+
+
कथा :

ट्रु कलर

फुलबरियाको यो साधारण तर सुन्दर व्यक्तित्वले सन्तोषलाई थप आकृष्ट बनाउँदै लगेको थियो। सन्तोष अक्सर फुलबरियालाई खेतमा काम गरिरहेको बेला टाढैबाट हेरिरहन्थे। तर आफ्नो भावनालाई व्यक्त गर्न साहस जुटाउन सकेका थिएनन्।

रोहितराज झा रोहितराज झा
२०८१ कात्तिक २४ गते ११:१७

सन्तोष साह गाउँकै जमिन्दार र साहु-महाजनमा गनिने फुलेश्वर साहका एक मात्र छोरा थिए। कक्षा १० सम्म गाउँकै बोर्डिङ स्कुलमा पढेका उनी काठमाडौंबाट १०+२ को पढाइ सकेर भारतको हैदरावादको एउटा प्रतिष्ठित विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न थालेका थिए।

यता गाउँमा सन्तोषको मनग्य खेत थियो र खेतीपातीमा सन्तोषका बुवा आफैं खुबै रुचि राख्थे। खेतीपातीको काममा मजदुरहरू अत्यावश्यक छन् भन्ने कुरा फुलेश्वर साहले बुझेका थिए। त्यसैले खेतीपातीका काममा पोख्त हुने मलाह र सदा जातिका केही परिवारलाई पुस्तौंदेखि आफ्नो जग्गामा बसालेका थिए। वर्षौंदेखि बस्दै आए पनि जग्गाको लालपुर्जा भने उनीहरूले पाएका थिएनन्। जग्गामा बसेबापत परेका बेला साहको खेतमा मजदुरी गर्न तयार रह्नुपर्थ्यो। मजदुरीको न्यूनतम ज्याला चाहिं उनीहरूले पाउने गरेका थिए।

सन्तोष पनि घरमा भएका बेला खेततिर जाने गर्थे, कहिले सघाउन त कहिले खाना/खाजा पुर्‍याउन वा कहिले घुम्न। यसपटकको गर्मी बिदामा हैदरावादबाट आउँदा पनि उनी त्यसै गरिरहेका थिए। तर, यो वर्ष उनलाई खेतले बढी तानिरहेको थियो। कारण थियो बिन्दे मलाहकी छोरी फुलबरिया।

उमेरले १६-१७ वर्षमा टेक्दै गरेकी फुलबरिया आफ्नै ढङ्गकी सुन्दर युवतीमा परिणत हुँदै थिइन्। साँवला वर्ण, पाँच फिट भन्दा माथिको उचाइ, लामो कपालमा मिलेको जीउडाल। उनको स्वाभाविक सौन्दर्यले गाउँको प्राकृतिक सौन्दर्यलाई झल्काउँथ्यो। उनीमा कुनै प्रकारको बनावट थिएन। गाउँकी ठेट असल छोरीको रूपले उनीलाई थप सुशोभित बनाएको थियो। उनका आँखा गहिरा थिए, जसमा सरलता र आत्मविश्वास दुवै झल्किन्थे। लामो रेखाले बनेका अनुहारले उनलाई अरु युवतीभन्दा फरक देखाउँथ्यो र उनको मीठो मुस्कानले सबैको मन लोभ्याउँथ्यो। उनी साधारण गाउँले पहिरन लगाउँथिन् तर उनको उपस्थितिमा एक किसिमको आकर्षण थियो, जुन कसैले पनि नदेखी बस्न सक्दैनथ्यो।

फुलबरियाको यो साधारण तर सुन्दर व्यक्तित्वले सन्तोषलाई थप आकृष्ट बनाउँदै लगेको थियो। सन्तोष अक्सर फुलबरियालाई खेतमा काम गरिरहेको बेला टाढैबाट हेरिरहन्थे। तर आफ्नो भावनालाई व्यक्त गर्न साहस जुटाउन सकेका थिएनन्।

फुलबरिया पनि सन्तोषको यो बदलिंदो व्यवहार नियालिरहेकी हुन्थिन् र कहिलेकाहीं मन्द मुस्कान फर्काउँथिन्। सन्तोषलाई यतिले पुग्थ्यो, मन हुरुक्क हुन्थ्यो, दिन गज्जबले बित्थ्यो। सन्तोषको हरेक रात भोलि फेरि फुलबरियालाई हेर्न पाइन्छ, उनीसँग आँखा जुधाइन्छ भन्ने सोचमै बित्न थाल्यो।

