कपिलवस्तुका शाक्यवंशी राजा शुद्धोधनकी पत्नी मायादेवीको कोखबाट एक बालकको जन्म भयो । उनको जन्मको केही दिनमा नै मायादेवीको निधन भयो । मायादेवीले बालक सिद्धार्थलाई प्रजावतीको जिम्मा लगाएकी थिइन् । राजालाई पुत्रलाभ भएको खबर जताततै फैलियो । दरबारमा जम्मा भएका ज्योतिषहरूले यो बालक कि त चक्रवर्ती सम्राट् बन्छ कि त महान् सन्यासी बन्छ भन्ने भविष्यवाणी गरे ।
राजा शुद्धोधन आफ्नो पुत्रको बारेमा गरिएको भविष्यवाणीले निकै चिन्तित भए । उनलाई दरबारको सुखसयलमा लगाउन धेरै प्रयास गरियो । यशोधरासँग उनको विवाह पनि भयो । एउटा बालक जन्मियो जसको नाम राहुल राखियो । दरबारबाट बाहिर निस्किएर मानिसको जीवन हेर्ने क्रममा सिद्धार्थले मानिसका अनेकौं दुःख देखे । त्यसले उनलाई दरबार छोडेर सन्यास धारण गर्ने मन भयो ।
सिद्धार्थ सन्यासी भएर हिंडे, बोध गयामा गएर उनले ज्ञान प्राप्त गरे र बुद्ध बने । यो यस्तो कथा हो जुन सामान्य बुद्ध धर्म मान्ने तथा इतरबौद्ध सम्प्रदायका मानिसहरूले बुझेको बुद्धको जीवनी हो । बुद्धको जीवनी यति मात्र होइन । राजकुमार सिद्धार्थ भगवान् बुद्ध बन्नुको पछाडि यस्ता अनगन्ती कथाहरू रहेका छन् ।
तिनै कथाहरूको पन्तुरो हो शैलेन्द्र अधिकारीको नवीन उपन्यास ‘अर्हत्’ ।
बौद्ध दर्शन प्राग ऐतिहासिक दर्शन हो । यो लौकिक दर्शन हो । यसले यो लोक र परलोकको चर्चा गर्दैन । यसले मानवीय जीवनमा दुःख छ र त्यो दुःखको निवारण पनि छ, दुःखका कारणहरू छन् र तिनको समाधानका लागि मार्ग पनि छ भन्ने दृष्टिकोण प्रस्तुत गर्छ । बौद्ध दर्शनको यही विचारको केन्द्रीयतामा शैलेन्द्र अधिकारीले ‘अर्हत्’को रचना गरेका छन् ।
कुल ३०८ पृष्ठमा फैलिएको ‘अर्हत्’को आख्यानको आरम्भ कुशीनगरमा बुद्धको महापरिनिर्वाण भएको सन्दर्भबाट भएको छ । बुद्धको अन्तिम संस्कार कसरी गर्ने भन्ने कुरामा मत जुटाउनका लागि बुद्धकै सन्देश सहारा लिनुप¥यो । बुद्धले तथागतको शरीरलाई चव्रmवर्ती राजाको मृतदेहलाई जसरी अन्तिम संस्कार गर्नुपर्ने सन्देश दिएको कुरालाई आधार मानेर अन्तिम संस्कार गरिएको तथा उनको अस्थिधातु जीवनकालमा बुद्ध संलग्न रहेका विहारहरूलाई भाग लगाएर जिम्मा लगाइएको प्रसङ्गको चर्चा भएको छ ।
सन्दर्भअनुसार हरेक खण्डमा शीर्षक दिइएको छ । प्रारम्भका दुई खण्डसम्म उपन्यासकारले तृतीय पुरुष वर्णनात्मक शैली प्रयोग गरेर विषयको उठान र प्रसार गरेका छन् । तेस्रो खण्डमा एकाएक आनन्दलाई सम्बोधन गर्दै बुद्ध बोल्न थाल्छन् र उपन्यासले प्रथम पुरुष दृष्टिविन्दु ग्रहण गर्छ ।
