काठमाडौं। एआई चिपमेकर कम्पनी एनभिडियाको शेयर मूल्य बिहिबार कीर्तिमानी रुपमा उच्च विन्दुमा पुग्दा कम्पनी ३.६५ ट्रिलियन डलर बजार पुँजीकरण भएको विश्व इतिहासकै पहिलो कम्पनी बनेको छ ।
अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयसँगै वालस्ट्रिटमा देखिएको उभारलाई क्यास गर्दै एनभिडियाको शेयर मूल्य २.२ प्रतिशतले बढेको हो। ट्रम्प सत्तामा आएसँगै कर कटौती तथा न्यून नियमनको सम्भावनाले गर्दा लगानीकर्ताहरुमा आत्मविश्वास बढेको बताइएको छ ।
बिहीबार बजार बन्द हुँदा एनभिडियाको बजार पुँजीकरण ३.६५ ट्रिलियन डलर पुगेको थियो। यो सँगै एनभिडियाले यसअघिको एप्पलको कीर्तिमान भंग गरेको छ ।
अक्टोबर २१ मा एप्पलको बजार पुँजीकरण त्यसबेला सम्मकै उच्च अर्थात् ३.५७ ट्रिलियन डलर पुगेको थियो। तर मंगलबार एनभिडिया एप्पललाई पछि पार्दै विश्वकै महंगो कम्पनीको रुपमा पुनारागमन गर्न सफल भयो। उता बिहीबार एप्पलको शेयर मूल्यमा चाहीँ २.१ प्रतिशतले वृद्धि भएर ३.४४ ट्रिलियन डलर पुगेको छ।
पछिल्लो समयमा एआई कम्प्युटिंग क्षमताको निर्माण तथा उक्त उदीयमान प्रविधिको क्षेत्रमा प्रभुत्व जमाउनका लागि माइक्रोसफ्ट, अल्फाबेट तथा अन्य हेभीवेट कम्पनीहरुबीचको संघर्षले एनभिडियालाई ठूलो फाइदा पुगेको छ । साथै कम्पनीलाई अमेरिकी शेयर बजारको सबैभन्दा ठूलो विजेताको रुपमा स्थापित गरिदिएको छ ।
नोभेम्बर महिनामा मात्रै एनभिडियाको शेयर मूल्यमा १२ प्रतिशतले वृद्धि भएको छ र यो वर्ष सन्२०२४ मा यसको बजार मूल्य तेब्बरले बढेको छ । विश्लेषकहरुले यो त्रैमासिकमा एनभिडिया कम्पनीको आम्दानी ८० प्रतिशतले बढेर ३२ अर्ब ९० करोड पुग्ने प्रक्षेपण गरेका छन् ।
स्मरण रहोस् गत जुन महिलामा एनभिडिया केही समयका लागि पहिलोपटक विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो । तर, पछि उसलाई माक्रोसफ्ट र एप्पलले पछि पारे ।हाल माइक्रोसफ्टको बजार पुँजीकरण ३.१६ ट्रिलियन डलर छ । रोयटर्सबाट
प्रतिक्रिया 4