सधैं सधैं दिनभरि खेतमा बस्नाले कसैले शंका पनि गर्न सक्थ्यो। र सन्तोषलाई हेरेर मात्रै पुगेको थिएन। उसलाई फुलबरियाको नजिक पुग्नुथियो, उनीसँग कुरा गर्नुथियो तर यो सबै खेतमा सबैका बीच सम्भव थिएन। यसको समाधानको उनले एउटा जुक्ति निकाले।

आमाको उमेर ढल्किरहँदा पनि घरका सबै काम एक्लै गर्नु परेको आफूलाई मन नपरेको उनले बालाई सुनाए र घरमा एकजना सहयोगी राख्दिन आग्रह गरे। बाले कसलाई राख्ने त सहयोगी भन्दा उनले फुलबरियाको नाम लिए। आफूले उनलाई खेतमा काम गरेको देखेको र उनले सबै रूपमा सघाउन सक्छिन् भन्ने कुरा राखे। बाले आमासँग कुरा गरेर हुन्छ नि त भनिदिए।

भोलि नै सन्तोषका बाले फुलबरियाको बालाई बोलाएर उनलाई घरको काममा सघाउन पठाइदिन सकिन्छ कि भनेर सोधे। फुलबरियाका बाले पनि छोरीका लागि यो घरव्यवहार सिक्ने ठूलो अवसर हुन्छ भन्दै भोलिपल्टदेखि नै पठाइदिने कुरा सुनाए।

यो खबर सुनेर सन्तोषको खुट्टा भुईंमा थिएन। उनलाई अब फुलबरियाको एक झलकको लागि असार-साउनको घाममा खेतको आलीमा उभिइराख्नु पर्दैन। भोलिदेखि फुलबरिया दिनभरि उनको आँखाको अगाडि हुनेछिन् भन्ने सोचले पनि उसलाई काउकुती लाग्न थालेको थियो।

बिहानै फुलबरिया आफ्नो चिरपरिचित मुस्कानसहित आइपुगिन्। आफूलाई बाले पठाएको र आफू प्रत्येक दिन बिहानदेखि साँझसम्म यहाँ काम गर्ने र साँझ घर फर्किने कुरा सुनाइन्।

सन्तोष धेरै पहिलेदेखि पुष्पासँग विवाह गर्ने सपना पालेर बसेका थिए। उताबाट केही उत्साहवर्धक प्रतिक्रिया नआएर त्यो सपना गुमनाम थियो। अहिले फोनमा पुष्पाको नाम देखेर त्यो सपनाको प्वाँख पलाएको थियो

सन्तोषको आमाले उनलाई घरका सानातिना काममा लगाइन् र सन्तोष भने आफ्ना आँखालाई काममा लगाए। फुलबरिया जता गए नि सन्तोषको नजरले उनलाई पछ्याइरहेको हुन्थ्यो। फुलबरियाले पनि यो चाल पाइसकेकी थिइन्। उनी पनि कहिलेकाहीं फर्केर हेर्थिन् र दायाँ–बायाँ कसैलाई नदेखे मुसुक्क मुस्कुराउँथिन्। सन्तोषलाई मानौं कुनै लट्री लागे जस्तो भएको थियो।

सन्तोष र फुलबरिया दिन-प्रतिदिन एक-अर्काको झन् नजिक हुँदै थिए। कहिले सन्तोषले उनलाई चक्लेट दिन्थे त कहिले बजारबाट उनकै लागि किनेको कपडा। फुलबरिया मख्ख थिइन्। उनलाई घरमा कसैले सोध्दा माल्किनले दिएकी बताउँथिन् र सबै पत्याउँथे।

एक दिन घरमा कोही नभएको बेला सन्तोष फुलबरियाको समिप पुगेर हल्का स्वरमा बोल्दै भने, “फुलबरिया, म तिमीलाई मन पराउँछु। मलाई थाहा छैन यो किन र के भन्दैछु तर यो कुरा मेरो मनबाट बाहिर ल्याउनै पर्ने भएको छ। मैले तिमीभन्दा सुन्दर मान्छे अहिलेसम्म देखेको छैन। तिम्रो जस्तो सरलतामा पनि गहिराइ, सायदै अरू कसैमा देखेको छु। तिम्रो आँखा भित्र एक कथा छ, जुन म पढ्न चाहन्छु।”