आनन्द बुद्धका प्रिय पात्र जो बुद्धको जीवनको अन्तिम क्षणसम्म उनको साथमा रहे । आनन्द बुद्धका हरेक धर्मोपदेशमा सहभागी पात्र । आनन्द बुद्धलाई सोझै प्रश्न गर्न र उनीसँग तर्क गरेको आफ्नो कुरा मनाउन पनि सक्ने सामथ्र्य भएका पात्र । आनन्द भिक्षु सङ्घका महŒवपूर्ण सदस्य जसले बुद्धका उपदेश तथा जीवनदर्शनलाई बौद्ध दर्शनको रूपमा स्थापित गर्न महŒवपूर्ण भूमिका निर्वाह गरे । तिनै आनन्दले बुद्धको बारेमा बुद्धकै शैलीमा बुद्धगाथाको प्रवचन दिएका छन् ।
सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्राको आरम्भबाट थालिएको गाथा अनोमा नदीलाई सम्बोधन गर्दै अघि बढ्छ । दरबार र घरबार छोडेर सारथी छन्दकको साथमा प्रव्रज्या लिएर हिँडेका सिद्धार्थले राजसी परिधान छोडेर मागेको गेरु वस्त्रमा यात्रा आरम्भ गरेका छन् । बुद्धत्व प्राप्तिका लागि गरिएको यात्राका व्रmममा सिद्धार्थले विभिन्न ठाउँमा विभिन्न पात्रहरूलाई भेटेका, विभिन्न प्रकारका साधना गरेका तथा हठयोगको चरमोत्कर्षमा पुगेर बुद्धत्व प्राप्त गरेको सन्दर्भको आख्यानीकरण गरिएको छ ।
मानव जीवन नश्वर छ । जीवनमा दुःख छ । जीवनमा पीडा छ । यद्यपि जीवनको टुङ्गो मृत्यु हो, यसलाई सुफल गर्नका लागि मानिसले प्रयत्न गर्न सक्छ । जीवन त्यस्तो यात्रा हो जसलाई खास लिकमा कुदाउन सक्यो भने मानिस भ्रमबाट मुक्त हुन सक्छ । मानिसका क्षोभ, लोभ, घृणा, अहङ्कार, दम्भ आदि नै उसका शत्रु हुन् । यी शत्रुहरूलाई परास्त गर्न सके मात्र जीवन कञ्चन पानी भएर बग्छ र समुद्रमा विलय हुन्छ ।
बौद्ध दर्शनले त्रिशरण ‘बुद्धम् शरणम् गच्छामि, धम्मम् शरणम् गच्छामि, सङ्घम् शरणम् गच्छामि’लाई केन्द्रमा राखेको छ । चार आर्यसत्य, अष्टाङ्गिक मार्ग तथा समग्र दर्शनलाई ज्ञान, शील र समाधि गरी तीन शीलमा विभाजन गरिएको बौद्ध दर्शनको प्रारम्भ बुद्धले बुद्धत्व प्राप्त गरेपछि उनकै धर्मोपदेशका माध्यमबाट अभिमुख भएको कुरा उपन्यासमा आख्यानको माध्यमबाट प्रस्तुत भएको छ ।
कपिलवस्तुमा सिद्धार्थ गौतमको जन्मपछि ज्योतिषशास्त्रका ज्ञाताहरू राजप्रासादमा जम्मा भए । प्रायः ज्योतिषहरूले एउटै निश्चित विचार प्रस्तुत गर्न सकेनन् । बालक सिद्धार्थ पछि गएर कि त चव्रmवर्ती सम्राट् बन्ने कि त महान् सन्यासी बन्ने कुराको घोषणा गरे । ज्योतिषहरूमध्ये कौडिन्य मात्र एक जना थिए जसले स्पष्ट भनेका थिए सिद्धार्थ पछि गएर महान् सन्यासी वा सम्यक् सम्बुद्ध बन्ने कुराको ठोकुवा गरेका थिए । तिनै कौडिन्य पछि बुद्धका शिष्य भए । बुद्धबाट प्रव्रज्या लिने पहिलो शिष्य कौडिन्य नै भए । बुद्ध जीवनको यो सत्यलाई रोचकताका साथ प्रस्तुत गर्न शैलेन्द्र अधिकारी सफल देखिएका छन् ।
