+
+
कथा :

त्यो रात

शिव मुखिया शिव मुखिया
२०८१ मंसिर २४ गते ७:११

साँझपख म जुन घरमा बास बस्न आइपुगेको थिएँ, त्यो ठाउँ एकान्त र शान्त थियो । त्यहाँ कुनै परिवार थिएनन्, मान्छे थिएनन् । यस्तो ठाउँमा म आनन्दले आफ्नो मर्जीअनुसार बस्न सक्थें ।

त्यसैले कोठामा पस्नासाथ बेपर्वाहसँग लुगा खोलेर ओछ्यानमा उत्तानो पल्टिएँ । अनायास मेरा आँखाहरु सिलिङमा दौडिए, जो निख्खर रातो रङको थियो । हत्त न पत्त मेरो दृष्टि आसपासको भित्तामा गयो । भित्ता पनि रातै । यसलाई ‘लालकोठा’ भनिदिए हुनेरहेछ । कस्तो असुहाउँदिलो ? कुन बकम्फुसेले यस्तो रङ छनोट गर्‍यो होला ?

तर यी सबै कुरालाई बिर्साउने गरी त्यहाँ एउटा अत्यन्तै मोहक पेन्टिङ थियो । त्यो पेन्टिङ कुनै मस्त जवान युवतीको थियो । ठीक मेरो पलङको सामुन्ने सजाइएको पेन्टिङ औसत मान्छेकै आकार बराबर थियो, सायद पाँच फिट चार इन्च लम्बाइको ।

कति जीवन्त पेन्टिङ ! अहिले नै मसँग बातचित गर्न लागेजस्तो । हिस्सी परेको अनुहार, पारदर्शी पहिरन । पूर्ण कदको यो पेन्टिङ कामुक र मोहक लाग्यो मलाई ।

आज यिनै सुन्दरीसँग रात बिताउन पाइयो भनी मनमग्न भई मैले आफूसँगै ल्याएको ह्विस्की गिलासमा खन्याएँ । म पियक्कड होइन तर एक-दुई प्याक पिएपछि आफैंसँग रमाउन सकिन्छ । रातलाई रोमान्टिक बनाउन सकिन्छ । नभए त यस्तो अनकन्टारमा कसरी एक्लै समय कटाउनु ? अर्को कुरा यसले दिनभरको थकान भाग्छ ।

मध्य हिउँदको याम । कोठालाई पहाडको हावाले ओसिलो र चिसो बनाइदिएको थियो । मैले पलङमा रक्सी र घरबाटै बोकेको तयारी सितनहरु राखें । चुरोट सल्काएँ । अनि रवाफिलो शैलीमा नुनिलो-पिरो सितन चपाउँदै ह्विस्कीको स्वाद लिन थालें ।

एक प्याक रक्सी पिएपछि मेरो स्नायुतन्त्र उत्तेजित भइहाल्छ र म रसिक बन्छु । त्यस क्षण मलाई सबै कुरा रमाइला लाग्न थाल्छन् । नराम्रा मान्छे पनि सुन्दर देख्न थाल्छु । अरुको गाली पनि गीत जस्तै लाग्न थाल्छ । तर आज त्यस्तो लागेन ।

यहाँ त म मात्र खाइरहेको, चलिरहेको अरु सबै अचल भई ठिङ्ग उभिएर मलाई हेरिरहे जस्तो लाग्यो । मैले भित्तामा हेरें, त्यहाँ झुन्ड्याइएका लुगाफाटा अचल थिए । झ्यालको पर्दामा हेरें, त्यो पनि अचल थियो । कुनै चालचुल छैन । यस्तो बेला कम्तीमा मुसा भइदिए पनि साथी जस्तै लाग्नेरहेछ । तर त्यो पनि थिएन । कस्तो निर्जीव कोठा ! मुर्दाघर जस्तो ।

न हावा चलेको छ । न कुनै आवाज छ ।

मलाई शान्त मनपर्छ । तर यस्तो शून्यता होइन । चराचुरुङ्गी त बास बसिसके होलान्, कीरा फट्याङ्ग्रा कराउनुपर्ने हो । भयानक र घोरशून्य ओडारभित्र निस्सासिएको छु जस्तो लाग्यो मलाई । अनि चुरोट र ग्लास बोकेर बार्दलीमा निस्किएँ ।

पश्चिमतिरका पहाड काला आकृति जस्ता देखिन्थे । आँगनदेखि निकै तलसम्म खुला चौर थियो । माझतिर सायद पोखरी हुनुपर्छ । रातको समयमा त्यो कुनै सेतो प्लास्टिक बिछ्याए झैं स्थिर लाग्थ्यो । अर्कोतिर घना जंगल थियो । नजिकैको डाँडामा अग्लो खम्बामा झण्डा राखिए जस्तै देखिन्थे । चिहान हो वा पूजाआजा गर्ने ठाउँ ।