सन्तोषले फुलबरियालाई आँखा जुधाएर अझ थपे, “तिमीलाई देख्दा लाग्छ, तिमी सँगैको प्रत्येक पललाई सजीव बनाउनुपर्छ। मलाई थाहा छैन तिमी के सोच्छौ तर मैले, मेरो हृदयले तिमीलाई रोजिसकेको छ। मेरो शब्दहरूले सायद यो सब व्यक्त गर्न सक्दैन होला, तर म तिमीलाई जीवनका सबै खुशी दिन चाहन्छु।”

फुलबरियासँग यो सबैको कुनै उत्तर थिएन। यो सबै उनीसँग पहिलो चोटि हुँदै थियो। उनी रोमान्चित त भएकी थिइन् तर साथै डराएकी पनि थिइन्। उनलाई यो सम्बन्धको भविष्य कतै देखिंदैनथ्यो तर उनी समयसँग बग्ने निर्णयमा पुगिन् र जबसम्म यो सम्बन्ध चल्छ, चलिरहनदिने निचोड गरिन्।

आफ्ना मनका कुरा भनिसकेपछि सन्तोष झनै स्वतन्त्र भएको थियो। अब सबैको आँखा छलेर उसलाई फुलबरियाको समिप पुग्न हतार हुन्थ्यो। ऊ कहिले फुलबरियाको हात समात्थ्यो त कहिले उसको गाला सुम्सुम्याउँथ्यो। फुलबरियाबाट केही हर्कत नभए तापनि मौनता सहितको समर्थन उसले पाएकै थियो।

दिनहरू एवम् प्रकारले बित्दै थियो। एक दिन सन्तोषले फुलबरियाको हातमा एउटा फोन थमाइदियो र भन्यो, “अब दिउँसो भरिले पुग्दैन, मलाई राति पनि तिमीसँग बोल्न मन लाग्छ। यो फोन राख।” त्यो क्यामेरा सहितको फोन थियो। उसले फुलबरियालाई फोन चलाउन सिकाउन खोज्दा फुलबरियाले यति जाबो त कसलाई आउँदैन भनेर जिस्किंदै सन्तोषको हातबाट फोन खोसेर आफ्नो सुरुवालको गोजीमा लुकाएकी थिइन्।

सन्तोष र फुलबरिया बीचको कहानी अब दिनमा मात्रै सीमित रहेन। उनीहरू रात-रात भर फोनमा बोल्न थाले।

ख्याल ख्यालमा सुरु गरेको प्रेममा आफू फसिरहेको फुलबरियाले महसुस गर्न थालेकी थिइन्। यो कहाँ गएर टुङ्गिन्छ उसलाई कुनै अत्तोपत्तो थिएन।

एक दिन सन्तोषको आमासँग फुलबरिया किनमेल गर्न बजार गएकी थिइन्। बजारमा डुल्दै गर्दा उनले फोनको नयाँ सिम कार्ड हुने डब्बा जमीनमा देखिन्। बजारमा धेरै भीड थियो। कसैले नदेखिने गरी उनले त्यो डब्बा उठाइन् र आफ्नो सुरुवालको गोजीमा राखिहालिन्।

सन्तोषको घर पुगेर, त्यहाँको काम सकेर उनी आफ्नो घर गइन्।

त्यो डब्बामा साँच्चिकै नयाँ सीमकार्ड नै छ कि भनेर जान्न एकदम उत्सुक थिइन् उनी। डब्बा खोलेर हेर्दा नयाँ सीम कार्ड टाँसिएर आउने प्लेट त थियो तर त्यसमा सिम कार्ड चाहिं पुरानो थियो। यसो हेर्दा कसैले नयाँ सीम कार्ड किनेको र आफ्नो फोनमा हालेको र पुरानो सीम कार्ड यो डब्बामा राखेको सहजै थाहा पाउन सकिन्थ्यो।

फुलबरियाको लागि पुरानो सिम कार्ड नयाँ सिम कार्ड जस्तै थियो। उनीसँग अब सन्तोषले दिएको बाहेक एउटा अर्को सिम कार्ड पनि थियो। उसले यो सिम कार्डको सहायताले सन्तोषसँग जिस्किन या भनौं सन्तोषको मायाको परीक्षा लिने योजना बनाइन्।

उनले आफ्नो फोनमा भएको सिम कार्ड झिकिन् र भेटाएको सिम कार्ड हालिन्। नभन्दै फोनमा त्यो सिमको नेटवर्क पनि देखायो।