‘अर्हत्’ उपन्यासको परिवेश कपिलवस्तु राजप्रासाद, मगध, कोशल, वैशाली, काशी, श्रावस्ती लगायतका क्षेत्रमा फैलिएको छ । प्राचीनकालीन नेपालको इतिहासमा सातौँ किराँत राजा जितेदास्तीको समयमा बुद्ध काठमाडौँ आएको कुरा पढिन्छ । ‘अर्हत्’ उपन्यासले भने तात्कालीन नेपालखाल्डो काठमाडौँलाई परिवेश बनाएको छैन ।
इतिहास लेखनका तुलनामा आख्यानमा लेखक केही स्वतन्त्र हुन्छ । आख्यानमा कुनै खास सन्दर्भ, परिवेश र पात्रलाई उठाएर कथा बुन्न सकिन्छ । त्यसो त ‘अर्हत्’मा केही सन्दर्भ तथा पात्रहरू पूर्वप्रचलित छन् । देवदत्त, अङ्गुलीमाल, पटाचारा जस्ता पात्रहरू जातक कथाहरूमा प्रचलित पात्र हुन् । शैलेन्द्र अधिकारी ‘अर्हत्’मा सिद्धार्थ गौतमको गृहत्यागको सन्दर्भबाट विषयलाई अगाडि बढाउँछन् ।
सिद्धार्थको बाल्यकालीन जीवन उपन्यासमा आएको छैन । आएको भए देवदत्तको चरित्रको व्यापकता पक्कै अभिव्यक्त हुन्थ्यो । पटाचाराको जीवनको दर्दनाक विरहको सङ्केत उपन्यासमा आएको छ । अङ्गुलीमालको कथा भने निकै रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
शैलेन्द्रले ‘अर्हत्’मा वर्तमानमा मात्र होइन, प्राचीनकालमा पनि मानिसमा जालझेल, षड्यन्त्र तथा स्वार्थ बेस्सरी भरिएको पाइन्थ्यो भन्ने कुरालाई विभिन्न पात्रहरूको माध्यमबाट प्रस्तुत गरेका छन् ।
मगध नरेश पिता बिम्बिसारको हत्या गरेर राजा बन्ने अजातशत्रु, अजातशत्रुको उक्साहटमा लागेर बुद्धमाथि षड्यन्त्र गर्ने देवदत्त, मृत्युदण्ड पाएको सुत्तकलाई स्वर्णमुद्रा तिरेर ज्यान जोगाई प्रेममा डुबेकी दक्षपुत्री भद्दाको विश्वासमाथि घात गर्न सक्ने सुत्तक, राजा प्रसेनजीतमाथि षड्यन्त्र गर्ने सेनापति, स्वर्णमुद्राका सामु प्रेमलाई तुच्छ ठान्ने नगरबधू सामा, तिर्थङ्करहरूको भड्कावमा परेकी गणिका चिन्चा माणविका यस्ता पात्र हुन् जो वर्तमान समाजमा जताततै भेटिन सक्छन् ।
अनेक मुखुन्डो लगाएमा मानिसहरू यस्तै यस्तै हुन्छन् । एक्काइसौँ शताब्दीमा बुद्ध भेटिन मुस्किल छ तर यी र यस्ता पात्रहरू यो समाजमा पनि यत्रतत्र भेटिन्छन् ।
हठयोगमा डुबेका सिद्धार्थलाई खिर खुवाउने सुजाता, कसैले विश्वास नगरेको वेलामा पनि विश्वास गरेर साथ दिने कौडिन्य, भर्भराउँदो बैँसमा नाबालक शिशुका साथ छोडेर जाने सिद्धार्थलाई अनन्त प्रेम र सम्मान गर्ने गोपा, आफ्ना पितालाई मलाई त्यागेर किन गयौ ? भनेर प्रश्न नगरी भिक्षु बनेर पिताको पछि लाग्ने राहुल, नगरबधू भए पनि जीवनको उत्तरार्धमा बुद्धको ज्ञानको समीपमा पुगेकी आम्रपाली, आफ्नै फिलाको मासु काटेर भिक्षुको तृष्णा शान्त गर्ने सुप्रिया जस्ता पात्रहरू उच्च आदर्श पात्र हुन् ।
