व गर्दै आएको छ । यसपटक संयुक्त पेशागत समूहले जित्छ भन्ने आधार के ?
नर्सले नेतृत्व परिवर्तन चाहेका छन्, मानिस एकै ठाउँमा रहन खोज्दैन । १९ औं कार्यसमिति (प्रगतिशील समूह) ले केही काम गर्न सकेन । यसबेला कोराना महामारी भयो । सबै जना घरघर बस्नुभयो तर नर्स फ्रन्टलाइन रहेर अस्पतालमा काम गरिरहे । संक्रमित धेरै नर्सलाई समाजले समेत तिरस्कार गर्यो । नर्सले भोगिरहेको पीडामा मलम लगाउन र उनीहरूको आवाज उठाउन नसक्नु संघको ठूलो कमजोरी हो । अब हामी देशभरका नर्सको आवाजलाई सशक्त ढंगले उठाउँछौं । नर्सिङ क्षेत्रमा नेतृत्वको उथलपुथल चाहिएको छ ।
लाख बढी नर्समध्ये संघमा १५ हजार मात्रै आबद्ध छन् । अघिल्लो निर्वाचनमा त त्यसको पनि ४५ प्रतिशतले मात्र मत दिए । संघप्रति नर्सकै त विश्वास देखिएन ?
संघको नेतृत्वप्रति नर्सको विश्वास छैन । नेतृत्वले काम गरेको भए सदस्यता लिनुहुन्थ्यो । अहिलेसम्म नर्सको अपेक्षाअनुसार काम भएको छैन । अब हामी नर्सका समस्यालाई सरकारी निकायमा समन्वय गरेर हल गर्छौं ।
प्रतिक्रिया 4