उनले फटाफट सन्तोषको नम्बर डायल गरिन् जुन उनलाई कन्ठस्थै थियो। उनको पूर्व योजना चाहिं सन्तोषलाई फोन गर्ने, कुनै अरु केटी बनेर कुरा गर्ने, आफू सन्तोषसँग प्रेममा रहेको बताउने र त्यसमा सन्तोषको प्रतिक्रिया हेर्ने थियो।

तर उता सन्तोषको फोनमा पहिलो घन्टी गयो होला, र यता फुलबरियाको हात खुट्टा लगलग काम्न थाल्यो। उनलाई यो बुझ्न समय लागेन कि सन्तोषसँग कुनै अरु केटी बनेर कुरा गर्न सक्ने क्षमता उनीमा छैन। उनले हत्तनपत्त फोन काटिन् र लामो सास लिइन्।

यता सन्तोषले फोन उठाउन खोज्दा फोन काटिएको थियो। यस्तै नचिनेको नम्बरमा आउने फोनहरू आए त्यो नम्बरहरू सम्बन्धित व्यक्ति बारे पत्ता लगाउन सन्तोषले फोनमा ट्रु कलर भन्ने सफ्टवेयर हालेको थियो।

ट्रु कलर एउटा यस्तो सफ्टवेयर हो जसले सार्वजनिक रूपमा उपलब्ध भएका डाटाका स्रोतहरूको सहयताले कुनै फोन नम्बर कसको हुनसक्छ भनी अनुमान लगाएर एउटा नाम दिने गर्छ।

सरोकार रहेन। ऊ पुष्पालाई जसरी पनि आफू र फुलबरियाबीच केही नरहेको प्रमाणित गर्न चाहन्थ्यो। र त्यो प्रमाणित गर्न उ जुनसुकै हद पार गर्न तयार थियो। यो सब गरेर ऊ पुष्पासँग नजिकिन चाहन्थ्यो। पुष्पाको प्रेम पाउन चाहन्थ्यो।

अघि भर्खर फुलबरियाले गरेको फोनको नम्बरसँग सम्बन्धित नाम ट्रु कलरले पुष्पा साह देखायो।

पुष्पा साह देख्ने बितिक्कै सन्तोषको मुहारमा छाएको गुलाबी रङ हेर्ने लायकको थियो। पुष्पा साहलाई सन्तोषले आफ्नो पहिलो प्रेम ठान्थ्यो। उनीहरू पूरै स्कुले जीवनसँग पढेका थिए। सन्तोषले धेरै पटक पुष्पा प्रतिको आफ्नो प्रेम व्यक्त गर्न कोसिस पनि गरेका थिए तर पुष्पाले त्यो कहिल्यै स्वीकारेकी थिइनन्।

पुष्पासँग उसको जात मिल्थ्यो। सन्तोषको बुवा जस्तै पुष्पाको बुवा पनि नजिककै गाउँका नामी जमिन्दार थिए। अहिले पुष्पा पनि काठमाडौंमा नर्सिङमा स्नातक गर्दै थिइन्। सन्तोष धेरै पहिलेदेखि पुष्पासँग विवाह गर्ने सपना पालेर बसेका थिए। उताबाट केही उत्साहवर्धक प्रतिक्रिया नआएर त्यो सपना गुमनाम थियो। अहिले फोनमा पुष्पाको नाम देखेर त्यो सपनाको प्वाँख पलाएको थियो।

सन्तोषले साँच्चै यो पुष्पाको नम्बर हो या होइन केही यकिन नगरी अघि मिस्ड कल आएको नम्बरमा बोलेर एउटा सन्देश पठायो।

यता फुलबरियाको फोनमा सन्देश आएको संकेत आयो। त्यो बोलिएको सन्देश भएकोले फुलबरिया घरभन्दा अलि पर गएर सन्देश सुनिन्। सन्देश नसकिंदै फुलबरियाको आँखामा आँसु टिलपिल थियो।

सन्तोषले पठाएको सन्देश यस प्रकार थियो :

“हेलो पुष्पा, मलाई विश्वास नै लागिरहेको छैन कि तिमीले मलाई सम्पर्क गर्न खोज्यौ। तिमीलाई नसोचेको दिन छैन होला। तिमीलाई मात्रै होइन, पूरै स्कुलभरिका सबैलाई थाहा थियो म तिमीलाई कति मन पराउँथें। र अझै पराउँछु। सके एक चोटि फोन गर, प्लिज्।”