यस्ता पात्रहरूको माध्यमबाट उपन्यासमा जीवनको उज्यालो पाटो, सकारात्मक चिन्तन, त्याग र समर्पणको भाव जगाइएको छ । पात्रहरूमा रहेको स्वभावतग तथा चारित्रिक विशेषतालाई उपन्यासकारले निकै सूक्ष्म चित्रण गरेका छन् ।
गौतमी प्रजावती, गोपा तथा राहुलले प्रव्रज्या लिएको, महिलाहरूलाई भिक्षु सङ्घमा सहभागी गराउन प्रजावतीको हठका कारण आनन्दले तथागतसँग तर्क गरेको प्रसङ्ग निकै प्रेरक छ । त्यसो त महिलाहरूलाई सङ्घमा सामेल नगराउनका लागि बुद्धले राखेको तर्क पनि अर्थपूर्ण छ । आपूm र नाबालक राहुललाई छोडेर सन्यासी बन्ने बुद्धलाई शिरमा राखेर, उनलाई भगवान् मानी उनकै पथमा हिँडेर भिक्षुणी बनेकी यशोधरा तथा आफैँले पालनपोषण गरेर हुर्काएको सन्तान सिद्धार्थलाई भगवान् मानेर शरण परेकी प्रजावती गौतमी आदर्श पात्रको रूपमा उपस्थित छन् ।
बुद्धकालीन समयमा पनि समाजमा जातप्रथाले कसरी जरो गाडेको थियो भन्ने कुरा कपिलवस्तुका शाक्यवंशी राजाहरूको रक्तशुद्धिको सन्दर्भलाई लिएर गरिएको छ । दासीसँग सहवास गर्ने, त्यही दासीबाट जन्मिएकी छोरी तथा छोरीको छोरो नातिमाथि गरिएको विभेद, राजा महानामले युद्धमा पराजित भएपछि बरु जलसमाधि लिन सहज ठानेको नातिसँग बसेर भोजन गर्न नमानेको प्रसङ्गबाट तत्कालीन समाजको कुरूपताको झल्को पनि देखाइएको छ, ‘अर्हत्’ उपन्यासमा । मानवीय जीवन त्यस समयमा पनि दम्भ, अहङ्कार तथा ललचले घेरिएको थियो भन्ने कुरा उपन्यासमा ससाना आख्यानहरूका माध्यमबाट प्रस्तुत गरिएको छ ।
बुद्ध आफ्नो मूर्तिपूजाको पक्षमा थिएनन् । ‘अर्हत’ उपन्यासको मृत्युपर्यन्त उपशीर्षकअन्तर्गत राजा प्रसेनजीत र अनाथपिण्डकले आनन्दसँग परामर्श गरेर बुद्धका भक्तहरूले उनको अनुपस्थितिमा दर्शन नपाउने अवस्था नरहोस् भन्ने उद्देश्यले उनको मूर्ति बनाएर राख्ने प्रस्ताव राखे । काठको मूर्ति बनिसकेको थियो । राख्नका लागि उपयुक्त स्थानको बारेमा बुद्धसँग परामर्श गर्न खोजिएको थियो । बुद्धले भने मूर्ति पूजालाई नकार्दै यसो गर्दा अरू धर्म र बुद्ध धर्ममा के अन्तर भयो र ? मैले स्वयम्लाई मनित र पूजित बनाउनका लागि सद्धर्मको स्थापना गरेको होइन भन्दै बुद्धले बरु मेरो श्रद्धाका लागि बोधी वृक्ष लगाउन सकिन्छ भन्ने सन्देश दिएको प्रसङ्ग छ । वर्तमान समयमा संसारमा सबैभन्दा बढी मूर्ति बुद्धकै छन् । बुद्धले गरेको उपदेश बुद्धका अनुयायीहरू माझ कसरी पुगेको छ भन्ने कुराको विमर्शको थालीन पनि शैलेन्द्रले ‘अर्हत्’मार्फत गरेका छन् ।