मैले सामुन्नेमा दृष्टि लगाएँ, त्यहाँ तारमा लुगा सुकाइएको थियो । तर ती सबै हल न चल । म बिरक्तिएँ । मलाई साँच्चै सास रोकिए जस्तो भयो ।

पूर्ववत् ठाउँमा फर्किएर ओछ्यानमा पल्टिएँ । कतै टाढा कुकुर भुकेको सुने पनि, कतै छिमेकमा मान्छेले खोकेको सुने पनि, कतै गाउँबस्तीमा गाईवस्तु कराएको सुने पनि मन केही हलुंगो हुन्थ्यो होला । तर यहाँ त कुनै चीजको छिसिक्क आवाज पनि सुनिंदैन ।

ब्रह्माण्डको आफ्नै ध्वनि छ भनिन्छ । प्रकृतिको पनि आफ्नै लय र धुन छ भनिन्छ । खै कहाँ छ ? मेरो कानमा बुझो लगाएको छ र ?

मैले झल्याँस्स बाहिर लुगा सुकाइरहेको याद गरें र निमेषभर भए पनि मन ढुक्क बनाएँ । यो घर वा आसपासमा अरु कोही मान्छे हुनुपर्छ । तर त्यो कसरी सम्भव छ ?

किनभने घरको चाबी दिंदै मलाई सोनाम लामाले ‘यहाँ चौकीदार वा घरको रेखदेख गर्ने मान्छे पनि नभएको’ बताएका थिए । आसपासमा कुनै बस्ती थिएन । न गोठ-कटेरो नै । सोनाम लामा मेरा छिमेकी थिए र उनी जडिबुटी संरक्षणको काम गर्थे । आज म बसेको घर उनकै क्वार्टर थियो ।

मलाई बाहिर सुकाइरहेको लुगा हेर्ने उत्सुकता जाग्यो । जुरुक्कै उठें र बार्दलीमा पुगें । मेरो आँखाले धोका खाएको थिएन । त्यहाँ लुगा सुकाइएकै थिए । तर ती सबै लुगा निख्खर रातो रङका थिए, रगत लतपतिएका जस्तो ।

अघि मैले लुगाको रङ ख्याल गरेको थिइनँ ? कि अहिले जादुयी ढंगले यसका रङ बदलिए ?

म हतारिएर कोठाभित्र पसें अनि जोडले ढोका लगाएँ । पलङमा उत्तानो पल्टिए । रातो सिलिङ, रातो भित्ता । मलाई भाउन्न भयो । कस्तो रातो आतंक ?

जबकि कुनैबेला म टाउकोमा रातो रुमाल बाँधेर क्रान्ति गर्न होमिएको मान्छे । द्वन्द्वकालमा रक्तक्रान्तिको गीत घन्काउँदै हिंडेको मान्छे । आज रातै अबीर, अक्षता र ध्वजा बोकेर देवस्थलमा भाकल बुझाउन हिंडेको मान्छे । मैले त्यहाँ किनेर देवीलाई चढाउने पशुको रगत पनि रातै ।

रातो वास्तवमा मेरो आस्था हो । आज म यसैसँग किन यति बिरक्तिए ?

अब मलाई होसमा रहनु थिएन । यो रात बेहोसीमै बिताउनु उत्तम ठानी छिटो–छिटो ह्विस्कीको ग्लास रित्याउन थालें । रक्सीको डोज बढ्दै गएपछि स्वभाविक हो, डरको थर्मामिटर घट्दै जान्छ । सायद अब मलाई मात लाग्यो । यो कुरा मलाई कसरी अनुभूत भयो भने भित्ताको पेन्टिङ अझ जवान र कामुक देख्न थालें । मैले आफ्नो डर हटाएर सम्पूर्ण ध्यान पेन्टिङमा लगाए । म चाहन्थें कि त्यसले मलाई यसरी सम्मोहित गरिदियोस् ताकि आजको रात बितेको पत्तो नहोस् ।

ग्लासमा ह्विस्की भरेर म युवतीलाई चियर्स भन्ने मनासयमा थिएँ । कताकता कसैले हेरिरहेको जस्तो असहज महसुस भयो । मैले पेन्टिङतर्फ हेरें । ती युवती मलाई नै एकोहोरिएर हेरिरहेकी थिइन् ।

म निर्धक्क उठेर पेन्टिङ नजिक पुगें अनि एकटकले नियाल्न थालें । त्यो वाटर कलर पेन्टिङ थियो । अनायास मेरा हातहरु ती युवतीको शरीरमा सलबलाउन थाले । मैले तिनको खुट्टा छोएँ, नितम्ब छोएँ, वक्षस्थल छोएँ । अनि हात । हात ??