फुलबरिया केही सोच्न सकिरहेकी थिइनन्। तर उनलाई यति थाहा भइसकेको थियो कि सन्तोषले उनीसँग गरेको मायाको बाचा कसम सब धोका थियो। उनलाई यो बुझ्न कति समय लागेन कि उनी सन्तोषको भोगको एउटा वस्तु मात्रै थिइन्।

आफूलाई सम्हाल्दै उनले लेखेर एउटा सन्देश पठाइन् –

 “हो म पुष्पा नै हो र मलाई एकदम खुशी लागेको छ कि तिमीले मलाई बिर्सेको रहेनछौ। तर आज मैले तिमीलाई सम्झिनुको कारण छुट्टैछ। तिमी र तिम्रो घरमा काम गर्ने केटीको बीचको सम्बन्धको चर्चा हाम्रो गाउँसम्म पुगिसक्यो। मैले त के कसो हो बुझौं भनेर फोन गरेको फेरि तिमी के सोच्छौ भनेर काटें। तिमी त अझै मसँगै मायाका कुरा गर्दैछौ त।”

फोन सन्तोषको हातमै थियो। ऊ उताबाट आउने सन्देशको प्रतीक्षामा थियो। तर, उताबाट आएको सन्देशले सन्तोष रिसले आगो भयो।

आफूले कसैलाई नभन भनी सम्झाउँदा पनि फुलबरिया आफूसँगको सम्बन्ध बारे बोल्दै हिंडेको उसले अनुमान लगायो। उसको रिस सीधै फुलबरियातिर सोझियो।

तर उसलाई पुष्पा चाहिएको थियो। र त्यसका लागि ऊ जुनसुकै मूल्य चुकाउन तयार थियो। आफूलाई सम्हाल्दै उसले त्यो नम्बरमा अर्को सन्देश फेरि बोलेरै पठायो।

“कहाँबाट तिमीले फेरि यो नचाहिंदो कहानी थाहा पायौ। घरमा काम गर्नेसँग मिठो बोल्दैमा माया साटिन्छ र ? म घरको एक्लो छोरो हो। आफ्नो जातबाहेक अन्त बिहे गर्ने बारे म सोच्न पनि सक्दिनँ।”

सन्देश सुन्दा फुलबरियाको हात कापिरहेको थियो। ओठ लर्बराइरहेको थियो। उनलाई उनीहरू बीचको सबै सकिएको भान भइसकेको थियो। तर फेरि उनले एउटा सन्देश लेखेरै पठाइन्।

“भो, कुरा नलगाऊ। मलाई सबै थाहा छ। मलाई तिमीसँग बोल्नु छैन।”

यो सन्देश पढ्नासाथ सन्तोषको पारा तात्यो। उसलाई अब फुलबरियासँगको सम्बन्ध बारे कुनै सरोकार रहेन। ऊ पुष्पालाई जसरी पनि आफू र फुलबरियाबीच केही नरहेको प्रमाणित गर्न चाहन्थ्यो। र त्यो प्रमाणित गर्न उ जुनसुकै हद पार गर्न तयार थियो। यो सब गरेर ऊ पुष्पासँग नजिकिन चाहन्थ्यो। पुष्पाको प्रेम पाउन चाहन्थ्यो।

उसले फेरि बोलेरै एउटा सन्देश पठायो।

“ल, मेरो र त्यो तल्लो जातको केटीबीच केही छैन भनेर देखाउन अब म के-के गर्छु तिमी हेर्दै जाऊ। चाँडै नै तिमीले त्यो केटी बस्ने पूरै बस्ती आगोमा जलेर नष्ट भएको खबर पाउँछौ। र त्यो केटी अब यो घरमा त के हाम्रो खेतमा नि काम गर्न पाउँदैन।”

फुलबरियाको आँखा कसैले उनको शरीर हल्लाएकोले खुल्यो। त्यो उनको आमा थिइन्। हतास भावमा रहेकी उनकी आमाले बस्तीमा आगो लागेको र चाँडै आवश्यक सामानहरू लिएर घर छोड्नुपर्ने बारे सुनाइन्

यो सन्देश सुन्नासाथ फुलबरियाको होस उड्यो। सन्तोषको उनीप्रतिको प्रेम ढोङ रहेको त उनले अघि नै थाहा पाइसकेकी थिइन्। तर अहिले आएर उनलाई साँच्चै नै सन्तोषले बस्तीमा आगो लगाइदिने हो कि भन्ने डर लाग्न थाल्यो। उनको बस्तीमा सबै घरहरू खरले छाएका थिए। र एकआपसमा टाँसिएका थिए। केही गरी कुनै घरमा आगो लाग्यो या लगाइयो भने पूरै बस्ती नै स्वाहा हुनेमा कुनै द्विविधा थिएन।