‘अर्हत्’ उपन्यासमा कथावाचकका रूपमा उपस्थित भएका बुद्धले ज्ञान प्राप्तिको यात्राका व्रmममा तथा सम्यक् संबुद्ध भएपछिको सन्दर्भमा अनेक चरित्रहरूको समना गरेका छन् । समाजमा अप्ठ्यारा पात्र, भ्रमित पात्र, अज्ञानी पात्र, अहङ्कारी पात्र उनका सामु आएका छन् । ती पात्रहरूलाई जीवनको अर्थबोध गराएर सत्मार्गमा ल्याएको प्रसङ्ग मात्र उपन्यासमा आएको छैन ।
यसले विश्व इतिहासमा नै महत्वपूर्ण भूमिका रहेको कपिलवस्तु राज्यको पतनको कारण पनि समेटेको छ । मानिसलाई भेदभाव गर्ने, रक्तशुद्धिको नाममा अमानवीय व्यवहार गर्ने, आपूmलाई ठाँटका साथ माथिल्लो वर्गको मान्ने दम्भी शासकको पतनको कथा समेटेर शैलेन्द्र अधिकारीले ‘अर्हत्’ उपन्यासबाट शासक आफ्नै व्यवहारले पतनोन्मुख हुने कुरा देखाएका छन् ।
उपन्यासमा समेटिएका कतिपय सन्दर्भहरू त्यहाँबाट सर्लक्क झिकेर छुट्टै कथाको रूपमा प्रकाशन गर्दा पनि हुने गरी आएका छन् । कतिपय सन्दर्भहरू एकअर्कामा सापेक्षित भएर आएका छन् । बुद्ध कथावाचकको रूपमा उपस्थित छन् । उपन्यासकार अधिकारीले बुद्ध स्वयं वक्ता भएकाले उनको जन्म, शैशवकाल, माता मायादेवीसँगको सन्दर्भ स्वप्नको रूपमा प्रस्तुत गरेका छन् ।
बुद्धले सपनामा माता मायादेवीलाई देखेको, उनले मातालाई प्रश्न गरेर आफ्नो प्रारम्भिक जीवनको जानकारी गराएबाट उपन्यासकारले चतुरता प्रस्तुत गरेको देखिन्छ ।
उपन्यासमा सलल बगेको भाषा छ । छोटा र खास बान्कीका सरल वाक्यहरूले आख्यानलाई राम्ररी डोर्याएका छन् । बौद्ध दर्शनको आख्यानीकरण भएकाले होला लेखकले तत्सम शब्दहरूको प्रयोगमा अलि बढी नै मोह राखेका छन् । प्रचलित नेपाली शब्दहरूको प्रयोग गर्दा पनि हुने सन्दर्भहरूमा पनि अप्रचलित शब्दहरूको प्रयोग गरिएको छ । हुन त उपन्यास पढ्दै जाँदा सन्दर्भले नै अर्थबोध हुँदै जान्छ तर उही अप्रचलित तत्सम शब्द बारम्बार आइरहँदा यसको सट्टामा यो शब्द प्रयोग गरेको भए पनि हुन्थ्यो भन्ने लाग्न सक्छ ।
भाषा अत्यन्त प्राञ्जल र लालित्यपूर्ण भएर पनि कतै कतै मुद्राराक्षसको सिकार भने भएको छ । अर्को संस्करणमा छिटपुट देखिएका वर्णविन्यासगत त्रुटि सच्याउनुपर्ने देखिन्छ । सिद्धार्थ गौतम तथा बौद्ध दर्शनको बारेमा धेरै पुस्तकहरू प्रकाशन भएका छन् । अनुसन्धान भएका छन् । नेपाली, हिन्दी, अङ्ग्रेजी लगायतका विभिन्न भाषामा बौद्ध दर्शन र बुद्ध जीवनका सामग्रीहरू प्रकाशन भएको पाइन्छ ।
बुद्ध जीवनलाई समेटेर भारतीय टेलिभिजनमा धारावाहिक शृङ्खला पनि प्रसारण भएको छ । यी सबैभन्दा पर ‘अर्हत्’ उपन्यास नेपाली भाषामा सरल शैलीमा बुद्ध र बौद्ध दर्शनलाई बुझ्न सघाउने सामग्री बनेको छ ।
प्रतिक्रिया 4