अहिले त्यो हात जहाँ थियो, पहिले त्यहाँ थिएन । बेपत्तासँग झस्किएँ । म गिदी नै हल्लिने गरी मातेको वा बौलाएको त छैन नि ?

युवतीको भावभंगीमाबारे कति पनि द्विविधामा थिइनँ । किनभने यस पेन्टिङलाई मैले एकदमै ठिम्याएर हेरिसकेको थिएँ । यसमा कतै गइरहेकी युवतीले एकैचोटि पछाडि फर्केर हेरेजस्तो र यसरी हेर्दा केही लजाएजस्तो देखिन्थ्यो । उनले सेतो पारदर्शी गाउन लगाएकी थिइन् । अनि गाउनको एक छेउलाई केही झुकेर दाहिने हातले समातेकी थिइन् । हो त्यही हात अहिले उनको कम्मरमा छ ।

किचकन्याहरु सेतो वस्त्रमा हुन्छन् भन्ने कुरा मैले सानैदेखि सुनेको थिएँ । कतै म यो एकलासे ठाउँमा किचकन्याको फेला त परिनँ ?

फेरि मेरा हातहरु यन्त्रवत् पेन्टिङमा पुग्यो र यताउता छाम्न थाले । यसपटक युवती शरीरमा स्पर्श गरिरहँदा मनमा कति पनि कामभाव थिएन । त्यो पेन्टिङमा मैले ब्रसको डोबहरु महसुस गरें । र, शतप्रतिशत ढुक्क भएँ कि यो फगत पेन्टिङ हो ।

चुरोट सल्काएर बार्दलीमा पुगें । कतै मान्छे देखिएला भनी मनमा कताकता आशा थियो । कसैले खोकेको, बोलेको मात्र सुन्न पाए पनि सान्त्वना मिल्ने थियो । तर बाहिर कति चकमन्न छ भने हावा बहकिएको पनि महसुस गर्न सकिंदैन । रुखका पातहरु हल्लिएका थिएनन् । अचानक मेरो दिमागमा कस्तो चित्र आयो भने ती सबै रुखमा मान्छेहरु झुण्डिएका छन् ।

यत्तिकैमा हठात् मैले कोठाभित्र कोही साउती गरिरहेको सुनें । साउती पनि यस्तो कि, मानौं त्यो मेरो कानकै छेउमा आएर गरिएको होस् ।

‘द्वन्द्वात्मक भौतिकवाद’को ठेली बोकेर वैंश गुजारेको म आज अदृश्य शक्तिसँगको मुठभेडमा थिएँ । मैले वैंशालु दिनहरु सम्झिएँ र मनलाई बलियो बनाउने प्रयत्न गरें । अनि कोठामा गएर कतै नहेरी सिरकभित्र गुटमुटिएँ ।

मलाई यतिबेला आफ्नै मुटुको ढुकढुकी सुन्न मन लाग्यो । कम्तीमा त्यसको ध्वनिले केही राहत दिनसक्थ्यो । मैले आफ्नै छातीमाथि हात राखें र एकदमै होसियारीसाथ मुटुको चाल सुन्न खोजें । तर ठीक नै बेला मेरो सिरानीतर्फ कसैले चर्को साउती गर्‍यो । हत्तपत्त सिरक पन्छाएर यताउता हेरें । मेरो हंसले त्यसबेला ठाउँ छाड्यो, जब पेन्टिङमा त्यो युवती नै देखिनँ । सेतो क्यानभास मात्र छ त्यहाँ । लास बेर्ने कात्रो जस्तो ।

चुरोट सल्काउने कि बोत्तलको ह्विस्की घटघट पिउने ? मेरो दिमागले क्रमैसँग काम गर्न सकेन । चुरोट सल्काउन खोज्दा लाइटरले हात पोल्यो र ह्विस्कीको बोत्तल भुईंमा बजारियो । अचम्म, त्यो बोत्तल बजारिएको वा फुटेको आवाज समेत आएन ।

के यहाँ कहिल्यै बिहान हुँदैन ? यहाँ कोही मान्छे आउँदैनन् ? कुखुराको भाले बास्दैन ? कुकुर भुक्दैन ? यो कति भयानक शून्यता हो ?