उनी यो वार्तालापलाई कुनै पनि दृष्टिकोणले अगाडि बढाउने अवस्थामा थिइनन्। उनले फटाफट् फोनबाट सिम कार्ड झिकिन् र दुई हातको बुढी औंला र चोर औंला बीच समातेर टुक्रा–टुक्रा पारिन्। उनलाई फोनमा त्यो पुरानो सिमकार्ड पनि हाल्न मन लागेन। सिमकार्ड विनाकै त्यो फोन उनले लुकाएर राख्ने ठाउँमा राखिन्।

उनको मन एकदमै डराएको थियो। तर उनी सबै कुरा कसैलाई भन्न सक्ने अवस्थामा थिइनन्। उनी केवल भगवान्‌सँग सन्तोषले त्यस्तो केही नगरोस् भनी प्रार्थना गरिरहिन्। उनी भोक लागेको छैन भन्ने बहाना बनाएर बिस्तारामा पल्टिरहिन्। खै कति बेला निदाइन् पत्तै भएन।

यता सन्तोषको फोनमा कुनै सन्देश नआएपछि ऊ झनै रिसले चुर भयो। उसले फोन गर्ने प्रयास पनि गर्‍यो तर त्यो सम्पर्क पनि स्थापित हुन सकेन। उसले अघि आफूले भनेको कुरा जसरी पनि पूरा गर्ने अठोट लियो।

बिहान-बेलुका आफूसँग उठबस गर्ने, दारुपानी खाने २-३ जना नजिकका केटाहरूलाई भेला गरेर उसले बस्तीमा आगो लगाउने योजना बारे बतायो।

उसले भन्यो, “त्यो जग्गा हाम्रो पुर्खाले उनीहरूलाई तत्काललाई बस्न दिएका हुन्। हामीले धेरै पटक उनीहरूले भोगचलन गरे वापतको जग्गाको मूल्य तिरेर लालपुर्जा लिन भन्यौं तर कसैले त्यो मानेनन्। केही गरी आगो लगाएर बस्ती सखाप पार्न सकियो भने उनीहरूलाई विस्थापित गर्न सकिन्छ।”

सन्तोषले आफ्नो उद्देश्य कसैको ज्यानको नोक्सानै हुन नदिने रहेको र त्यसका निम्ति आगो लगाए पश्चात् आगो लाग्यो ! आगो लाग्यो! भनेर गुहार लगाउने भनेर पनि सुनायो। यसका साथै उसले केटाहरूलाई केही आर्थिक प्रलोभन पनि दियो।

यता फुलबरियाको आँखा कसैले उनको शरीर हल्लाएकोले खुल्यो। त्यो उनको आमा थिइन्। हतास भावमा रहेकी उनकी आमाले बस्तीमा आगो लागेको र चाँडै आवश्यक सामानहरू लिएर घर छोड्नुपर्ने बारे सुनाइन्।

फुलबरिया केही सोच्न सक्ने अवस्थामा थिइनन्। उनी बिस्ताराबाट उठिन् र उनलाई जरूरी लाग्ने सामानहरूको पोका बनाउन थालिन्। उनलाई आफूले लुकाएर राखेको फोन कि त याद रहेन या उनले त्यो जरुरी ठानिनन्। उनले त्यो फोन लुकाएर राखेको ठाउँमा छाडेर घरबाट निस्किन्।

बस्तीवासी, दमकल, प्रहरी आदिको सहायताले आगो नियन्त्रणमा त आयो तर बस्तीका अधिकांश घरहरू जलेर नष्ट भएपछि।

लगभग बिहान भइसकेको थियो। केहीबेरमा सन्तोषको आमा केही पुराना कपडा, खानेकुराहरू बोकेर फुलबरियाको घर आइपुगिन्। फुलबरियाकी आमालाई ती सामान दिंदै अहिलेको अवस्थामा फुलबरियाको आवश्यकता फुलबरियाको परिवारलाई अत्यधिक रहेकोले अहिले काममा आउन जरूरी नरहेको कुरा पनि सुनाइन्।

अघि रातिको घटनापछि भावविह्वल भएकी फुलबरिया आफ्नो प्रतिक्रियाविहीन आँखाले सन्तोषकी आमातिर टोलाइमात्र रहिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?