म सिरकभित्र गुटुमुटु परें । अनि बिस्तारै आँखा चिम्लिएँ ।

यसपटक साउतीको आवाज आउनु र मैले सिरकबाट टाउको निकाल्नु एकैसाथ भयो । झल्याँस्स देखिहालें, यतिबेला मेरै सिरानीमाथि त्यो युवतीको पेन्टिङ छ । र, त्यसको नाकबाट आलो रगत बग्दैछ ।

हावाको बेग जसरी म त्यहाँबाट बाहिर निस्किएँ । अनि बेतोडले दौडिएर त्यहीं डाँडातर्फ उक्लिएँ, जहाँ अघि झण्डा जस्तो केही देखेको थिएँ । त्यहाँ उही सन्नाटा थियो । यस्तो लाग्यो, समय टक्क रोकिएको छ । हावा चलेको छैन । पानी बगेको छैन । मेरो सास पनि रोकिएको हो ?

झण्डा गाडिएको ठाउँमा देवस्थल हो वा चिहान थियो । नजिक पुगेर हेर्दा समेत मैले ठम्याउन सकिनँ । चिहान हो ? देवस्थल हो ? के हो ? दृश्यमा पनि कस्तो विरोधाभास ? म रन्थनिएँ ।

मलाई के बोध भयो भने वास्तवमा यो सबै दृष्टिभ्रम हो । मैले यसअघि जे–जति देखें, त्यो सबै गलत थियो । मेरो आँखामा केही समस्या हुँदै गएको अनुमान गरें र एकतमासले डराइरहेको मनलाई सान्त्वना दिएँ । खासमा भएको केही होइन, मेरो आँखाले धोका दिएको हो ।

ढुक्क भएर म पहिलेकै ठाउँमा फर्किएँ । सम्भवत: यतिबेला मिर्मिरे उज्यालो भइसकेको थियो । मैले घरभित्र अतिरिक्त आवाज सुनें, मान्छेहरु बोलेको जस्तै । हतारहतार म आफ्नो कोठाको सामुन्ने पुगें । त्यहाँ मैले जुन दृश्य देखें त्यो अपत्यारिलो मात्र होइन, अत्यासलाग्दो पनि थियो ।

त्यहाँ केही गाउँले मान्छे थिए र उनीहरु ओछ्यानतर्फ निर्निमेष हेरिरहेका थिए । उनीहरु त्रस्त देखिन्थे । किनभने ओछ्यानमा एउटा उत्तानो परेको एउटा पुरुषको लास थियो । त्यो मेरो लास थियो ।

………………………

मध्यन्हतिर । बाक्लो हिँउ पर्न सुरु गरिसकेको थियो । त्यहाँ घुम र छाता ओडेर केही गाउँले जम्मा भइसकेका थिए । दुई प्रहरीमध्ये अलि लिखुरे ज्यानको जवान मेरो लासको मुचुल्का तयार गर्दै थिए । मेरो झोलाबाट उनीहरुले नागरिकतासहित मैले भाकल बुझाउनका लागि बोकेको अबिर, अक्षता, ध्वजा निकालेर फिँजाएका थिए ।

नाम– भक्त प्रसाद नेपाली ।

उमेर –५१ बर्ष ।

‘मृतक घाँटी रेटिएको अवस्थामा दाहिने हातले खुकुरी समाएका ………….।’ अर्का जवान फोनमा कसैलाई रिपोर्ट गरिरहेका थिए, ‘हजुर साप, आफैंले आफ्नो घाँटी छिनाएको जस्तो देखिन्छ ।’ त्यसपछि उही जवानले गाउँलेतर्फ हेरेर खै किन हो यसो भने, ‘यो मान्छेलाई खुकुरी खेलाउने लत रहेछ ।’

आखिर जसले जे भनेपनि त्यसको बिरोध गर्न असमर्थ थिएँ म । खासमा मैले आत्महत्या गरेकै थिइँन । परिवारको त्यतीका जिम्मेवारी बोकेको मान्छेले यो एकलासे ठाउँमा आएर कसरी आफैंलाई सिध्याउँछ ?

दीर्घरोगको औषधि खाइरहेकी मेरा बुढा बा, जवान श्रीमती, दुई कलिला बालबच्चाको अब के हालत होला ? बुवा फेरी कहिल्यै घर फर्कने छैन भन्ने थाहा पाउँदा मेरा ती अबोध बालबच्चाको मन कति रुन्छ होला ?

आज म कति कमजोर, निरिह र विवश थिएँ ?

अनायस मेरो आँखा भित्ताको पेन्टिङतर्फ मोडियो । त्यहाँ उही पेन्टिङ, उस्तै अवस्थामा देखिन्थे । फरक कतिमात्र थियो भने ती युवती कामुक र मोहकभन्दा बढी रौद्र भावका लाग्थे । विस्फारित आँखा, रातो जिब्रो । डरलाग्दो ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?